— ‘खल्ती’को आधिकारिक कर्मचारी हुँ भन्दै फोन गरेर विभिन्न व्यक्तिको बैंक तथा वालेट खाताबाट रकम चोरी गर्ने आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा रौतहट ईशनाथ नगरपालिका–३ का २३ वर्षीय सुभमकुमार झा, बारा सिम्रौनगढ नगरपालिका–१० का २० वर्षीय अनिकेत यादव, रौतहट ईशनाथ नगरपालिका–३ का २२ वर्षीय पवनकुमार चौधरी र रौतहट गौर नगरपालिका–१ का २१ वर्षीय रिसी गंगा रहेका भक्तपुर प्रहरीका सूचना अधिकारी एवं डीएसपी दीपककुमार कार्कीले जानकारी दिए ।
जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार उनीहरूले विभिन्न मोबाइल नम्बरबाट फोन गरी आफूलाई खल्तीको आधिकारिक कर्मचारी भएको बताउने गरेका थिए। त्यसपछि सेवाग्राहीलाई स्क्रिन सेयर गर्न र ओटीपी कोड दिन लगाएर बैंक तथा डिजिटल वालेट खातामा अनधिकृत पहुँच पुर्याई रकम अन्य व्यक्तिको खातामा स्थानान्तरण गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
प्रहरीले उनीहरूलाई असोज २१ गते ललितपुर महानगरपालिका–२८ हात्तीवनस्थित मेरो सिटी अपार्टमेन्टको १३औँ तलाको कोठा नम्बर टीई/१३०५ बाट पक्राउ गरेको जनाएको छ ।
प्रहरीले उनीहरूको साथबाट दुई थान नयाँ मोटरसाइकल, मोबाइल फोन र गाँजासमेत बरामद गरेको जनाएको छ ।
ads/1440x233offers26-fe-08102026012847.jpg
पक्राउ परेका चारै जनालाई असोज २२ गते अनलाइन ठगी तथा लागूऔषधसम्बन्धी मुद्दामा भक्तपुर जिल्ला अदालतमा उपस्थित गराई पाँच दिनको म्याद थप गरी घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।