: दसैं, तिहारलगायतका चाडपर्वमा हुन सक्ने आपराधिक गतिविधि नियन्त्रण गर्न कोशी प्रदेशमा प्रहरी परिचालनलाई तीव्र बनाए सुरक्षा निगरानी बढाइएको । प्रदेशका १४ वटै जिल्लामा ८ हजार १३३ नेपाल प्रहरी परिचालन गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।
प्रहरीले राजमार्गदेखि बजार, सीमावर्ती क्षेत्रदेखि धार्मिक स्थलसम्म सुरक्षा निगरानी बढाएको प्रदेश प्रहरी प्रवक्ता एसएसपी योगेन्द्रसिंह थापाले बताए। उनका अनुसार चाडपर्वका बेला मानिसको आवागमन र आर्थिक कारोबार बढ्ने तथा घरहरू लामो समयसम्म खाली रहने भएकाले चोरी, लुटपाट, ठगी, झैझगडा र सवारी दुर्घटनाको जोखिम बढी हुन्छ । यस्ता घटना नियन्त्रण गरी नागरिकलाई सुरक्षित रूपमा चाडपर्व मनाउने वातावरण बनाउन कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले चाडपर्व सुरक्षा कार्ययोजना, २०८३ कार्यान्वयनमा ल्याएको जानकारी थापाले दिए।
प्रदेश प्रहरी प्रमुख डीआईजी शेखर खनालका अनुसार आकस्मिक घटनामा तत्काल परिचालन हुन ४५३ वटा क्विक रेस्पोन्स टिम (क्यूआरटी) तयारी अवस्थामा राखिएको छ । सुरक्षा संवेदनशील क्षेत्रमा आवश्यकताअनुसार तत्काल हस्तक्षेप गर्न १५ वटा स्ट्राइकिङ टोलीसमेत परिचालन गरिनेछ । प्रहरीले यात्राका क्रममा हुन सक्ने ठगी, सामान हराउने तथा अन्य समस्यामा तत्काल सहयोग पु¥याउन प्रदेशका ७२ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरेको छ । बसपार्क, बस स्टेण्ड, मुख्य राजमार्ग र सहायक मार्गमा रहेका सहायता कक्षबाट यात्रुका गुनासा सुन्ने, आवश्यक सहयोग गर्ने र सुरक्षा सहजीकरण गर्ने व्यवस्था मिलाइएको खनालले बताए।
सवारी दुर्घटना न्यूनीकरण तथा ट्राफिक नियम कार्यान्वयनका लागि ट्राफिकसहित १७९ स्थानमा संयुक्त चेकजाँच गरिनेछ। मादक पदार्थ सेवन गरेर सवारी चलाउने कार्य नियन्त्रण गर्न पनि निगरानी बढाइएको छ। राजमार्गमा सुरक्षित आवागमनका लागि २२ स्थानमा स्कर्टिङको व्यवस्था गरिएको छ भने ९८ मोबाइल गस्ती र २१५ पैदल गस्ती परिचालन गरिने प्रहरीले जनाएको छ।
मुख्य चोक, बजार तथा सार्वजनिक जमघट हुने स्थानमा सुरक्षा उपस्थिति बढाउन ५०३ स्थानमा पिकेट राखिनेछ। सीमावर्ती क्षेत्रमा चोरी–तस्करी नियन्त्रण तथा निगरानीका लागि ८३ स्थानमा विशेष व्यवस्था गरिएको छ। पटाका तथा अन्य विस्फोटक पदार्थको अवैध ओसारपसार रोक्न मुख्य नाका र शंकास्पद क्षेत्रमा तालिमप्राप्त कुकुरसहितको प्रहरी टोली परिचालन गरी चेकजाँच कडा पारिएको जानकारी डीआईजी खनालले दिए। प्रविधिको प्रयोगलाई पनि सुरक्षा योजनामा प्राथमिकता दिइएको छ। भिडभाड हुने चोक, बजार र सार्वजनिक स्थानमा सिसी क्यामेरामार्फत निगरानी गरिने उनले बताए। आवश्यकताअनुसार ड्रोन क्यामेरासमेत प्रयोग गरेर सुरक्षा अवस्थाको अनुगमन गर्ने प्रहरीको योजना छ।
चाडपर्वमा दर्शनार्थीको चाप बढ्ने मठमन्दिर, शक्तिपीठ तथा पर्यटकीय स्थलको सुरक्षाका लागि ५० स्थानमा विशेष व्यवस्था मिलाइएको जानकारी डीआईजी खनालले दिए। उनका अनुसार सरकारी कार्यालय तथा महत्वपूर्ण प्रतिष्ठानको सुरक्षाका लागि ३४ स्थानमा व्यवस्था गरिएको छ । बैंक तथा वित्तीय संस्था, सुनचाँदी पसल र आर्थिक कारोबार बढी हुने क्षेत्रमा पनि निगरानी बढाइएको छ।
चाडपर्वका बेला किनमेल, बैंकबाट रकम झिक्ने र घरमा नगद तथा गरगहना राख्ने क्रम बढ्ने भएकाले यस्ता स्थानमा चोरी, लुटपाट र ठगीको जोखिम रहने प्रहरीको आकलन छ । घरमा कोही नभएको मौका पारेर चोरी हुन सक्ने भएकाले घर छाड्नुअघि सुरक्षाको प्रबन्ध मिलाउन पनि प्रहरीले सर्वसाधारणलाई आग्रह गरेको छ।
डीआईजी खनालले प्रहरी परिचालनसँगै नागरिकको सतर्कता पनि आवश्यक रहेको बताए। सार्वजनिक यातायातमा यात्रा गर्दा सामानको सुरक्षा गर्न, अपरिचित व्यक्तिलाई रकम वा व्यक्तिगत विवरण नदिन, अनलाइन कारोबारमा सावधानी अपनाउन र शंकास्पद गतिविधि देखिएमा तत्काल प्रहरीलाई खबर गर्न उनले आग्रह गरे।
प्रहरीले सुरक्षा योजना प्रभावकारी बनाउन जोखिमयुक्त क्षेत्रको निगरानी, सूचनाको तत्काल सम्बोधन र आकस्मिक घटनामा छिटो प्रतिक्रिया दिने व्यवस्थालाई प्राथमिकता दिएको जनाएको छ । परिचालित जनशक्ति र सुरक्षा संयन्त्रको प्रभावकारिता नागरिकले प्रत्यक्ष अनुभूति गर्ने गरी काम गरिने खनालको भनाइ छ।