मुख्य समाचार
दुई वर्षअघिको बाढीपहिरोले क्षतिग्रस्त काभे्रपलाञ्चोकतर्फको बीपी राजमार्गमा हाल पुनर्निर्मित सडकबाटै आवागमन
दुई वर्षअघिको बाढीपहिरोले क्षतिग्रस्त काभे्रपलाञ्चोकतर्फको बीपी राजमार्गमा हाल पुनर्निर्मित सडकबाटै आवागमन

। दुई वर्षअघिको बाढीपहिरोले क्षतिग्रस्त काभे्रपलाञ्चोकतर्फको बीपी राजमार्गमा हाल पुनर्निर्मित सडकबाटै आवागमन गराइएको छ ।

आउँदो दशैँलाई मध्यनजर गर्दै थप सहजता बनाइँदै लगिएको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ ।

विसं २०८१ असोजको बाढीपहिरोले करिब ३० किलोमिटर सडक क्षतिग्रस्त भएपछि रोशी खोलामै अस्थायी डाइभर्सन बनाएर आवागमन गर्दै आएकामा यही असोज पहिलो साताको अविरल वर्षाको बाढीले रोशी खोलाको उक्त डाइभर्सन बगाएपछि हाल पुनर्निर्मित सडकबाटै आवागमन गराइएको हो ।

‘एक दुई स्थानमा साँघुरो भएकाले डाइभर्सन बनाएर दुईतर्फी आवागमन गराइएको छ, अन्यत्र कहीँकतै अप्ठ्यारो छैन’, कार्यालयका प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशले भने । उनका अनुसार चौकीडाँडा र पिन्थलीमा भिरालो भएकाले हाल मर्मत भइराखेको र डाइभर्सनसमेत प्रयोग गरिएको छ भने डालाबेँसी–पिप्ले सडकखण्डको करिब २०० मिटरमा डाइभर्सनमा यातायात सञ्चालन गराइएको छ ।



हाल पुनर्निर्मित सडकबाटै आवागमन गराइए पनि जाम नहुने योगेशको भनाइ छ । वर्षा भई सडक माथिबाट लेदो तथा पहिरो गई अवरुद्ध भए आधादेखि केही घण्टामै सडक खुलाउने गरी सामग्री व्यवस्थापन गरिएको छ ।

‘दशैँमा यात्रा सहजताका लागि थप मर्मतकार्य भइरहेको छ”, उनले भने ।

यही असोज ८ गतेदेखिको बिहीबारदेखिको अविरल बर्षाका कारण डाइभर्सन बगाई पहिरो गई तथा लेदोले पाँच दिन बिपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध बनेको थियो । त्यसयता पुनिर्निर्मित पुरानै सडक–र्ट्याकबाट सवारी आवागमन गराइएको योगेशले बताए । यसका लागि पछिल्ला केही महिनादेखि पुनर्निर्माणलाई तीव्रता दिइँदै आइएको थियो ।

नेपालको पूर्वी तथा मध्यपहाडी क्षेत्रलाई सङ्घीय राजधानी काठमाडौँसँग जोड्ने छोटो दूरीका रूपमा रहेको उक्त राजमार्गमा यसअघि वर्षा हुनेबित्तिकै रोशीको बाढीले अस्थायी रूपमा बनाइएको डाइभर्सन बगाउने हुँदा अवरुद्ध भइहाल्थ्यो ।

हाल कार्यालयले पुनर्निर्मित ट्र्याकमा वर्षामा सकेसम्म राजमार्ग अवरुद्ध हुन नदिनेगरी तथा अवरुद्ध भइहाले विविध ‘इक्युपमेन्ट’ प्रयोग गरी सकेसम्म आधा घण्टाभित्र सञ्चालनमा ल्याउने तयारीसमेत गरिएको यागेशले बताए । उनले भने, ‘हाल दशैँलाई लक्षित गरी वर्षालगायत कारण अवरुद्ध भइहाले आधा घण्टामै खुलाउने गरी तयारी भइसकेको छ, यसका लागि आवश्यक इक्युपमेन्टसमेत स्ट्याण्डबाई अवस्थामा राखिएको छ ।’

उहाँका अनुसार साविककै स्थानमा पुनर्निर्माण भएका अधिकांश खण्डबाट भदौदेखि आवागमन गाउँदै आइएको थियो । चौकीडाँडा, चारसयबेँसी, घुमाउनेबेँसी, बोक्सीकुना, चिउरीबास, कालढुङ्गा तथा पिप्ले–बर्खेखोला क्षेत्रलाई भने कार्यालयले उच्च जोखिमयुक्त स्थानका रूपमा पहिचान गरेकोसमेत छ ।

उक्त राजमार्गको क्षतिग्रस्त क्षेत्रको अधिकांश स्थानमा ग्राभेलसम्मको काम तथा केही स्थानमा भने ठूला ढुङ्गा राखेर सडक तयार गरिएको हो । हाल वर्षायामअघि सात मिटर उचाइसम्म सडक बनाएर ग्राभेल राखिएको छ भने हिउँद लाग्दा खोलाबाट करिब १० मिटर उचाइसम्म सडक बनाएर कालोपत्र गरिने जनाइएको छ । कतिपय स्थानमा आरसीसी वालको फाउन्डेसन पूरा भई अन्य काम भइरहेको छ भने र्ट्याक निर्माण भएका सडकमा ग्राभेल हालेकाले सवारीसाधन सञ्चालनमा कुनै समस्या आउने छैन ।

क्षतिग्रस्त खण्ड पुन:निर्माणका लागि सरकारले आठ अर्ब ५० करोड रुपैयाँ स्रोत सहमति दिएको हो । जसमध्ये काभ्रेपलाञ्चोकतर्फका तीन सडकखण्डलाई रु सात अर्ब ५० करोड र सिन्धुलीको एक सडकखण्डलाई रु एक अर्बको स्रोत सहमति दिइएको हो ।

क्षतिग्रस्त चार खण्डमध्ये बाँकी एक खण्ड बर्खेखोलादेखि पिप्लेसम्मको तीन दशमलव दुई किलोमिटर सडक निर्माणको काम जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका)ले पुनर्निर्माण गरिरहेको छ ।

जाइकाले उक्त खण्डमा माटो भरेर बोल्डर (ठूला ढुङ्गा) राख्ने काम गरेको जनाएको छ । वर्षाका समयमा पनि यस खण्डमा खोलाबाट सवारीसाधन चलाउनुपर्ने अवस्था नभएको योगेशले बताए । राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकतर्फ तीन र सिन्धुलीतर्फ एक गरी चार प्याकेज बनाएर ठेक्का सम्झौता गरी कामअघि बढाइएको हो ।

अबको पुन:निर्माणमा राजमार्गको स्तरोन्नति गर्दै दुई लेनको सडक निर्माण गरिने भएको हो ।

जापान सरकारको अनुदान सहयोगमा आर्थिक वर्ष २०५३/५४ बाट बिपी राजमार्ग (धुलिखेल–सिन्धुली–बर्दिवास १६० किमी सडक) निर्माण कार्य सुरु गरिएको थियो । खण्डखण्ड विभाजन गरी निर्माण सम्पन्न राजमार्गको विसं २०७२ असार १८ गते औपचारिक रूपमा जापान सरकारले नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। साउदी अरेवियामा बढ्दो तनावका बीच काठमाडौंबाट दमामका लागि निर्धारित उडान रद्द भएको छ । हिमालय एयरलाइन्सले यस रुटको उडान रद्द गरेको जनाएको छ । यात्रुको सुरक्षालाई प्राथमिकता दिँदै दमाम गन्तब्यका लागि निर्धारित तालिका अनुसार हालका उडान रद्द गरिएको कम्पनीले जनाएको छ । २५ असोजको काठमाडौं–दमाम र दमाम–काठमाडौं रुटका उडान रद्द गरिएको कम्पनीले जनाएको छ ।
। बूढीगण्डकी नदीमा आएको लेदोसहितको बाढीले आरुघाट–धादिङ जोड्न मोटरेबल पुल बगाएपछि बेलिब्रिज राख्ने तयारी गरिएको छ । सडक डिजिभन कार्यालय हेटौँडाबाट बेलिब्रिजको सामान ल्याउने तयारी भइरहेको गोरखा सडक योजनाले जनाएको छ । ‘हेटौँडाबाट सामान ल्याउने तयारी भइरहेको छ,’ कार्यालय प्रमुख विनोद पुनले भने, ‘सम्भवत: भोलिसम्म सामान आउला, आएलगतै काम सुरु हुन्छ ।’ बेलिब्रिज निर्माणका लागि आजैबाट टोली ...
। गोरखाको बूढीगण्डकी नदीमा आएको बाढीका कारण चुमनुब्री गाउँपालिकाको लोक्पास्थित सर्दिभिरमा रहेको क्यान्टिलिभर पुल बगेको छ। चुमनुब्री गाउँपालिकाकी उपप्रमुख लक्ष्मी गुरुङका अनुसार आज बिहान आएको बाढीले क्यान्टिलिभर पुल बगाएसँगै तल्लो चुम क्षेत्रमा आउजाउ ठप्प भएको छ। ‘बाढीले क्यान्टिलिभर पुल बगायो। अब तल्लो चुम जाने बाटोघाटो केही छैन,’ उनले भनिन्, ‘फेरि उहिल्यैबाट पहिल्याएर काठको भर्‍याङ र डोरी ...
। तनहुँ जलविद्युत् आयोजनाले निर्माणस्थलमा हुन सक्ने सम्भावित विपद्को जोखिम न्यूनीकरण, जनशक्तिको सुरक्षा तथा आपत्कालीन अवस्थामा प्रभावकारी उद्धार र प्रतिकार्य सुनिश्चित गर्न मुख्य बाँध निर्माणस्थलमा विपद् नमुना अभ्यास सम्पत्र गरेको छ । आयोजनाको नदी सुरक्षा व्यवस्थापन योजनाअन्तर्गत आपत्कालीन प्रतिकार्य उपयोजनाबमोजिम सञ्चालन गरिएको अभ्यासमा प्याकेज- १ (हेडवर्क्स) र प्याकेज-२ (मुख्य सुरुङ, विद्युतगृहलगायतका संरचना तथा सम्बन्धित उपकरणहरू)मा कार्यरत ...
। पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गोरखाको बूढीगण्डकी नदीमा आएको बाढीले पारेको असरबारे दुःख व्यक्त गरेका छन् । सामाजिक सञ्जालमार्फत देउवाले बाढीले नदी किनाराका बस्तीमा पारेको असरको खबरले आफू दुखित बनेको बताएका हुन् । उनले लेखेका छन्, ‘बूढीगण्डकी र त्रिशूली नदी किनारका तटीय क्षेत्रमा रहेका सबै नागरिकलाई उच्च सतर्कता सहित सुरक्षित स्थानमा रहन अनुरोध गर्दछु ।’ नेपाली कांग्रेसका पूर्वसभापति समेत ...