। इन्डोनेसियामा डढेलो तीव्र बन्दै जाँदा त्यसबाट फैलिएको धुवाँ र तुवाँलोले दक्षिणपूर्वी एसियाका विभिन्न देश प्रभावित भएका छन् । सिंगापुरमा वायु प्रदूषण यस वर्षकै उच्च बिन्दुमा पुगेको छ भने पूर्वी टिमोरले तीन दिनका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।
रोयटर्सका अनुसार बुधबार सिंगापुरको पश्चिमी क्षेत्रमा एक घण्टाको पीएम २.५ मापन २८४ माइक्रोग्राम प्रतिघनमिटर पुगेको थियो । यो स्तर सिंगापुरको राष्ट्रिय वातावरण निकायले तोकेको ‘अत्यन्त उच्च’ श्रेणीमा परेको हो । हालको तुवाँलोको अवधिमा पहिलोपटक प्रदूषण उक्त श्रेणीमा पुगेको हो ।
पूर्वी टिमोर सरकारले छिमेकी क्षेत्र वा देशमा लागेको डढेलोबाट फैलिएका प्रदूषक कणका कारण अक्टोबर १५ देखि तीन दिनसम्म प्रत्यक्ष उपस्थितिमा हुने पठनपाठन स्थगित गर्ने जनाएको छ ।
सरकारले विज्ञप्तिमा इन्डोनेसियाको नाम उल्लेख नगरे पनि पूर्वी टिमोरको टापु इन्डोनेसियाको पूर्वी नुसा तेंगारा प्रान्तसँग जोडिएको छ ।
११ वर्षयताकै तीव्र डढेलो
इन्डोनेसियाले पछिल्लो ११ वर्षयताकै तीव्र डढेलोको सामना गरिरहेको छ । एल निनोका कारण उत्पन्न सुक्खा मौसमले आगलागी फैलिन थप सहयोग गरेको छ ।
डढेलोबाट निस्किएको धुवाँले इन्डोनेसियामै श्वासप्रश्वाससम्बन्धी बिरामीको संख्या बढाएको छ भने क्षेत्रीय स्तरमा वायुको गुणस्तरमा उल्लेख्य गिरावट आएको छ । यसअघि मलेसियाका विभिन्न राज्यमा पनि तुवाँलोका कारण विद्यालय बन्द गर्नुपरेको थियो ।
विपद् न्यूनीकरण निकायका प्रवक्ताका अनुसार जमिनमुनि रहेको पीट अर्थात् जैविक पदार्थले भरिएको दलदली माटोमा लागेको आगो नियन्त्रण गर्न कठिन भइरहेको छ । यस्तो आगो सतहमुनि लामो समयसम्म सल्किरहने र जुनसुकै बेला पुन: बल्न सक्ने उनले बताए ।
सन् २०१५ को अक्टोबरमा इन्डोनेसियाको डढेलोका कारण सिंगापुरको पश्चिमी क्षेत्रमा पीएम २.५ को मात्रा प्रतिघनमिटर ४७१ माइक्रोग्राम पुगेको थियो । त्यो सिंगापुरको राष्ट्रिय रेकर्ड हो ।
इन्डोनेसियाको मध्यक्षेत्रमा पर्ने कालीमन्तान प्रान्तमा बुधबार वायु प्रदूषण सूचकांक (आईएसपीयू) १२०० नाघेको वातावरण मन्त्रालयको तथ्यांकले देखाएको छ । यो ‘खतरनाक’ मानिने ३०० को स्तरभन्दा चार गुणाभन्दा बढी हो ।
अक्टोबर १२ सम्म इन्डोनेसियाका सात प्रान्तमा डढेलो र तुवाँलोसँग सम्बन्धित श्वासप्रश्वासका बिरामीको संख्या २ लाख ७७ हजार ७५ पुगेको थियो । सेप्टेम्बर ९ मा सार्वजनिक १ लाख १३ हजार ३३६ को तथ्यांकको तुलनामा यो दोब्बरभन्दा बढी हो ।
स्थानीय सञ्चारमाध्यमले सार्वजनिक गरेका दृश्यमा मध्य कालीमन्तानको पलाङ्का राया सहर बाक्लो पहेँलो तुवाँलोले ढाकिएको देखिएको छ । तुवाँलोका कारण सडकमा सवारीसाधनको दृश्यता निकै कम भएको छ । प्रहरीले सडकछेउको पीटल्यान्डमा लागेको आगो निभाउन पानी प्रयोग गरिरहेको दृश्य पनि सार्वजनिक भएको छ ।
६९ हजारभन्दा बढी अग्निनियन्त्रक परिचालन
इन्डोनेसियाका राष्ट्रपति प्रबोवो सुबियान्तोले डढेलो नियन्त्रणका लागि थप स्रोतसाधन परिचालन गर्न निर्देशन दिएका छन् ।
राजनीतिक तथा सुरक्षा मामिलासम्बन्धी समन्वय मन्त्रालयका अधिकारी होनी हाभानाले बुधबारको पत्रकार सम्मेलनमा आगो नियन्त्रणका लागि उपलब्ध सबै स्रोतसाधन परिचालन भइरहेको बताए ।
उनका अनुसार इन्डोनेसियाले ६९ हजारभन्दा बढी अग्निनियन्त्रक परिचालन गरेको छ । सेप्टेम्बरको मध्यतिर यो संख्या करिब ४४ हजार थियो । आगो प्रभावकारी रूपमा निभाउन विशेष रसायन प्रयोग गर्ने नयाँ विधिको पनि परीक्षण भइरहेको उनले बताए ।
सीमापार वायु प्रदूषणको विषय दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको संगठन (आसियान) को आगामी महिना हुने बैठकमा छलफलको विषय बन्ने तयारी भइरहेका बेला इन्डोनेसियामाथि क्षेत्रीय दबाब बढेको छ ।
विपद् न्यूनीकरण निकायका प्रवक्ता बर्टोन पन्जाइतानका अनुसार जमिनमुनि रहेको पीट अर्थात् जैविक पदार्थले भरिएको दलदली माटोमा लागेको आगो नियन्त्रण गर्न कठिन भइरहेको छ । यस्तो आगो सतहमुनि लामो समयसम्म सल्किरहने र जुनसुकै बेला पुन: बल्न सक्ने उनले बताए ।
‘यस समस्याको समाधान गर्ने एकमात्र उपाय निरन्तर वर्षा हो भन्ने कुरा हामीले स्वीकार गर्नुपर्छ,’ उनले भने ।
इन्डोनेसियामाथि कूटनीतिक दबाब
सीमापार वायु प्रदूषणको विषय दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको संगठन (आसियान) को आगामी महिना हुने बैठकमा छलफलको विषय बन्ने तयारी भइरहेका बेला इन्डोनेसियामाथि क्षेत्रीय दबाब बढेको छ ।
मलेसियाका सांसद सायद सादिक सायद अब्दुल रहमानले मंगलबार इन्डोनेसियाले डढेलो नियन्त्रण गर्न पर्याप्त प्रयास नगरेको भन्दै दक्षिणपूर्वी एसियाली देशहरूलाई जकार्ताविरुद्ध संयुक्त कूटनीतिक विरोध जनाउन आग्रह गरेका थिए ।
उनले मलेसियासँगै सिंगापुरजस्ता प्रभावित देशले पनि साझा रूपमा विरोध गर्नुपर्ने बताए । साथै, जमिनमा आगो लगाउने कार्यसँग सम्बन्धित कम्पनीलाई वित्तीय सहयोग गर्ने मलेसिया र सिंगापुरका बैंकले त्यस्तो वित्तपोषण रोक्नुपर्ने उनको माग थियो ।
डढेलोबाट उत्पन्न धुवाँले राष्ट्रिय सीमासमेत पार गरेर फैलिने समस्या दक्षिणपूर्वी एसियामा लामो समयदेखि चुनौती बन्दै आएको छ । यसले जनस्वास्थ्य, वातावरण र क्षेत्रीय सम्बन्धमा समेत असर पार्दै आएको छ ।
(रोयटर्सको सहयोगमा)