: इङ्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्टार स्ट्राइकर हेरी केनले अर्जेन्टिनाका सुपरस्टार लियोनल मेसीको कीर्तिमान तोडेका छन्। युरोपेली च्याम्पियन्स लिग फुटबलमा ३० वर्षको उमेरपछि सर्वाधिक गोल गर्ने खेलाडी बन्दै केनले मेसीलाई पछि पारेका हुन्।
केनले मंगलबार नर्वेजियन क्लब भाइकिङविरुद्ध दुई गोल गर्दै यो उपलब्धि हासिल गरेका हुन्। च्याम्पियन्स लिगको लिग चरणअन्तर्गत भएको उक्त खेलमा बायर्न म्युनिखले दुई गोलले पछि परेको अवस्था उल्टाए पनि अन्तिम समयमा गोल खाँदा ३–३ को बराबरीमा चित्त बुझाउनुपरेको थियो। तर, खेलको नतिजा बायर्नका लागि निराशाजनक रहे पनि केनका लागि व्यक्तिगत रूपमा ऐतिहासिक बन्यो।
३३ वर्षीय केनले ३० वर्षको उमेर पार गरेपछि च्याम्पियन्स लिगमा आफ्नो गोल संख्या ३६ पुर्याएका छन्। उनले यो उपलब्धि केवल ४० खेलमा हासिल गरेका हुन्। यसअघि मेसीले ३० वर्षपछि च्याम्पियन्स लिगमा ४८ खेल खेल्दै ३५ गोल गरेका थिए। केनले मेसीभन्दा आठ खेल कम खेलेर एक गोल बढी गरेका छन्। बायर्न म्युनिखका लागि केनले गरेको पछिल्लो दुई गोलले उनको युरोपेली क्लब फुटबलमा प्रभावशाली प्रदर्शनलाई उजागर गरेको छ। सन् २०२३ मा टोटनहम छाडेर बायर्न पुगेयता उनले जर्मन क्लबको अग्रपंक्तिमा निरन्तर उत्कृष्ट प्रदर्शन गर्दै आएका छन्।
भाइकिङको घरेलु मैदानमा भएको खेलमा बायर्नले पहिलो हाफमै दुई गोल खाएको थियो। घरेलु टोलीका जियानी स्टेन्सनेस र पिटर क्रिस्टियनसेनले गोल गर्दै बायर्नलाई दबाबमा पारेका थिए। तर, दोस्रो हाफमा केनले उत्कृष्ट प्रदर्शन गर्दै खेलमा फर्किने आधार तयार गरेका थिए। खेलको ५४औं मिनेटमा पेनाल्टीमार्फत गोल गरेका केनले त्यसको ६ मिनेटपछि नै अर्को गोल थपेका थिए। जोसुवा किमिचको क्रसमा हेडरमार्फत गोल गर्दै उनले बायर्नलाई २–२ को बराबरीमा पुर्याएका थिए। त्यसपछि लुइस डियाजले गोल गर्दै बायर्नलाई अग्रता दिलाए पनि अन्तिम समयमा भाइकिङले बराबरी गोल फर्काएको थियो। बायर्नका माइकल ओलिसेले रातो कार्ड पाएपछि टोलीले खेलको अन्तिम समय १० खेलाडीमा सीमित भएर खेलेको थियो।
खेल बराबरीमा सकिए पनि केनको व्यक्तिगत प्रदर्शनले च्याम्पियन्स लिगमा नयाँ इतिहास बनायो। उनले प्रतियोगितामा लगातार नौ खेलमा गोल गर्ने आफ्नो शृंखला पनि कायम राखेका छन्। पछिल्ला नौ खेलमा उनले १२ गोल गरेका छन्।
मेसीलाई पछि पारेपछि केनको नजर अब पोर्चुगलका क्रिस्टियानो रोनाल्डोको अर्को कीर्तिमानतर्फ केन्द्रित भएको छ। च्याम्पियन्स लिगमा लगातार ११ खेलमा गोल गर्ने कीर्तिमान रोनाल्डोको नाममा छ। उनले सन् २०१७ जुनदेखि २०१८ अप्रिलसम्म लगातार ११ खेलमा गोल गरेका थिए। केनले भने लगातार नौ खेलमा गोल गर्दै रोनाल्डोको कीर्तिमानसँगको दूरी दुई खेलमा झारेका छन्। यसअघि रोबर्ट लेवान्डोस्की र रुद भान निस्टेलरोयले पनि च्याम्पियन्स लिगमा लगातार नौ खेलमा गोल गरेका थिए। अब केनले आगामी दुई खेलमा गोल गर्न सके रोनाल्डोको कीर्तिमानसँग पनि बराबरी गर्नेछन्। बायर्नले अक्टोबर २१ मा घरेलु मैदानमा इङ्लिस क्लब आर्सनलसँग प्रतिस्पर्धा गर्नेछ। त्यसपछि एट्लेटिको म्याड्रिडसँगको खेलमा पनि केनले गोलको शृंखला कायम राख्ने अवसर पाउनेछन्।
केनको च्याम्पियन्स लिगमा कुल गोल संख्या ५७ पुगेको छ। यससँगै उनी प्रतियोगिताको सर्वाधिक गोलकर्ताको सूचीमा पूर्व बायर्न खेलाडी थोमस मुलरसँग संयुक्त रूपमा आठौं स्थानमा छन्। टोटनहमबाट व्यावसायिक फुटबलमा स्थापित भएका केनले इङ्ल्यान्डको राष्ट्रिय टोलीबाट पनि उत्कृष्ट उपलब्धि हासिल गरेका छन्।
उनी इङ्ल्यान्डका सर्वाधिक गोलकर्ता हुन्। अक्टोबर ६ मा चेकियाविरुद्ध दुई गोल गरेपछि उनको अन्तर्राष्ट्रिय गोल संख्या ९१ पुगेको थियो। उक्त खेलमा उनले इङ्ल्यान्डका लागि सर्वाधिक खेल खेल्ने पूर्वगोलरक्षक पिटर सिल्टनको १ सय २५ खेलको कीर्तिमानसँग पनि बराबरी गरेका थिए।