इरानको आणविक प्रविधि बाह्य अवरोधबाट सुरक्षित रहेको र धम्की, दबाब वा आक्रमणबाट त्यसलाई रोक्न नसकिने इरानको परमाणु ऊर्जा संगठनका प्रमुखले बताएका छन् ।
संगठनका प्रमुख मोहम्मद इस्लामीले इरानको आणविक क्षेत्रमा भएको प्रगतिलाई देशको राष्ट्रिय उपलब्धि भन्दै यो इरानी वैज्ञानिकहरूको चौबीसै घण्टाको मेहनतबाट सम्भव भएको बताएका छन् । उनले संयुक्त राष्ट्रसंघमा अमेरिकाले दिएको अभिव्यक्ति उसको लाचारीको प्रमाण भएको पनि बताए।
इरानको अर्धसरकारी समाचार संस्था तस्निमका अनुसार इस्लामीले भनेका छन्, ‘संयुक्त राष्ट्रसंघको मञ्चबाटै अमेरिकी अधिकारीहरूले इरानका आणविक केन्द्रमा रणनीतिक हतियार प्रयोग गर्ने खुला धम्की दिनु र इरानको प्राचीन सभ्यता नष्ट गर्ने कुरा गर्नु विज्ञान, ज्ञान र प्रविधिको ऐतिहासिक केन्द्र रहँदै आएको अग्रणी राष्ट्रसामु उनीहरूको लाचारी प्रकट हुनु हो ।’
इरानका आणविक गतिविधि सीमित गर्ने कूटनीतिक प्रयास असफल भए अमेरिकाले उसका आणविक केन्द्रमा आक्रमण गर्न सक्ने चेतावनी अमेरिकी अधिकारीहरूले पटक–पटक दिँदै आएका छन् ।