: मोरङको रतुवामाई नगरपालिकामा प्रहरीले गोली प्रहार गरी ठूलो परिमाणको लागूऔषध गाँजासहित दुई जना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार असोज २९ गते दिउँसो करिब १:३० बजे रतुवामाई नगरपालिका वडा नं. ५ गोबिन्दपुरस्थित बक्रा खोलाको बगरमा लुकाइछिपाइ राखिएको अवस्थामा ८ वटा सेतो बोरामा रहेको २६४.५९ किलोग्राम गाँजा बेवारिसे अवस्थामा फेला परेको थियो।
सोही स्थानमा पुनः गाँजाको कारोबार हुन सक्ने आशङ्कामा इलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको गस्ती टोलीले राति करिब ९:२५ बजे केही व्यक्तिहरू गाँजा लिएर भारततर्फ जाँदै गरेको देखेको थियो। प्रहरी टोलीले नियन्त्रणमा लिन खोज्दा उनीहरू भारततर्फ भाग्न खोजेपछि प्रहरीले नियन्त्रणका लागि सानो हतियारबाट १ राउण्ड हवाई फायर गरेको थियो।
हवाई फायर गर्दा पनि नरोकिएपछि प्रहरीले पुनः १ राउण्ड फायर गर्दा भारतको अररिया जिल्ला, जोगबनी बस्ने ३९ वर्षीय प्रमोद चौधरीको घुँडामुनि पिँडौलामा गोली लागेर घाइते भएका छन्। घाइते चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रहरीले घाइते चौधरीका साथै अररीया जिल्ला महगामा ग्राम पञ्चायत थाना ४ बस्ने ५० वर्षीय राजेन्द्र प्रसाद यादवलाई करिब १०० किलोग्राम गाँजासहित नियन्त्रणमा लिएको छ।
पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय सिजुवामा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी (प्रहरी नायव उपरीक्षक) मकेन्द्र कुमार मिश्रले जानकारी दिए।