मुख्य समाचार
पर्यटक भिसामा नेपाल आएका २४ जना दक्षिण कोरियाली नागरिक मोरङबाट पक्राउ
पर्यटक भिसामा नेपाल आएका २४ जना दक्षिण कोरियाली नागरिक मोरङबाट पक्राउ

: पर्यटक भिसामा नेपाल आएका २४ जना दक्षिण कोरियाली नागरिक मोरङबाट पक्राउ परेका छन्। धार्मिक गतिविधिमा संलग्न रहेको पाइएपछि प्रहरीले शुक्रबार उनीहरुलाई नियन्त्रणमा लिएर अध्यागमन विभागमा पठाएको छ।

उनीहरूमाथि भिसाको सर्त उल्लंघन गरेको आरोपमा अनुसन्धान हुने भएको छ। पक्राउ पर्नेमा १३ पुरुष र ११ जना महिला छन्। उनीहरूलाई विराटनगर विमानस्थलबाट यति एयरलाइन्सको जहाजमार्फत साँझ काठमाडौं पठाइएको मोरङका प्रहरी प्रमुख एसपी कवित कटवालले जानकारी दिए। उनका अनुसार विदेशी नागरिकहरू पर्यटक भिसाको उद्देश्यविपरीत धार्मिक प्रशिक्षण तथा प्रचारप्रसारमा संलग्न भएको सूचना पाएपछि प्रहरीले निगरानी बढाएको थियो।

सुन्दरहरैँचा नगरपालिका–७ मालती मार्गस्थित नेपाल न्यू कोभेनन्ट कलेजमा धार्मिक प्रशिक्षण तथा कार्यक्रम चलिरहेका बेला उनीहरूलाई नियन्त्रणमा लिइएको हो। स्थानीयबाट उजुरी आएपछि उनीहरूको गतिविधिमाथि निगरानी गरिएको प्रहरीले जनाएको छ। निगरानीका क्रममा धर्मशास्त्रको तालिममा उनीहरु संलग्न भएको पाइएको एसपी कटवालले बताए।




मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालाका अनुसार पर्यटक भिसामा आएका विदेशीले धार्मिक शिक्षा, तालिम वा प्रचारप्रसार गर्न नपाउने कानुनी व्यवस्थाविपरीत गतिविधि भएको सूचना प्राप्त भएपछि प्रशासनले दुई दिनदेखि निगरानी गरिरहेको थियो। अनुसन्धानका क्रममा भिसाको उद्देश्यविपरीत काम गरेको देखिएपछि जिल्ला प्रशासन कार्यालयको निर्देशनमा उनीहरूलाई नियन्त्रणमा लिइएको उनले बताए।

पक्राउ परेका कोरियाली नागरिक असोज २० र २१ गते काठमाडौं हुँदै विराटनगर आएका थिए। उनीहरू अक्टोबर १२ सम्म मोरङमा रहने योजनासहित नेपाल आएको बताइएको छ। लभ नेपाल मिसनको सहयोगमा सञ्चालित नेपाल न्यू कोभेनन्ट कलेजमा धर्मशास्त्रको अध्ययन तथा अध्यापन हुँदै आएको छ। उक्त संस्थाले प्रमाणपत्र तहदेखि विद्यावारिधिसम्मको धार्मिक शिक्षा प्रदान गर्ने बताइएको छ।

सहायक प्रजिअ कोइरालाले अध्यागमन नियमावली, २०५१ को नियम २० को उपनियम (२०) अनुसार पर्यटक भिसाको दुरुपयोग गरेको देखिएकाले उनीहरूलाई अध्यागमन विभाग पठाइएको बताए। उनीहरूलाई नेपालबाट निष्कासन गर्ने वा अन्य कानुनी कारबाही अघि बढाउने भन्ने निर्णय विभागले गर्नेछ।

मोरङमा विदेशी नागरिकको आवागमन बढेसँगै उनीहरूको गतिविधिमाथि प्रशासनले निगरानी बढाएको छ। प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहेको अध्यागमन जिल्ला समन्वय समितिले विदेशी नागरिकले भिसाको सर्त पालना गरे–नगरेको विषयमा निगरानी गरिरहेको छ।

यसअघि विराटनगरबाट दुई जना चिनियाँ नागरिक पनि पक्राउ परेका थिए । उनीहरूलाई समेत आवश्यक अनुसन्धानका लागि अध्यागमन विभाग पठाइएको थियो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। मलेसियाले विदेशी श्रमिक केन्द्रीकृत व्यवस्थापन प्रणाली (एफडब्लूसीएमएस) बाहेक अन्य प्रक्रियाबाट नेपाली श्रमिक भर्ना नगर्ने जवाफ नेपाललाई पठाएको छ । सीमित म्यानपावर कम्पनीमार्फत मात्रै श्रमिक लैजाने व्यवस्था स्वीकार गर्न नसकिने भन्दै नेपालले कूटनीतिक नोट पठाएकोमा मलेसियाले श्रमिकको हित संरक्षण र भर्ना प्रक्रियालाई व्यवस्थित बनाउन नयाँ प्रणाली लागू गरिएको भन्दै त्यसैमार्फत श्रमिक भर्ना गर्ने जवाफ दिएको हो ...
। लमहीमा यात्रु बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका–१३ चौधेराका चेतबहादुर केसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए । नेपालगन्जबाट काँकरभिट्टातर्फ जाँदै गरेको प्रदेश १–०१–००१ख ४१४८ नम्बरको यात्रुवाहक बसले पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको लुम्बिनी प्रदेश एए ८५९८ नम्बरको सरकारी मोटरसाइकललाई शुक्रबार साँझ लमही नगरपालिका–१ सुनडबरीमा ...
। कर्णाली नदीमा माछा मार्न गएकी एक महिलाको गोहीको आक्रमणबाट मृत्यु भएको छ । शुक्रबार बिहान नदीमा माछा मार्न गएकी बर्दियाको मधुवन नगरपालिका–३ बस्ने अन्दाजी ४५ वर्षीया पुष्पा लामिछानेको गोहीको आक्रमणबाट मृत्यु भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय राजापुरका प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) होमप्रकाश चौधरीले गोहीको आक्रमणबाट लामिछानेको मृत्यु भएको पुष्टि गरेका छन् । उनकाअनुसार ...
। परराष्ट्रमन्त्री शिशिर खनाल र क्यानबेरा अष्ट्रेलियाकी गभर्नर–जनरल साम मोस्टिनबीच भेटघाट भएको छ । भेटमा नेपाल र अष्ट्रेलियाबीचको ६ दशक लामो मैत्रीपूर्ण सम्बन्ध, अष्ट्रेलियामा नेपाली डायस्पोराको योगदान तथा नेपाली विद्यार्थीको हित, आगामी कोप–३१ मा नेगोसिएसनमा अध्यक्षता गरिरहेको सन्दर्भमा अष्ट्रेलियासँग नेपालको जलवायु एजेन्डा (हिमालयको संरक्षण, जलवायु उत्थानशीलता, पूर्व चेतावनी प्रणाली लगायतका विषय स्थापना गर्ने) साथ र समर्थनको ...
। गृह मन्त्रालयले मन्त्रालय मातहतका हरेक प्रहरी कर्मचारीहरूबाट हुने पदीय आचरण विपरीतका कार्यहरूको सुक्ष्म निगरानी एवं विश्लेषण भइरहेको जनाएको छ । गृहमन्त्री सुधन गुरुङले पनि संवेदनशील गोप्य सूचनाको चुहावट तथा शान्ति सुरक्षामा प्रतिकूल असर पार्ने गतिविधिहरूमाथि सूक्ष्म निगरानी तथा विश्लेषण गरिरहेको सचिवालयले जनाएको छ । ‘गृह मन्त्रालय मातहतका हरेक प्रहरी कर्मचारीहरूबाट गरिने पदीय आचरण विपरीतका कार्यहरू, संवेदनशील ...