: नेपाल-चीनबीचको उत्तरी तातोपानी नाका पाँच सातादेखि बन्द हुँदा व्यवसायीहरू मर्कामा परेका छन् भने राज्यले दैनिक करोडौँ राजस्व गुमाउँदै आएको छ।
सरकारले तातोपानी नाका पुनः सञ्चालनमा ल्याउन चीनसँग निरन्तर संवाद गरिरहेको पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले बताए। ‘तातोपानी नाका सञ्चालनमा ल्याउन नेपाली पक्षलाई कुनै समस्या छैन। पहिरोले अवरुद्ध भएको सडक पनि सञ्चालनमा ल्याइसकिएको छ,’ उनले भने, ‘अहिले पनि हामी तयार छौँ। चिनियाँ पक्षसँग नियमित संवाद भइरहेको छ। मलाई लाग्छ, चाँडै नै हामी नाका खोल्न सफल हुनेछौँ।’ विपद्का कारण नाका सञ्चालनमा समस्या आए पनि सरकारले तत्काल सडक तथा पूर्वाधार पुनःस्थापनाका लागि काम गरिरहेको उनको भनाइ छ।
मन्त्री लम्सालले तत्काल नै नाका सञ्चालनमा ल्याउने गरी प्रयत्न भइरहेको बताएपछि व्यवसायीहरूमा आशा पलाएको छ। तातोपानी नाका सञ्चालनमा ल्याउन नेपाल-चीनका सरकारी अधिकारीहरूलाई पटक-पटक भेटेर अनुरोध तथा दबाब दिँदै आएको नेपाल हिमालय सीमापार वाणिज्य सङ्घले चाडपर्वलक्षित सामान ल्याउने मुख्य विकल्प तातोपानी नाका नै भएको भन्दै दशैंअघि नाका सञ्चालनमा ल्याउन सकिने जनाएको छ।
‘चाडपर्वलक्षित सामान ल्याउने अहिलेको एकमात्र विकल्प तातोपानी नाका हो। दशैँअघि तातोपानी नाका खुल्नेमा हामी आशावादी छौँ,’ चिनियाँहरूसँग अनौपचारिक कुराकानी गर्दा यस्तो जानकारी पाएको बताउँदै सङ्घका कार्यकारिणी सदस्य तथा व्यवसायी शारदाप्रसाद पराजुलीले भने, ‘दशैँअघि १० दिन मात्रै खुला भए पनि करिब पाँच सय कन्टेनर सामान आयात गर्न सकिन्छ। पछिल्लो वर्षाले मुस्ताङको कोरोला नाका पनि बन्द भएपछि चिनियाँ व्यापारीहरू चाडपर्वलक्षित सामान तातोपानी नाकाबाटै पठाउने तयारीमा रहेको जानकारी पाएका छौँ।’
उनका अनुसार ल्हासाबाट कोरोला हुँदै आएका हेभी कन्टेनरहरू बिच बाटोबाट न्यालमतर्फ मोडिएका छन्। ‘चाडपर्वलक्षित फलफूल र रेडिमेड सामान बोकेका ४० फिटे कन्टेनर खासा जान न्यालमतर्फ हिँडेको त्यहाँका ट्रान्सपोर्ट कम्पनीहरूले जानकारी दिएका छन्,’ उनले भने। चीनमा अक्टोबर ७ तारिखसम्म राष्ट्रिय दिवसका कारण सरकारी बिदा रहेकाले ८ तारिखदेखि तातोपानी नाका खुलाउन सक्रिय हुने सुनिएको उनको भनाइ छ।
नाका बन्द हुँदा तातोपानी क्षेत्रमा आश्रित व्यवसायी, मजदुर र यातायात क्षेत्रमा प्रत्यक्ष असर परेको सिन्धुपाल्चोक उद्योग वाणिज्य सङ्घका अध्यक्ष बुद्धराज बस्नेतले बताए। ‘करिब एक हजार कन्टेनरका चालक तथा सहचालक र लोडर सङ्घमा आबद्ध करिब ७ सय मजदुरसहित नाकामा निर्भर सयौँ साना व्यवसायी कामविहीन भएका छन्,’ बस्नेतले भने, ‘नाका सञ्चालन हुँदा काठमाडौँसम्म कन्टेनर लैजान ५० हजार रुपैयाँ भाडा पर्ने गरेको थियो, तर कोरोलाबाट करिब ५ सय किलोमिटर घुम्नुपर्ने भएकाले एउटा कन्टेनरको भाडा करिब ४ लाख रुपैयाँसम्म पर्ने गरेको छ।’ यसले ढुवानी लागत बढ्दा त्यसको भार उपभोक्ताले बेहोर्नुपरेको उनको भनाइ छ। दशैंका लागि ल्याइएका फलफूल, बालबालिकाका कपडा तथा जुत्ता, तिहारका सामान, ड्राइफ्रुट्स र लसुन सीमा नाकामा अलपत्र परेको व्यवसायीहरू बताउँछन्।
तातोपानी भन्सारका अधिकृत रमेशबहादुर शाहले दशैंका सामान तातोपानीबाट आयात हुने सम्भावना रहेको बताए। ‘आधिकारिक रूपमा त केही भनेका छैनन्, तर चिनियाँहरू तातोपानी नाका खुलाउन सकारात्मक देखिएका छन्,’ उनले भने, ‘नेपालतर्फको समस्याग्रस्त इको पहिरो, डाकलाङ लगायतका क्षेत्रमा बाटो फराकिलो बनाउन थालिसकिएको छ। अब चाँडै नाका सञ्चालन हुनेछ।’ सडक भासिएर साँघुरो भएको ठाउँमा ठुला मेसिनको प्रयोग गरी बाटो फराकिलो पार्ने काम निरन्तर भइरहेको उनको भनाइ छ।
तातोपानी नाका गत साउनको सुरुदेखि करिब तीन सातासम्म पूर्ण रूपमा बन्द भएको थियो। लगातारको पहिरोले अरनिको राजमार्ग अवरुद्ध भएपछि चीनसँगको सीमापार व्यापार ठप्प भएको थियो। साउन तेस्रो साताबाट १० दिन सीमित रूपमा यातायात सञ्चालनमा आए पनि भदौ १० को रसुवा बाढीपछि चिनियाँ पक्षले फेरि अर्को सूचना जारी नभएसम्मका लागि नाका बन्द गरेको थियो।