: प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले बुढीगण्डकीमा आएको बाढीको कारण पत्ता लगाउन टोली परिचालन गरिएको जानकारी दिएका छन्।
आइतबार बेलुका सामाजिक सञ्जाल फेसबुकमार्फत शाहले घटनाको कारण पत्ता लगाउन भूगर्भविद्सहितको तीन जनाको टोली ड्रोनसहित परिचालन गरिएको जानकारी दिएका हुन्। प्रधानमन्त्री शाहका अनुसार, नेपाल प्रहरीको विपद् प्रतिकार्य तथा तालिम केन्द्रमा ५० जनाको टोलीलाई परिचालनका लागि तयारी अवस्थामा राखिएको छ।
यस्तै, प्राधिकरणको विपद् प्रतिकार्य कमाण्ड पोष्टको बैठक निरन्तर चलिरहेको र बैठकबाट बाढीको निरन्तर अनुगमन, अवस्था विश्लेषण र आवश्यक सूचना सम्प्रेषण तथा प्रतिकार्यका लागि सम्बन्धित निकायसँग समन्वय, सहजीकरण गर्नुका साथै निर्देशन समेत दिइएको प्रधानमन्त्री शाहको भनाइ छ।
गोरखा, लमजुङ र तनहुँका जिल्लास्तरीय द्रुत प्रतिकार्य टोली र स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको नेतृत्वमा प्रदेश र स्थानीय तहका आपत्कालीन चिकित्सकसहित स्वास्थ्यकर्मीको टोली तयारी अवस्थामा राखिएकोसमेत शाहले बताएका छन्।
सरकारले प्रभावित क्षेत्रको जनजीवन सामान्य बनाउन र क्षतिग्रस्त भौतिक पूर्वाधारहरू पुनः सुचारु गर्न आवश्यक कदम अगाडि बढाइसकेको प्रधानमन्त्री शाहले लेखेका छन्।