— नेपाल विद्युत् प्राधिकरणले ‘अनलाइन’बाट बिजुलीको बिल तिर्ने ग्राहकलाई थप सुविधा दिने निर्णय गरेको छ । विद्युत् प्राधिकरण सञ्चालक समिति सदस्य अंशुकिरण शाहीका अनुसार ‘डिजिटल’ माध्यमबाट विद्युत् महसुल तिर्ने अभ्यासलाई प्रोत्साहित गर्न उपभोक्तालाई थप सुविधा दिने निर्णय भएको हो ।
विद्युत् प्राधिकरणले घरेलु उपभोक्ताहरूका लागि ‘स्मार्ट पे रिवार्ड’ कार्यक्रम ल्याएको छ । यसअन्तर्गत अब अनलाइनमार्फत विद्युत् महसुल भुक्तानी गर्दा विद्यमान २ प्रतिशत छुट सुविधासँगै थप ०.५ प्रतिशत स्मार्ट पे रिवार्ड पाउने सञ्चालक समिति सदस्य शाहीले बताए ।
उनका अनुसार अब डिजिटल भुक्तानी गर्ने ग्राहकले कुल दुई दशमलव पाँच प्रतिशत छुट प्राप्त गर्नेछन् । पहिलो चरणमा ६ महिनाका लागि ल्याइएको यस कार्यक्रमले डिजिटल भुक्तानीलाई अझ सहज र प्रोत्साहनमूलक बनाउने उनको भनाइ छ । प्राधिकरणले सहज अनलाइन भुक्तानीबाट समयको बचतका साथै थप सुविधाको लाभ हुने भन्दै विद्युत् महसुल अनलाइनबाट तिरेर थप सुविधाको लाभ लिन आह्वान गरेको छ ।
डिजिटल माध्यमबाट विद्युत् महसुल तिर्न ऊर्जामन्त्री श्रेष्ठको अपिल
यसैगरी ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले डिजिटल माध्यमबाट विद्युत् महसुल तिर्न अपिल गरेका छन् । अहिलेको डिजिटल युगमा अझै पनि ७३ प्रतिशत नागरिकले भौतिक रूपमा ‘काउन्टर’मा गएर महसुस तिर्ने गरेको तथ्यांक प्रस्तुत गर्दै मन्त्री श्रेष्ठले यो अवस्थालाई सबै मिलेर परिवर्तन गर्नुपर्नेमा जोड दिए । यसका लागि सचेत नागरिकको सहयोगको खाँचो रहेको उनले बताए ।
डिजिटल भुक्तानीले नागरिकको समय र आवतजावतको खर्च बचत हुने, नगद कारोबार घट्दा वित्तीय पारदर्शिता र सुरक्षा बढ्ने मन्त्री श्रेष्ठको भनाइ छ । साथै, काउन्टर सञ्चालनमा लाग्ने स्रोत र जनशक्तिलाई अन्य आवश्यक ग्राहक सेवामा सदुपयोग गर्न सकिने उनले धारणा राखे ।