: चाँगुनारायण–२ दुवाकोटस्थित किराना पसल सञ्चालक जितबहादुर कार्कीलाई कुटपिट गरी सुनको सिक्री लुटेर फरार भएका पाँच जना पक्राउ परेका छन्।
पक्राउ पर्ने सबैजना एकै ठाउँका हुन्। जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी दिपककुमार कार्कीले दिएको जानकारी अनुसार उनीहरूको स्थायी ठेगाना काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका वडा नम्बर १ रहेको छ। पक्राउ पर्नेमा २५ वर्षीय सुदिप लामा, ३२ वर्षीय कर्णबहादुर तामाङ, २१ वर्षीय कुमार तामाङ, १९ वर्षीय विजय तामाङ र ३२ वर्षीय केनामसिंह तामाङ रहेका छन्।
प्रहरी प्रभाग दुवाकोटका प्रमुख खिलबहादुर दुलालका अनुसार मंगलबार राति पसले कार्की लुटपाटमा परेका थिए। प्रहरीले हुलिया र उनीहरूले प्रयोग गरेको मोटरसाइकलको आधारमा खोजतलास गर्ने क्रममा बुधबार बिहान करिब ३ बजे पक्राउ गर्न सफल भएको हो।
लुटपाटमा प्रयोग भएको बा ९१ प १२०७ नम्बरको २०० एनएस पल्सर र प्र.३–०२–००१ प ४६९२ नम्बरको २२० पल्सर मोटरसाइकलसमेत प्रहरीले बरामद गरेको बताइएको छ।
उनीहरूलाई चोरी तथा डाँका सम्बन्धी कसुरमा जिल्ला प्रहरी बृत्त थिमिले अनुसन्धान अघि बढाएको छ। बिहीबार भक्तपुर जिल्ला अदालतमा पेस गरी सात दिनको म्याद थप गरेर अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी बृत्त थिमिका प्रमुख निशान थापाले बताएका छन्।