: बूढानीलकण्ठ–१० कपनस्थित बाल उद्वार माध्यमिक विद्यालयका प्रधानाध्यापकमाथि कुटपिट गर्ने २ जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा सुनसरीको वराहक्षेत्र घर भएर काठमाडौंको कपन बस्दै आएका ३६ वर्षीय निशाल दाहाल र सिन्धुलीको दुधौली घर भएर कपनमै बस्ने ४४ वर्षीय ध्रुवप्रसाद घिमिरे रहेका छन्। गत असोज २२ गते बिहान करिब १०ः३४ बजे विद्यालय परिसरमा प्रधानाध्यापकमाथि कुटपिट भएको सूचनापछि प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।
पक्राउ परेका दुवै जनाविरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट चार दिनको म्याद थप अनुमति लिएर अभद्र व्यवहार गर्न नहुने कसुरमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार पक्राउ परेका दाहालले विद्यालयमा कार्यरत महिला शिक्षिकालाई लक्षित गरी अश्लील शब्द प्रयोग गर्ने, जथाभावी गालीगलौज गर्ने र धाकधम्की दिने जस्ता अभद्र व्यवहार गरेका थिए। सोही क्रममा विद्यालयका प्रधानाध्यापकमाथिसमेत मुक्का तथा लात्ती प्रहार गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।