: छाँयानाथ रारा नगरपालिकामा अन्तरजातीय विवाह गरेका दुई जोडीलाई १ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ।
नगरपालिकाले सामाजिक समानता र सद्भाव प्रवर्द्धन गर्ने उद्देश्यले जनही १ लाख रुपैयाँका दरले आर्थिक सहयोग उपलब्ध गराएको हो। छायाँनाथ रारा नगरपालिका दलित ऐन, २०८० अनुसार नगरपालिकामा बिहीबार औपचारिक कार्यक्रमको आयोजना चेक हस्तान्तरण गरेको छ।
अन्तरजातीय विवाह गरी १ लाख सहयोग प्राप्त गर्नेमा छायाँनाथ रारा नगरपालिका– १० झाकोटका विक्रमबहादुर नेपाली र पवित्रा चौलागाईं तथा वडा नम्बर १३ थार्पका मानसिंह नेपाली र सरिता सेजुवाल रहेका छन्। नगरप्रमुख विष्णुकुमार भामले जातीय विभेद र छुवाछुत अन्त्य गरी सबै नागरिकले समान अधिकार र सम्मानका साथ बाँच्न पाउने वातावरण निर्माण गर्न अन्तरजातीय विवाह गरेका जोडी लाई प्रोत्साहन स्वरूप यो आर्थिक सहयोग गरिएको बताएका छन।
त्यस्तै, उपप्रमुख ऐश्वर्य मल्लले समाजमा विद्यमान जातीय विभेद हटाउन सबैको सोच र व्यवहारमा परिवर्तन आवश्यक रहेको बताइन्। उनले अन्तरजातीय विवाह गर्ने जोडीलाई प्रोत्साहन गर्नुका साथै समतामूलक र विभेदमुक्त समाज निर्माणमा यस्ता कार्यक्रमले सहयोग पुग्ने विश्वास व्यक्त गरिन्।
नगरपालिकाको यस पहलले अन्तरजातीय विवाह गर्ने जोडीलाई आर्थिक प्रोत्साहन मिल्नुका साथै सामाजिक सद्भाव अभिवृद्धि र जातीय विभेद न्यूनीकरणमा सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको अधिकारकर्मिहरुले बताएका छ्न।