। कोशी प्रदेशको राजधानी विराटनगरमा असोज २७ र २८ गते आयोजना हुने ‘अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलन’ को सम्पूर्ण तयारी पूरा भएको छ । कोशी प्रदेश सरकारले आयोजना गर्ने सम्मेलनको तयारी पुरा भएको हो ।
सम्मेलनमा देशका सातै प्रदेशका माननीय मुख्यमन्त्रीहरू, मुख्य न्यायाधिवक्ताहरू, प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्षहरू र प्रमुख सचिवहरूको सहभागिता रहने मुख्यमन्त्री हिक्मतकुमार कार्कीले जानकारी दिए ।
सम्मेलनले नेपालको संविधानले परिकल्पना गरेको सहकारिता, सहअस्तित्व र समन्वयमा आधारित संघीयताको प्रभावकारी कार्यान्वयनमा योगदान पुर्याउने, प्रदेशहरूले हालसम्म गरेका अभ्यास, कार्यान्वयनका अनुभव, सफल मोडल र साझा चुनौतीहरूबारे विस्तृत छलफल गरिने योजना छ ।
संविधानप्रदत्त प्रदेशका अधिकारको प्रयोग, संघ, प्रदेश र स्थानीय तहबीचको जिम्मेवारीमा स्पष्टता, वित्तीय संघीयता र प्रदेशको स्रोत परिचालनका विषयमा विचार–विमर्श हुने उनले बताए ।
प्रदेशका साझा हितका विकास आयोजना, अन्तरप्रदेशीय पूर्वाधार विकास, व्यापार तथा लगानी सहजीकरण, प्राकृतिक स्रोतको न्यायोचित उपयोग र लाभ बाँडफाट एवं विपद् व्यवस्थापनमा सहकार्य सुदृढ गर्ने, सार्वजनिक सेवा प्रवाह सुनिश्चित गर्ने र प्रदेशको आन्तरिक आय अभिवृद्धिका सम्भावनाहरूलाई उपयोग गर्नेलगायत एजेन्डा रहेको प्रदेश योजना आयोगका उपाध्यक्ष तारानाथ निरौलाले जानकारी दिए ।