: खानामा किरा भेटिएको उजुरीपछि काठमाडौं महाराजगञ्जमा रहेको ‘मन्त्र थकाली’ (ग्रिन तारा हस्पिटालिटी प्रालि) लाई कारबाही गरिएको छ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा फोनमार्फत आएको उजुरीका आधारमा विभागको र्यापिड रेस्पोन्स टिम र वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको संयुक्त अनुगमन टोलीले ‘मन्त्र थकाली’को आकस्मिक निरीक्षण गरी २ लाख ५० हजार जरिवाना गरेको हो।
उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार दुई लाख ५० हजार रुपैयाँ जरिवाना गरिएको विभागले जनाएको छ। विभागका अनुसार अनुगमनका क्रममा भान्छा कोठा र फ्रिजको सरसफाइ अत्यन्तै अस्वस्थकर रहेको, पकाइएको खाद्य पदार्थ नछोपी राखिएको र भान्छा तथा फ्रिजमा साङ्ला एवं भुसुना जस्ता किटजन्य जीवहरू फेला परेको विभागले जनाएको छ। ड्रेनको सरसफाइ नभएको, डस्टबिन खुला राखिएको र स्वास्थ्यका लागि हानिकारक मानिने मसिजन्य कागज (पत्रिका) मा फ्राइड आलु भण्डारण गरिएको भेटिएको विभागले जनाएको छ।
विभागले रेस्टुरेन्टलाई भान्छा तथा फ्रिजको सरसफाइ सुदृढ गर्न,खाना ढाकेर राख्न, किट नियन्त्रण (पेस्ट कन्ट्रोल) को प्रभावकारी व्यवस्था गर्न र खाद्य पदार्थ राख्न पत्रिकाको प्रयोग पूर्ण रूपमा रोक्न कडा निर्देशन दिएको छ। विभागले भान्सामा देखिएका सम्पूर्ण कैफियतहरू सुधार गरी ७ दिनभित्र प्रमाणसहित विभागमा उपस्थित हुन निर्देशन दिइएको छ। तोकिएको समयभित्र सुधार नगरेमा खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम थप कडा कानूनी कारबाही गरिने चेतावनी समेत विभागले दिएको छ।