: दशैं, तिहार र छठ लगायतका चाडपर्वहरुलाई लक्षित गर्दै कर्णाली प्रदेशमा विशेष सुरक्षा योजना लागू गरिएको छ। सुर्खेतमा आयोजित ‘चाडपर्व सुरक्षा विशेष नागरिकसँग चियापान कार्यक्रम’ मा कर्णाली प्रदेश प्रहरी प्रमुख (डीआईजी) जयराज सापकोटाले प्रदेशभर ५ हजार बढी प्रहरी परिचालन गरिएको जानकारी दिए।
अपराधमुक्त र सुरक्षित समाज निर्माणका लागि प्रहरी र नागरिकबीच विश्वास, सहकार्य र समन्वय बलियो हुनुपर्ने उनको भनाइ छ। उनले चाडपर्वका बेला हुने चोरी, ठगी, जुवातास, घरेलु हिंसा र मादक पदार्थ सेवनपछि हुने झै–झगडा तथा अन्य आपराधिक गतिविधिको जोखिमलाई ध्यानमा राखेर नागरिक सचेत हुनुपर्ने उल्लेख गरे। कुनै पनि आपराधिक गतिविधिलाई सामान्य रूपमा नलिइ समयमै प्रहरीलाई सूचना दिनुपर्ने र समुदायमा हुने गलत गतिविधिको पहिचान र नियन्त्रणमा स्थानीय तह, विद्यालय, सामाजिक संघसंस्था तथा नागरिक समाजले प्रहरीसँग हातेमालो गर्नुपर्ने उनले बताए।
सुर्खेतका प्रमुख जिल्ला अधिकारी महेन्द्रकुमार सापकोटाले चाडपर्वलाई शान्तिपूर्ण, सुरक्षित र व्यवस्थित बनाउन सुरक्षा निकाय, स्थानीय प्रशासन, स्थानीय तह तथा नागरिकबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताए। चाडपर्वकाे समयमा बजार व्यवस्थापन, सार्वजनिक स्थानको सुरक्षा, यात्रुको आवागमन र सम्भावित विपद् तथा दुर्घटनाको जोखिमलाई समेत ध्यानमा राखेर जिम्मेवार व्यवहार गर्नुपर्ने उनको भनाइ छ। चाडपर्वको उत्साहमा कानुनविपरीतका गतिविधि गर्ने, अरूको शान्ति भङ्ग गर्ने वा सामाजिक सद्भावमा असर पुग्ने व्यवहारबाट सबै नागरिक टाढा रहनुपर्ने उनले बताए। सार्वजनिक सुरक्षा कायम राख्न प्रशासनले सम्बन्धित निकायसँग समन्वय गर्ने भए पनि समाजमा शान्ति र अनुशासन कायम राख्ने दायित्व नागरिकको पनि भएको उनको भनाइ छ।
नेपाल राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका प्रमुख, एसपी मुकुन्दप्रसाद रिजालले चाडपर्वका समयमा सडक यात्रुलाई सुरक्षित राख्न ट्राफिक नियमको पूर्ण पालना आवश्यक रहेको बताए। दसैँ, तिहार र छठका बेला घर फर्किने तथा घुमफिरमा निस्कने यात्रुको सख्या बढ्ने भएकाले सवारीसाधनमा चाप बढ्ने र दुर्घटनाको जोखिमसमेत रहने उनको भनाइ छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख एसपी ठाकुरप्रसाद पोखरेलले नागरिक र प्रहरीबीचको सम्बन्धलाई अझ निकट बनाउँदै अपराध नियन्त्रण तथा शान्तिसुरक्षा कायम गर्ने उद्देश्यले समुदायसँगको सहकार्यलाई प्राथमिकता दिइएको बताए।
यस्तै, दशैं, तिहार र छठ पर्वकोको अवसरमा आयोजना गरिएको चियापान कार्यक्रममा कर्णाली प्रदेश निर्माण व्यवसायी महासंघका अध्यक्ष मानव बमले समाजमा देखिएका विकृति र विसंगति न्यूनीकरणका विषयलाई पनि प्राथमिकतामा राख्नुपर्ने बताए। सुरक्षित, सभ्य र अनुशासित समाज निर्माणका लागि राज्यका निकायसँगै निजी क्षेत्र, सामाजिक संघसंस्था र नागरिकले जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्नुपर्ने उनको भनाइ छ। लागुऔषध दुव्र्यसनले युवा पुस्ताको भविष्य, पारिवारिक सम्बन्ध र सामाजिक वातावरणमा नकारात्मक असर पार्ने भएकाले यसको नियन्त्रणमा सबै पक्ष एकजुट हुनुपर्ने उनले बताए।
परिवारले बालबालिका तथा युवाको व्यवहारप्रति ध्यान दिने, विद्यालयले सचेतनामूलक शिक्षा प्रदान गर्ने र समुदायले दुव्र्यसनमा परेका व्यक्तिलाई घृणा वा बहिष्कार गर्नुभन्दा उपचार, परामर्श तथा पुनःस्थापनाका लागि सहयोग गर्नुपर्नेमा उनले जोड दिए। निर्माण व्यवसायी तथा निजी क्षेत्रले पनि सामाजिक उत्तरदायित्व अन्तर्गत सडक सुरक्षा, लागूऔषधविरुद्धको सचेतना र अपराधमुक्त समाज निर्माणका अभियानमा सहयोग गर्ने प्रतिबद्धता जनाए।
जिल्ला प्रहरी कार्यालयको आयोजना र कर्णाली प्रदेश निर्माण व्यवसायी महासंघको सहयोगमा ‘चाडपर्व सुरक्षा विशेष नागरिकसँग चियापान कार्यक्रम’ गरिएको हो।