: उदयपुरमा पिकअप जीपमा सिटी सफारी ठोक्किँदा २ वर्षीया बालिकाको मृत्यु भएको छ भने एक वृद्धा घाइते भएकी छन्।
मृत्यु हुनेमा त्रियुगा–११ की शिवकुमार सदाको २ वर्षीया छोरी रागिनी सदा रहेकी छन्। गम्भीर घाइते भएकी उनलाई उपचारका लागि जिल्ला अस्पताल उदयपुर पठाइएकोमा अस्पतालमा मृत्यु भएको हो। यस्तै घाइते हुनेमा ७० वर्षीया कन्नि सदा रहेकी छन्। उनको जिल्ला अस्पताल उदयपुरमा उपचार भइरहेको छ।
शुक्रबार बिहान त्रियुगा नगरपालिका–११ फिल्म हल नजिक मदन भण्डारी लोकमार्गमा आँखा अस्पतालबाट मेनचोकतर्फ आउँदै को.प्र.०५–००१ च ०१९० नम्बरको पिकअपमा सोही दिशाबाट आउँदै गरेको को.प्र.०५–००१ ह ०८७६ नम्बरको सिटी सफारी पछाडिबाट ठोकिएर दुर्घटना भएको हो।
घटनापछि दुवै सवारीसाधन र चालक नियन्त्रणमा रहेका छन्। सिटी सफारी चालकले मादक पदार्थ सेवन गरेको र आवश्यक कागजात साथमा नभएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ। घटनाबारे थप अनुसन्धान भईरहेको छ।