मुख्य समाचार
काठमाडौं उपत्यकामा खसी, बोका, च्याङ्ग्रा, राँगा, भैँसी, सुँगुर, बंगुर र कुखुरा लगायत पशुपन्छी भित्रिने क्रम तीव्र
काठमाडौं उपत्यकामा खसी, बोका, च्याङ्ग्रा, राँगा, भैँसी, सुँगुर, बंगुर र कुखुरा लगायत पशुपन्छी भित्रिने क्रम तीव्र

। दसैं सुरु भएसँगै काठमाडौं उपत्यकामा खसी, बोका, च्याङ्ग्रा, राँगा, भैँसी, सुँगुर, बंगुर र कुखुरा लगायत पशुपन्छी भित्रिने क्रम तीव्र बनेको छ ।

दसैंमा मासु खपत अत्यधिक हुने भएकाले राजधानी भित्रिएका पशुपन्छीको स्वास्थ्य अवस्था कस्तो छ भन्ने चासो उपभोक्तामा सधैं रहने गर्छ । यही संवेदनशीलता मध्यनजर गर्दै सरकारले काठमाडौं उपत्यकाका मुख्य बजारहरूमा पशुपन्छीको स्वास्थ्य परीक्षणलाई तीव्रता दिएको छ ।

पशु सेवा विभागले घटस्थापनादेखि नै उपत्यकाका १० मुख्य बजारमा पशु चिकित्सक तथा प्राविधिक टोली खटाएर स्वास्थ्य परीक्षण गरिरहेको बताएको छ ।

पशु सेवा विभागका महानिर्देशक डा. उमेश दाहालले उपभोक्तालाई स्वस्थ र स्वच्छ मासु उपलब्ध गराउने उद्देश्यले घटस्थापनादेखि नवमीसम्म बिहान र बेलुका गरी दुई सिफ्टमा अनुगमन र परीक्षणको काम हुने बताए ।

महानिर्देशक दाहालका अनुसार पशु, पन्छी र माछाको स्वास्थ्य उत्पादन र मासु उपभोग वर्षैभरि हुने नियमित प्रक्रिया हो । यसका लागि प्रदेश, जिल्ला र स्थानीय तहमा रहेका निकायले स्वास्थ्य प्रमाणपत्र जारी गर्ने गर्छन् भने क्वारेन्टिन कार्यालय र चेकपोस्टहरूले त्यसको नियमित नियमन गरिरहेका हुन्छन् ।

‘तर, दसैंका बेला स्वाभाविक रूपमा अन्य समयभन्दा धेरै ठूलो संख्यामा खसी, बोका, च्याङ्ग्रा, राँगा, भैँसी र पाडापाडी भित्रिने गर्छन्,’ महानिर्देशक दाहालले भने, ‘यसरी छोटो समयमा उपत्यकाका विभिन्न नाकाबाट हजारौं संख्यामा पशुपन्छी आउने भएकाले हाम्रो नियमित अनुगमनले मात्र नपुग्ने हुँदा दसैंलक्षित विशेष अनुगमन र स्वास्थ्य परीक्षणलाई एउटा मिसनकै रूपमा सञ्चालन गरिरहेका छौं, यो घटस्थापनादेखि नवमीसम्म लगातार ९–१० दिनसम्म सञ्चालन हुनेछ ।’

विभागले बिहान र बेलुका गरी दुई सिफ्टमा आफ्नो टोली खटाएको छ । वरिष्ठ पशु चिकित्सक, पशु चिकित्सक र प्राविधिक सम्मिलित टोलीले बिहान ३ देखि ४ घण्टा र बेलुका ३ देखि ४ घण्टा बजारमै बसेर प्रत्यक्ष पशु स्वास्थ्य परीक्षण गरिरहेका छन् ।

दिउँसोको समयमा नयाँ पशुपन्छी भित्रिने क्रम कम हुने भएकाले बिहान र बेलुकाको समयलाई विशेष प्राथमिकतामा राखिएको विभागले जनाएको छ ।

परीक्षण १० मुख्य बजारमा केन्द्रित

काठमाडौं उपत्यकाभित्र पशुपन्छी कारोबार हुने मुख्य १० बजारमा विभागले आफ्नो प्राविधिक टोली पठाएको बताएको छ । उपत्यका भित्रिने कुल खसीबोकामध्ये करिब ५० प्रतिशत खसीबोकाको कारोबार कलंकी खसीबजारबाट मात्रै हुने गर्छ ।

कलंकी बाहेक ललितपुर चापागाउँ, काठमाडौंका टुकुचा, बालाजु बाइपास, सुकेधारा र चन्द्रागिरि तथा भक्तपुर लोहकन्थली क्षेत्रमा रहेका खसीबजारमा टोलीले परीक्षण गरिरहेको छ ।

त्यसैगरी च्याङ्ग्राको बढी कारोबार हुने भक्तपुर सल्लाघारी क्षेत्र र राँगाभैँसीको बढी कारोबार हुने चोभार नजिकैको चाल्नाखेल बजारमा पनि पशु चिकित्सकले परीक्षणलाई तीव्रता दिएका छन् । माछाका हकमा भने कालीमाटी, बल्खु र बालाजुस्थित माछा बजारमा अनुगमन भइरहेको छ ।

स्वस्थलाई ‘हरियो’ र बिरामीलाई ‘रातो’ रङ

उपभोक्तालाई स्वस्थ खसीबोका चिन्न सहज होस् भनेर विभागले परीक्षणपछि रङ लगाउने गरेको छ । बजार पुगेका प्राविधिकले टाढैबाट पशुको बाहिरी लक्षण (जस्तै : सिँगान बगेको, झोक्राएको आदि) हेर्ने र शंका लागे थर्मोमिटरको सहायताले तापक्रम नाप्ने गर्छन् ।



‘परीक्षणका क्रममा पूर्णरूपमा स्वस्थ देखिएका खसी, बोका, राँगा, च्याङ्ग्राको सिङ वा शरीरको देखिने भागमा हाम्रो टोलीले हरियो रङ लगाइदिन्छ,’ महानिर्देशक दाहालले अनलाइनखबरसँग भने, ‘हरियो रङ भनेको त्यो पशु पूर्णरूपमा स्वस्थ छ र मासु खान योग्य छ भन्ने स्पष्ट संकेत हो ।’

तर, ढुवानी क्रममा धेरै दिनको यात्राले गर्दा थाकेका, बिरामी परेका, ज्वरो आएका वा कुनै रोगको संक्रमण देखिएका पशुलाई भने रातो रङ लगाइन्छ ।

दाहालका अनुसार रातो रङ लगाएका पशुलाई तत्काल बिक्री वितरण गर्न पाइँदैन । त्यस्ता बिरामी पशुलाई बथानबाट छुट्याएर छुट्टै राख्ने, तत्काल उपचार सुरु गर्ने र आवश्यक परे नमुना संकलन गरी प्रयोगशाला पठाउने व्यवस्था मिलाइएको छ । ती पशु निको नभएसम्म वा खानयोग्य प्रमाणित नभएसम्म बिक्री गर्न पूर्णरूपमा रोक लगाइएको छ ।

कुखुरा र सुँगुरको कसरी हुन्छ परीक्षण ?

खसीबोका र राँगाभैँसीको जस्तो कुखुरा, हाँस र सुँगुर/बंगुरको छुट्टै स्थापित ठूलो बजार उपत्यकामा छैन । कुखुरा सिधै वधशाला (स्लटर हाउस) वा कोल्ड स्टोरमा लगिन्छ । सुँगुर र बंगुरको माग पनि निश्चित समुदाय र क्षेत्रमा मात्र हुने भएकाले यसको छुट्टै ठूलो बजार छैन ।

‘कुखुरा लगायत पन्छीको हकमा उद्गम स्थल (जहाँबाट कुखुरा ल्याइन्छ) बाटै स्वस्थताको प्रमाणपत्र लिएर आउनुपर्ने कानुनी प्रावधान छ,’ उनले भने, ‘काठमाडौं भित्रिने नाकामा रहेका हाम्रा क्वारेन्टिन कार्यालय र चेकपोस्टले उक्त प्रमाणपत्रको जाँच गर्छन्, प्रमाणपत्रविना आएका कुखुरालाई बजारमा प्रवेश दिइँदैन ।’

साथै, सुँगुर र बंगुर बिक्री हुने साना बजारमा पनि विभागको टोली पुगेर समग्र पशुपन्छी बजार नियमन अन्तर्गत नै निगरानी गरिरहेको उनको भनाइ छ ।



दसैंमा मासु अभाव हुँदैन, आत्तिनु पर्दैन

दसैंको मुखमा खसीबोका अभाव हुने र व्यापारीले मनपरी मूल्य असुल्ने प्रवृत्ति नौलो विषय होइन । तर, महानिर्देशक दाहालले यस वर्ष मासु अभाव नहुने र नेपाल मासुमा लगभग आत्मनिर्भर अवस्थामा पुगिसकेको दाबी गरे ।

गत वर्ष दसैंमा काठमाडौं उपत्यकामा करिब ३० हजार खसीबोका, ६ हजार च्याङ्ग्रा र १ हजार राँगाभैँसी भित्रिएका थिए, जसमा कलंकी बजारमा मात्रै १८ हजार खसीबोका आएका थिए । यस वर्ष कलंकी बजार व्यवस्थापन समितिले मात्रै २२ देखि २५ हजार खसीबोका ल्याउने लक्ष्य राखेको छ ।

‘यस वर्षको सुरुवाती दुई दिन (घटस्थापना र त्यसपछिको दिन) को तथ्यांक हेर्ने हो भने उपत्यकामा करिब ५ हजार खसीबोका भित्रिसकेका छन्, त्यसैगरी झन्डै १ हजार हाराहारी च्याङ्ग्रा र करिब २८ टन (२८ हजार किलो) माछाको स्वास्थ्य परीक्षण भइसकेको छ,’ दाहालले भने, ‘सप्तमी र अष्टमीसम्म यो संख्या अझै उल्लेख्य रूपमा बढ्ने छ, त्यसैले उपत्यकामा मासु अभाव हुँदैन, उपभोक्ताहरू हतारिएर आजको भोलि नै सकिन्छ कि भनेर डराउनुपर्ने वा महँगोमा किन्नुपर्ने अवस्था छैन ।’

विभागका अनुसार नेपालमा १ करोड ५५ लाख हाराहारी बाख्रा, खसी र बोका छन् । यसमा भेडा र च्याङग्रा समेत जोड्ने हो भने यो संख्या १ करोड ६० लाख नाघ्छ । यो संख्या आन्तरिक माग धान्न मात्र होइन, निर्यात गर्नसमेत पर्याप्त रहेको महानिर्देशक दाहालको दाबी छ ।

तर, व्यवसायीहरू भने यो भनाइमा सहमत छैनन् । उत्पादन कम भएका कारण माग पूरा गर्न नसकेको र मूल्यवृद्धि भएको उनीहरूले बताउँदै आएका छन् ।

चाडपर्वको मौका छोपेर बिचौलियाले अस्वाभाविक मूल्यवृद्धि गर्ने गरेको जनगुनासोप्रति पनि सरकार गम्भीर रहेको दाहालले बताए । उनका अनुसार यस वर्ष किसानले गत वर्षको तुलनामा खसीबोकाको जिउँदो तौलमा प्रतिकिलो १०० देखि २०० रुपैयाँसम्म बढी मूल्य पाएका छन् । किसानको हातमा राम्रो मूल्य पर्नुलाई सकारात्मक रूपमा लिनुपर्ने उनको भनाइ छ ।



‘किसानले पोहोरभन्दा १ सय वा २ सय रुपैयाँ बढी पाउनु राम्रो कुरा हो, तर यसैलाई बहाना बनाएर बजारमा उपभोक्ताले मासु किन्दा प्रतिकिलो ४ सयदेखि ५ सय रुपैयाँसम्म बढी तिर्नुपर्ने अवस्था आउनु सरासर गलत हो,’ उनले भने, ‘ढुवानी भाडा र अन्य खर्चले केही सामान्य वृद्धि होला, तर अस्वाभाविक मूल्यवृद्धि हुनुहुँदैन भन्नेमा हामी लागिपरेका छौं ।’

उनले मूल्य नियन्त्रण र कालोबजारी रोक्ने मुख्य जिम्मेवारी वाणिज्य विभागको भएको भन्दै पशु सेवा विभागले वाणिज्य विभागसँग निरन्तर समन्वय र सहकार्य गरिरहेको बताए ।

‘हाम्रो मुख्य काम स्वस्थ मासु उपलब्ध गराउने र बजार सहजीकरण गर्ने हो, मूल्यको अस्वाभाविक वृद्धि रोक्न हामीले वाणिज्य विभागलाई अग्रसरता लिन अनुरोध गरेका छौं र संयुक्त अनुगमन पनि भइरहेको छ,’ उनले भने ।

चाडपर्व लक्षित गर्दै काठमाडौं उपत्यकामा खसीबोका र च्याङ्ग्रा ल्याउन थालिएको र अभाव नहुने सरकारको दाबी रहे पनि उपभोक्ताले महँगो मूल्य चुकाउनुपर्ने चिन्ता बढेको छ ।

अविरल वर्षापछिको बाढीपहिरोले देशभरिका सडक सञ्जालमा क्षति पुगेपछि राजधानीमा माग अनुसार पशुपन्छी भित्र्याउन समस्या भएको व्यवसायीले बताउँदै आएका छन् ।



चौपाया खरिदबिक्री संघ अध्यक्ष जीवन खड्काका अनुसार सडक अवरोध र न्यून आपूर्तिका कारण यसपालि खसीबोका तथा च्याङ्ग्राको मूल्य प्रतिकिलोमै २ सय रुपैयाँसम्म बढेको छ । आपूर्ति कम हुँदा बजार मूल्य स्वत: उकालो लागेको उनले बताए ।

अध्यक्ष खतिवडाका अनुसार अहिले काठमाडौंका बजारमा जिउँदो खसीबोकाको खुद्रा मूल्य प्रतिकिलो ८ सय ५० देखि ८ सय ६० रुपैयाँसम्म पुगेको छ । गत वर्ष यो मूल्य ७ सय ५० रुपैयाँ थियो ।

त्यसैगरी अघिल्लो दसैंमा १ हजार १ सयदेखि १ हजार २ सय रुपैयाँ किलो पर्ने च्याङ्ग्राको मूल्य यस वर्ष १ सय ३ सय ५० रुपैयाँ पुगेको छ ।

विगतका वर्षहरूमा दसैंका बेला उपत्यकाभित्र करिब ५० देखि ५५ हजार खसीबोका खपत हुने गर्थ्यो । तर, अहिले बाटोघाटोको दुरावस्था र बढेको मूल्यका कारण उपभोक्ताको क्रयशक्ति समेत घट्ने हुँदा ४० हजार हाराहारी मात्र खसीबोका बिक्री हुने व्यवसायीको प्रक्षेपण छ ।

गाउँगाउँ पुगेर खसीबोका संकलन गरी राजधानी ल्याउने व्यवसायीलाई लगातारको वर्षा र ठाउँठाउँमा गएको पहिरोले बाटो बन्द हुँदा ढुवानीमा ठूलो सास्ती खेप्नुपरेको अध्यक्ष खड्काले गुनासो गरे ।

बाढीपहिरोकै कारण सहज चौपाया ल्याउन नसकिएको र ल्याइएका खसीबोकाको ढुवानी लागत बढेकाले यसको प्रत्यक्ष असर बजार मूल्य र खपतमा परेको व्यवसायीको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। बागमती प्रदेश सरकारले बजेट खर्चलाई मात्र प्रगतिको आधार नबनाउन मन्त्रालयका सचिवहरूलाई निर्देशन दिएको छ । साथै नागरिकले प्रत्यक्ष अनुभूति गर्नेगरी सेवा प्रवाह र विकास निर्माणका कामलाई परिणाममुखी बनाउन पनि सरकारले आग्रह गरेको छ । प्रदेशका प्रमुख सचिव कमलप्रसाद भट्टराईको अध्यक्षतामा मंगलबार बसेको सचिवहरूको बैठकले प्रशासनिक कार्यशैली सुधार, सेवा प्रवाहमा प्रभावकारिता र विकास आयोजनाको कार्यान्वयनलाई प्राथमिकता ...
। बेलका नगरपालिका–१ स्थित धानखेतमा वयस्क जंगली भाले हात्ती मृत अवस्थामा फेलापरेको छ । ‘सानो दारे’ नामले चिनिने करिब २०–२५ वर्षे हात्ती धानखेतमा मंगलबार मृत अवस्थामा भेटिएको हो । कोशीटप्पु वन्यजन्तु आरक्षबाट करिब एक किलोमिटर दूरीमा रहेको धानखेतमा जंगली हात्ती मृत भेटिएको डिभिजन वन कार्यालय उदयपुरका प्रमुख गजेन्द्र श्रेष्ठले जानकारी दिए । उनका अनुसार मृत हात्ती एक वर्षभन्दा ...
। गृहमन्त्री सुधन गुरुङले गृहमन्त्रीस्तरीय बिमस्टेक बैठकमा बिमस्टेक क्षेत्रीय विपद् पूर्वतयारी तथा प्रतिकार्य रूपरेखा निर्माणको प्रस्ताव गरेका छन् । भारतको नयाँ दिल्लीमा सम्पन्न प्रथम बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक)को गृहमन्त्रीस्तरीय बैठकमा उनले सो प्रस्ताव राखेका हुन् । जलवायु परिवर्तनका कारण बढ्दो विपद् जोखिमलाई सम्बोधन गर्न गृहमन्त्री गुरुङले यससम्बन्धी संयुक्त कार्यदल गठनको प्रस्ताव ...
। श्रीलंकाका लागि प्रस्तावित नेपाली राजदूत डा. मञ्चलाकुमारी झाले नेपाल र श्रीलंकाबीचको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई आर्थिक साझेदारीमा रूपान्तरण गर्ने लगायतका चार योजना अघि सारेकी छन् । संसदीय सुनुवाइ समितिको बुधबारको बैठकमा झाले पर्यटन तथा हवाई सम्पर्क विस्तार, रामायण सर्किट, बौद्ध सम्पदाको प्रवर्द्धन र व्यापार तथा लगानीका चार प्रमुख प्राथमिकतामा प्रस्तुत गरेकी हुन् । उनले विशेषगरी ...
: अर्घाखाँची जिल्लालाई बालमैत्री जिल्ला बनाउने उद्देश्यसहित जिल्लाका स्थानीय तहहरूले सामूहिक प्रतिबद्धता व्यक्त गरेका छन्। बालबालिकाको हक, अधिकार, संरक्षण, विकास र सहभागिता सुनिश्चित गर्दै बालमैत्री स्थानीय शासनका निर्धारित ५१ वटा सूचक पूरा गर्ने लक्ष्यका साथ स्थानीय तह तथा सरोकारवाला निकायहरूले साझा प्रतिबद्धता जनाएका हुन्। जिल्लाका नगरपालिका प्रमुख तथा उपप्रमुख, गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, ...