मुख्य समाचार
देशकै सबैभन्दा पुरानो इतिहास बोकेको त्रिभुवन विश्वविद्यालयको शैक्षिकस्तर केही वर्षयता निरन्तर खस्कँदै
देशकै सबैभन्दा पुरानो इतिहास बोकेको त्रिभुवन विश्वविद्यालयको शैक्षिकस्तर केही वर्षयता निरन्तर खस्कँदै

: देशकै सबैभन्दा पुरानो इतिहास बोकेको त्रिभुवन विश्वविद्यालयको शैक्षिकस्तर केही वर्षयता निरन्तर खस्कँदै गएको छ। टाइम्स हायर एजुकेसन वल्र्ड युनिभर्सिटी (टीएचई) र्‍याङकिङको पछिल्लो प्रतिवेदनअनुसार त्रिवि इतिहासकै कमजोर स्थानमा पुगेको छ। विश्वका विश्वविद्यालयमध्ये १८०१ देखि २००० को समूहमा सीमित भएको छ। त्रिविको ओरालो यात्रा पछिल्ला केही वर्षमा क्रमशः खस्कँदै गएको छ।

सन् २०१९ मा पहिलो पटक टीएचईको विश्व र्‍याङकिङमा प्रवेश गर्दा त्रिवि ८०० देखि १००० को समूहमा रहेको थियो। सन् २०२० मा १००० मा पुगे पनि २०२१ र त्यसपछिका २०२२ मा पुनः ८०१ देखि १००० को समूहमा फर्किएको थियो। २०२३ सम्म यही समूहमा रहेको त्रिवि २०२४ मा १२०१–१५०० मा झर्‍यो। त्यसपछि २०२५ मा १५०१ मा पुग्यो र २०२६ मा पनि त्यही समूहमा रह्यो। ३० सेप्टेम्बर २०२६ मा प्रकाशित पछिल्लो २०२७ को र्‍याङकिङमा त्रिविको वरीयता झनै खस्केर १८०१– २००० को समूहमा पुगेको छ।

विश्वविद्यालयका रजिस्ट्रार डा. रवीन्द्र शिवाकोटीले यसअघि एक हजार वा सोभन्दा राम्रो ६०० देखि ८०० को हाराहारीमा स्थानमा रहेको त्रिविको चिकित्साशास्त्र अध्ययन संस्थान, इन्जिनियरिङ, विज्ञान तथा प्रविधिलगायतका फ्याकल्टी तथा इन्स्टिच्युटहरूको र्‍याङकिङ हाल हजारको हाराहारीमा रहेको बताए।

टाइम्स हायर एजुकेसनको मूल्यांकनमा १५०० भन्दा माथि समग्र विश्वविद्यालय पुगेको छ। र्‍याङकिङमा आएको यो गिरावटलाई सुधार गर्नका लागि हालैका दिनहरूमा विभिन्न प्रयासहरू थालिएको उनको भनाइ छ। ‘यससघि विभिन्न कार्यदलहरूमार्फत गरिएका प्रयासहरूलाई थप व्यवस्थित बनाउन अब केन्द्रीय कार्यालयअन्तर्गतको अनुसन्धान महाशाखालाई जिम्मेवारी दिइएको छ’ उनले भने । उनले थपे ‘यस महाशाखाले प्राध्यापक तथा विद्यार्थीका लेख, रचनाहरू संकलन गरी अनलाइन पोर्टलमा अपलोड गर्नेछ, जसले स्वचालित रूपमा त्रिविको र्‍याङकिङ सुधार गर्न मद्दत गर्नेछ।’ हालै नियुक्त भएको नयाँ टिमले यसैलाई नियमित शाखाको रूपमा अगाडि बढाएको र यो कार्य प्रणाली पूर्ण रूपमा कार्यान्वयन भएपछि त्रिविको र्‍याङकिङ आगामी दिनमा पुनः हजारको हाराहारीमा आउने विश्वास गरिएको उनले बताए।

विश्वविद्यालय अनुदान आयोगका निर्देशक एवं प्रवक्ता डा. केदारप्रसाद आचार्यले त्रिविको शिक्षाको गुणस्तरमात्र नभई देशको समग्र विद्यालयमा शिक्षा गुणस्तर र अन्य सेक्टरहरू पनि अझ धेरै विकास गर्नुपर्ने अवस्था रहेको बताए। उनले भने ‘पहिला ८०० देखि १००० को बीचमा रहेको र्‍याङकिङ अहिले केही परिवर्तन हुनुको मुख्य कारण र्‍याङकिङका क्राइटेरियाहरू फरक हुन् यसमा विद्यार्थीको संख्याभन्दा पनि रिसर्च, इनोभेसन, र विदेशी विश्वविद्यालयका विद्यार्थी तथा फ्याकल्टीको पर्सेन्टेजजस्ता ठूला मापदण्डहरू जोडिएका छन्।’ नेपालजस्तो कम विकासित देशमा विदेशी विद्यार्थी र फ्याकल्टीको संख्या कम हुनु तथा मेडिकललगायतका क्षेत्रमा बाहिरबाट आउने विद्यार्थी घट्नुले पनि र्‍याङकिङमा असर पारेको जानकारी उनले दिए।

‘र्‍याङकिङ र देशको शैक्षिक स्तर सुधार गर्न हामीले देशकै शिक्षा गुणस्तरलाई माथि उठाउनुपर्छ’ उनले भने। विशेषगरी ११ र १२ कक्षाको पठनपाठन र गुणस्तरमा सुधार गरी विज्ञान पढेका योग्य विद्यार्थीलाई प्राविधिक लाइनमा लैजानुपर्छ साथै, ब्याचलर र मास्टर लेभलको पठनपाठनलाई बढी केन्द्रित बनाउने, करिकुलम राम्रो गर्ने, शिक्षकहरूको कम्पिटेन्सी बढाउने तथा कक्षाकोठामा पढ्ने र पढाउने संस्कृतिलाई मूल रूपबाटै सुधार गर्नुपर्ने आवश्यकता रहेको उनको भनाइ छ।

बर्सेनि घट्दै गएको विद्यार्थी, विश्व वरीयताबाट घट्दै गएको साख र नतिजा प्रकाशनमा निरन्तर ढिलापनले गर्दा झनै विद्यार्थीमाझ निराशा छाएको छ। विश्वविद्यालय सुधारका लागि भनी कयौं पटक समिति बने। तर कार्यान्वयनमा सुधार हुन सकेन। विभिन्न कारकहरूको चपेटामा परको त्रिविको खस्कँदो स्तरलाई सुधार्न सम्बन्धित निकायसँग साझेदारी गरी अघि बढ्नुपर्ने आवश्यकता देखिन्छ। देशमा बढेको चरम बेरोजगारीलाई हटाउनुका साथै देशभित्रै दक्ष जनशक्ति उत्पादन गर्ने गरी गुणस्तरीय शिक्षाको ग्यारेन्टी गरी स्वदेश र विदेशमा रोजगारीको व्यवस्था गर्नुपर्छ।

त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. तीर्थराज खनियाँले त्रिभुवन विश्वविद्यालयको विश्वस्तरीय र्‍याङकिङ सन् २०१९ पछि खस्किएर हाल १८०१ को वरपर पुग्नुमा नेतृत्वको कमी, विज्ञताको अभाव, र्‍याङकिङका मापदण्डबारे स्पष्ट ज्ञान नहुनु तथा कोभिडका कारण भिसा अवधि छोटो हुनु जस्ता प्रमुख कारणहरू रहेको बताए। उनले भने ‘सुरुमा त्रिवि विश्वका १००० प्रतिष्ठित विश्वविद्यालयहरूको सूचीमा ८०० देखि १००० को दायराभित्र परे पनि यसलाई जोगाउने र निरन्तरता दिने प्रयासहरू पर्याप्त हुन सकेका छैनन्।’

​र्‍याङकिङ निर्धारण गर्दा विश्वविद्यालयको प्राज्ञिक प्रदर्शन, लगनशीलता, र्‍याङकिङका शीर्षकहरू र कसरी नम्बर आउँछन् भन्ने कुराहरूको गहिरो जानकारी र व्यवस्थापन आवश्यक हुन्छ। ‘यसमा अन्तर्राष्ट्रिय विद्यार्थी र प्राध्यापकहरूको उपस्थिति, अन्तर्राष्ट्रिय विश्वविद्यालयहरूसँगको सहकार्य र अनुसन्धानको गुणस्तरले पनि ठूलो भूमिका खेल्ने भए तापनि यी सबै पक्षमा पर्याप्त ध्यान नपुग्दा समस्या आएको’ उनी भन्छन्। आम विद्यार्थीको रोजाइमा त्रिभुवन विश्वविद्यालयभन्दा पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परेपछि विश्वविद्यालयको स्तर र गुणस्तर घट्दै गएको शिक्षाविद् बताउँछन्।

उच्चशिक्षाका लागि विदेश जाने प्रवृत्ति बढ्दै जाँदा स्वदेशमै अध्ययन गर्ने विद्यार्थी र दक्ष जनशक्ति गुमाउने चिन्ता पनि बढेको छ। सन् २०१९ देखि २०२३ सम्म विश्वका उत्कृष्ट ८०० देखि १००० को सूचीमा रहेको त्रिवि राजनीतिक हस्तक्षेप, अनुसन्धानको चरम अभाव, परीक्षा तथा नतिजा प्रकाशनमा हुने ढिलासुस्ती र पुराना पाठ्यक्रमका कारण निरन्तर ओरालो लागेको हो। विश्व समाज डिजिटलाइजेसनमा रमाइरहेको बेला पुरानो पाठ्यक्रमदेखि शैक्षिक प्रणालीमा अल्झँदा स्तर खस्कनुले निरन्तरता पाएको शिक्षाविद् बताउँछन्।

​विश्वविद्यालय अनुदान आयोग यूजीसीले यसका छुट्टै मापदण्डहरू हुने बताए पनि अन्तर्राष्ट्रिय स्तरको इन्टरनेसनल आउटलुक शीर्षकमा विश्वविद्यालयको हौसियतभन्दा कम अंक आउने गरेको छ। हाम्रोमा न अन्तर्राष्ट्रिय विद्यार्थी छन्, न त अन्तर्राष्ट्रिय प्राध्यापकहरू नै रहेका छन्। यस स्थितिलाई सुधार गर्नका लागि विश्वविद्यालयले चारवर्षे भिसा पाउन सक्ने विदेशी विद्यार्थी र प्राध्यापकहरूलाई आकर्षण गर्न, अनुसन्धानको गुणस्तर र साइटेसन बढाउन तथा यस क्षेत्रका विज्ञहरूको छुट्टै टिम बनाई व्यवस्थित ढंगले लाग्न आवश्यक देखिने पूर्वउपकुलपति खनियाँ बताउँछन्।

विश्वविद्यालयका नियुक्ति तथा शैक्षिक निर्णयमा दलीय प्रभाव हाबी हुँदा प्राज्ञिक वातावरण कमजोर बनेको गुनासो पुरानै हो। शैक्षिक सत्र अनियमित हुने, नतिजा समयमै नआउने र अनुसन्धानका लागि पर्याप्त बजेट तथा प्रोत्साहन नहुँदा विश्वविद्यालयको अन्तर्राष्ट्रिय पहिचानमा असर परेको छ। शिक्षक तथा कर्मचारी संगठनहरू दलीय भागबन्डामा विभाजित हुँदा सुधारका प्रयास बारम्बार अवरुद्ध हुने गरेका छन्। नीतिगत निर्णयमा एकरूपता नहुनु र जवाफदेहिताको अभाव हुनुले पनि विश्वविद्यालयको प्रतिस्पर्धी क्षमतामा प्रश्न उठाएको छ। मुलुकमा अझै पनि पहिलो स्थानमा रहेको त्रिविले गुमेको अन्तर्राष्ट्रिय प्रतिष्ठा फर्काउन सेवाको डिजिटलाइजेसनसँगै प्राज्ञिक र नीतिगत तहमा व्यापक सुधार गर्नुपर्ने टड्कारो आवश्यकता देखिन्छ। परीक्षा सञ्चालन, नतिजा प्रकाशन र विद्यार्थी सेवालाई प्रविधिमैत्री बनाउन सके ढिलासुस्ती घटाउन सकिन्छ। अनुसन्धानमा लगानी बढाउने, पाठ्यक्रम समयानुकूल परिमार्जन गर्ने, शैक्षिक पात्रो कडाइका साथ पालना गर्ने र राजनीतिक हस्तक्षेप न्यून गर्ने काम पनि उत्तिकै जरुरी छ।

पूर्वशिक्षामन्त्री विद्या भट्टराईले त्रिविलाई सुधार गर्नुपर्ने आवश्यकताहरू थुप्रै रहेको बताइन्। उनले पाठ्यक्रमलाई अपडेट गर्ने कुरा ढिला हुने र छिटो गर्न नसकिएको कुरालाई जोड दिइन्।

‘समयमा परीक्षा हुने, समयामा नतिजा निस्कने कुरामाथि नै थुप्रै प्रश्न चिह्नहरू खडा भइराछ,’ भट्टराईले भनिन्, ‘ डिजिटलाइज गर्न सक्या छैनौं धेरै कुरालाई अझै प्रविधिमैत्री बनाउन आवश्यक छ, भएका प्रविधि जे जे कुराहरू हामीले डिजिटलाइज गर्‍यौं त्यसलाई पनि अझै व्यवस्थित गर्न सकेका छैनौं’। उनले थपिन् ‘अहिले भौतिक रूपमा मान्छे त्यहाँ उपस्थित नभइकन उसले आफ्नो कुरा प्राप्त गर्ने अवस्था छैन, यो सबै सुधार गर्दै जाने कुराले एउटा पक्ष राम्रो पक्ष निर्माण गर्छ ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सांसद खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा सहभागी हुन रोक लगाएको छ । एक महिलालाई धम्याउनुका साथै ब्ल्याक मेलिङ गरेको अडियो सार्वजनिक भएपछि रास्वपाले प्रेस विज्ञप्ति जारी गर्दै सुनारलाई सार्वजनिक कार्यक्रममा रोक लगाएको जानकारी दिएको हो । रास्वापाका महामन्त्री विपिन आचार्यले विज्ञप्ति जारी गर्दै अनुसन्धान आयोगलाई तत्काल छानबिन गर्न निर्देशन दिइसकेको जानकारी गराएका ...
: संयुक्त राज्य अमेरिकाका लागि प्रस्तावित राजदूत चिरन जंग थापाले देशको प्रतिनिधित्व लगनशील, निर्भीक, निष्ठावान् र उत्कृष्ट कूटनीतिज्ञका रूपमा गर्ने प्रतिबद्धता जनाएका छन्। सोमबार संसदीय सुनुवाई समितिमा आफ्नो कार्ययोजना र प्रतिबद्धता प्रस्तुत गर्दै थापाले वासिङ्टन डिसीमा हुने महत्वपूर्ण तथा सान्दर्भिक कार्यक्रमहरूमा निमन्त्रणा प्राप्त गरी नेपालको उपस्थिति र पहिचानलाई मजबुत बनाउने लक्ष्य लिएको समेत बताए। उनले परराष्ट्र मन्त्रालयसँगको ...
। दसैंलाई लक्षित गरी पोखरामा १४ हजार ८०० भेडाच्याङ्ग्रा भित्रिएका छन्। मुस्ताङसहित दार्चुला, बझाङ, बाजुरा र डोल्पाबाट व्यापारीले बिक्रीका लागि भेडाच्याङ्ग्रा ल्याएका हुन्। पोखरा महानगरपालिका–१ सिमपानी र वडा नं. २५ हेमजामा हाटबजार सञ्चालनमा छन्। पोखरा महानगरपालिकाको पशु सेवा शाखाका पशु चिकित्सक नवराज अधिकारीका अनुसार मुस्ताङबाट नौ हजार, दार्चुलाबाट दुई हजार, बझाङबाट एक हजार ८०० तथा बाजुरा ...
: दसैं, तिहार र छठलाई लक्षित गर्दै मोरङमा १ हजार १ सय ४० जना प्रहरी परिचालन गरिएको छ। चोरी, लुटपाट, ठगी, तस्करीदेखि सवारी दुर्घटनासम्मका जोखिम नियन्त्रण गर्न प्रहरीले जिल्लाका ३१७ भन्दा बढी स्थानमा सुरक्षा निगरानी बढाएको हो। भारतसँग खुला सीमा जोडिएको र कोशी प्रदेशको राजधानी विराटनगरसमेत रहेको मोरङमा चाडपर्वका बेला हुन सक्ने आपराधिक गतिविधि रोक्न विशेष ...
। बडादशैं नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप बढ्न थालेको छ । दशैं मनाउन राजधानीमा अध्ययन, रोजगारी तथा विभिन्न पेसा–व्यवसायमा संलग्न मानिसहरू धमाधम गाउँ फर्कन थालेका छन् । काठमाडौं उपत्यकाका विभिन्न नाकामा देशका विभिन्न जिल्ला जाने लामो तथा छोटो दूरीका सार्वजनिक यातायातमा यात्रुको चहलपहल बढेको छ । दशैंमा परिवार तथा आफन्तसँग भेटघाट गरी चाडपर्व मनाउन ...