: नयाँ तथा पुराना सवारी साधनको दर्ता तथा नामसारी प्रक्रिया सहज बनाउन यातायात व्यवस्थापन कार्यविधि निर्देशिका, २०६० का केही प्रावधान संशोधन गरिएको छ।
संशोधित व्यवस्थाअनुसार अब सवारी धनी स्वयं यातायात व्यवस्था कार्यालयमा उपस्थित नभए पनि सवारी दर्ता तथा नामसारी गर्न सकिनेछ। पूर्वाधार विकास मन्त्रालयका अनुसार संशोधित व्यवस्थाले सवारी साधनको दर्ता, नामसारी, बीमा तथा नवीकरणसम्बन्धी प्रक्रियालाई सरल र सेवाग्राहीमैत्री बनाउने अपेक्षा गरिएको छ।
नयाँ व्यवस्थाअनुसार डिलरबाट गरिएको सवारी साधनको जाँचलाई नै अन्तिम मान्यता दिइनेछ। यससँगै डिलरबाट जाँच भइसकेको सवारी साधनलाई पुनः यातायात व्यवस्था कार्यालयमा लगेर जाँच गराउनुपर्ने छैन। त्यस्तै, सवारी खरिदकर्ताले वारेसनामा दिएको व्यक्तिमार्फत पनि सवारी दर्ता तथा नामसारी गर्न सकिनेछ। यसका लागि वारेसनामा प्राप्त व्यक्तिले आफ्नो सक्कल परिचयपत्र, सवारी खरिदकर्ताको फोटो र खरिदकर्ताको सक्कल परिचयपत्रसहित सम्बन्धित कार्यालयमा उपस्थित हुनुपर्नेछ।
संशोधित व्यवस्थाले सवारी साधनको बीमा तथा बीमा नवीकरणका लागि पनि सवारी धनी स्वयं उपस्थित हुनुपर्ने बाध्यता हटाएको छ। अब सवारी धनीको प्रत्यक्ष उपस्थितिबिना नै यी काम गर्न सकिनेछ।
यसैगरी, सवारी साधन नामसारीका क्रममा बायोमेट्रिक विवरण लिन सकिने व्यवस्था मिलाउन यातायात व्यवस्था कार्यालयले सवारी विक्रेता, वितरक वा कम्पनीलाई आवश्यक प्राविधिक पहुँच उपलब्ध गराउनेछ।
संशोधित प्रावधान कार्यान्वयनमा आएसँगै सवारी दर्ता तथा नामसारीका लागि कार्यालय धाउनुपर्ने झन्झट कम हुने र सेवाग्राहीले सहज रूपमा सेवा प्राप्त गर्न सक्ने मन्त्रालयको अपेक्षा छ।