: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीका पूर्वसभापति शेरबहादुर देउवाको अनुपस्थितिले आफूहरूलाई नमिठो लागेको बताएका छन्।
कांग्रेसको १५औँ महाधिवेशनको बन्द सत्रमा बोल्दै थापाले देउवाले लामो समय पार्टीमा योगदान दिएको स्मरण गर्दै उनको अनुपस्थितिले आफूहरूलाई नरमाइलो लागेको बताएका हुन्।
‘यो पार्टी तपाईं-हामी सबै मिलेर बनाएका हौं। श्रद्धेय अध्यक्ष शेरबहादुर देउवाले यो पार्टीमा लामो समय बिताउनुभएको छ, बनाउनुभएको छ। अरूले पनि ठूलो योगदान गरेका छन्,’ उनले भने, ‘हामीलाई मिठो लागेको छैन। आज मञ्चमा दाइहरू पनि हुनुपर्थ्यो, भोलि पनि हामी जोडेर जान चाहन्छौँ। त्यसैले अब अरू कुरा छाडिदिनुस्।’
थापाले कांग्रेसको महाधिवेशनसँग जोडिएको विषयमा सर्वोच्च अदालतमा पटक-पटक निवेदन जाने क्रम रोक्न पनि आग्रह गरे। सर्वोच्च अदालतले कांग्रेसका विषयमा दायर निवेदनहरू दरपीठ गरिरहेको उल्लेख गर्दै उनले अदालत धाउने कामले समय मात्र बर्बाद हुने बताए।
‘सर्वोच्च अदालतले कांग्रेसको विषयमा अर्को निवेदन पनि दरपीठ गरिदियो। सर्वोच्चले पटक-पटक पर्दैन भनिरहेको छ। त्यसैले अदालत धाउने, अदालत जाने काम नगर्नुस्। यसले समयको बर्बादी मात्र गर्छ,’ उनले भने।
पार्टीको विधानकै प्रक्रियाअनुसार विशेष महाधिवेशनतर्फ अघि बढेर आफूहरू यहाँसम्म आइपुगेको थापाको भनाइ थियो। उनले यो विषय राजनीतिक भएकाले राजनीतिक रूपमै समाधान खोज्न नेताहरूलाई आग्रह गरे।
‘पार्टीको विधानले विशेष महाधिवेशनतर्फ डोर्याएको हो। हामी त्यहीँबाट यहाँ आएका हौँ। म नेताहरूलाई भन्न चाहन्छु, यो राजनीतिक कुरा हो,’ उनले भने।
सर्वोच्च अदालतले फैसला गरे आफू त्यसलाई स्वीकार गरेर अघि बढ्ने बताउँदै थापाले अब अदालतको विषयलाई यहीँ अन्त्य गर्न आग्रह गरे। ‘यदि सर्वोच्च अदालतले फैसला गर्छ भने जय नेपाल भनेर म झोला बोक्थेँ। अदालत फेरि जाँदैनथेँ। झोला बोकेर बरु साथीहरूसँग आउँथेँ,’ उनले भने।
उनले कांग्रेसभित्रको यो विवादलाई अब थप नलम्ब्याउन आग्रह गर्दै ‘यो च्याप्टर बन्द गरौँ’ भने। पार्टीलाई अघि बढाउने काममा केन्द्रित हुनुपर्ने उनको जोड थियो।