: गृहमन्त्री सुदन गुरुङ बिमस्टेक गृहमन्त्रीस्तरीय प्रथम बैठकमा सहभागी हुन सोमबार भारत प्रस्थान गरेका छन्। उनी दिउँसो १ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतको नयाँदिल्ली गएका हुन्।
गृहमन्त्रीको कार्यभार सम्हालेपछि गुरुङको यो पहिलो औपचारिक विदेश भ्रमण हो। बिमस्टेकअन्तर्गत सुरक्षा क्षेत्रको उच्चस्तरीय संयन्त्रका रूपमा रहेको उक्त बैठक पहिलोपटक भारतमा आयोजना हुन लागेको हो।
भोलि नयाँदिल्लीमा हुने बैठकमा गृहमन्त्री गुरुङले सम्बोधन गर्ने कार्यक्रम छ। बैठकमा बिमस्टेकका सातवटै सदस्य राष्ट्रका आन्तरिक सुरक्षा मामिला हेर्ने मन्त्रीहरू सहभागी हुनेछन्।
बैठकमा लागुऔषध ओसारपसार,मानव बेचबिखन, सम्पत्ति शुद्धीकरण, आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी, आतङ्कवाद, विपद्जन्य सुरक्षा र साइबर अपराधलगायत अन्तरदेशीय तथा क्षेत्रीय सुरक्षा चुनौतीबारे छलफल हुनेछ।
त्यसैगरी,सुरक्षा क्षेत्रका विभिन्न संयन्त्रमा भएका छलफल तथा दस्तावेज पारित गर्ने र घोषणापत्र जारी गर्ने कार्यक्रम रहेको छ। बैठकमा नेपालले जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा बढ्दो प्राकृतिक विपद्को जोखिम न्यूनीकरण,पूर्वसूचना प्रणालीको सुदृढीकरण तथा एकीकृत उद्धार र राहतका लागि क्षेत्रीय सहकार्य अभिवृद्धि गर्ने विषयलाई प्राथमिकता दिनेछ।
बैठकमा सहभागी हुने क्रममा गृहमन्त्री गुरुङले विभिन्न सदस्य राष्ट्रका आफ्ना समकक्षीसँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रमसमेत रहेको छ। बैठकमा सहभागी भएर उनी बुधबार स्वदेश फर्कनेछन्।