। मलेसियाले आगामी नोभेम्बर ५ देखि नेपालबाट नयाँ प्रणाली मार्फत श्रमिक लैजाने जनाएको छ ।
मलेसियाले ‘फरेन वर्कर सेन्ट्रलाइज्ड म्यानेजमेन्ट सिस्टम’ (एफडब्लुसीएमएस) मार्फत श्रमिक लैजाने अन्तिम मिति आगामी ५ नोभेम्बर २०२६ भनेको छ ।
मलेसिया सरकारका लागि विदेशी श्रमिक भर्तीसम्बन्धी प्रणाली सञ्चालन गर्दै आएको बेस्टिनेट एसडिएन बीएचडीले ६ अक्टोबरमा ‘मेमो’ जारी गर्दै नेपालका लागि ५ नोभेम्बर २०२६ देखि कार्यान्वयनमा आउने उल्लेख छ ।
बेस्टिनेटले मेडिकल सेन्टर र म्यानपावर एजेन्सीहरूलाई सूचना जारी गर्दै मलेसियाको मानव संसाधन मन्त्रालयको पत्र अनुसार अन्तिम मिति तय गरेको जनाएको छ ।
एफडब्लूसीएमएसले नेपालका २५ वटा प्रिन्सिपल रिक्रुटमेन्ट एजेन्सी (पीआरए) र २ सय ५० वटा एसोसिएट रिक्रुटमेन्ट एजेन्सी (एआरए) मार्फत मात्रै श्रमिक लैजाने पाउने गरी सूचीकृत गरेको थियो । ती एजेन्सी मार्फत ५ नोभेम्बरदेखि श्रमिक पठाउने गरी अन्तिम मिति तोकिएको पत्रमा उल्लेख छ ।
मेमो अनुसार नेपालबाट श्रमिक भर्तीका लागि २५ वटा प्रिन्सिपल रिक्रुटमेन्ट एजेन्सी र तीसँग आबद्ध २ सय ५० वटा एसोसिएट रिक्रुटमेन्ट एजेन्सी गरी २ सय ७५ एजेन्सीको संरचनाबाट प्रक्रिया अघि बढ्ने भएको हो । बेस्टिनेटले नयाँ व्यवस्था अनुसार २५ वटा पीआरएबाट नयाँ बायोमेडिकल दर्ता सुरु हुने जनाएको छ ।
मलेसियाको मानव संसाधन मन्त्रालयको पत्र आधार बनाएर बेस्टिनेटले जारी गरेको मेमोमा विद्यमान भर्ती व्यवस्थाबाट पीआरए र एआरए प्रक्रियामा संक्रमणका लागि आवश्यक तयारी र कटअफ मिति तोकिएको छ ।
पुरानो प्रणालीमा बायोमेडिकलको अन्तिम मिति
नयाँ व्यवस्था लागु हुनुअघि विद्यमान प्रणालीबाट हुने बायोमेडिकल दर्ताका लागि आगामी १५ अक्टोबरलाई अन्तिम मिति तोकिएको छ ।
बेस्टिनेटका अनुसार १५ अक्टोबरसम्म श्रमिकको बायोमेडिकल दर्ता सफलतापूर्वक एफडब्लूसीएमएसमा सबमिट भएर रेकर्ड भएको हुनुपर्ने छ । त्यसपछि पुरानो व्यवस्था अन्तर्गत नयाँ बायोमेडिकल दर्ता गर्न पाइने छैन ।
यद्यपि, पुरानो व्यवस्था अन्तर्गत बायोमेडिकल दर्ता बन्द हुनु भनेको सेवा नै अनिश्चितकालका लागि बन्द हुनु नभएको बेस्टिनेटले स्पष्ट पारेको छ ।
नयाँ व्यवस्था अनुसार आधिकारिक रूपमा जारी गरिने प्रणालीगत निर्देशन बमोजिम बायोमेडिकल दर्ता र प्रक्रिया अघि बढ्ने मेमोमा उल्लेख छ ।
३१ अक्टोबरसम्म भीडीआरका लागि प्रक्रिया पूरा गर्नुपर्ने
बेस्टिनेटले विद्यमान व्यवस्था अन्तर्गत प्रक्रियामा रहेका श्रमिकका हकमा पनि समयमै काम सम्पन्न गर्न मेडिकल सेन्टर र भर्ती एजेन्सीहरूलाई भनेको छ ।
मेमो अनुसार मेडिकल सेन्टरहरूले पहिचान वा बायोमेट्रिक दर्ता, स्वास्थ्य परीक्षण, प्रयोगशाला रिपोर्ट, पुन: परीक्षण, मेडिकल रिभ्यु वा विवरण सच्याउन बाँकी रहेका श्रमिकको अभिलेख पहिचान गरी प्रक्रिया पूरा गर्नुपर्ने छ ।
त्यस्ता योग्य श्रमिकले आगामी ३१ अक्टोबरसम्म भीडीआर (भिसा विथ रेफरेन्स) आवेदन प्रक्रियामा जान सक्ने गरी मेडिकल परीक्षण तथा नतिजा पेस गर्न बेस्टिनेटले भनेको छ ।
२६ अक्टोबरमा पीआरए प्रणाली सम्बन्धी तालिम
नयाँ प्रणाली कार्यान्वयन अघि पीआरए प्रणाली दर्ता र एकाउन्ट सक्रिय गर्ने प्रक्रिया सुरु हुनेछ । बेस्टिनेटले २६ अक्टोबरमा पीआरए प्रणाली दर्ता तथा एकाउन्ट एक्टिभेसन सम्बन्धी तालिम राखेको छ ।
तालिममा कागजात तयारी, दर्ताका आवश्यकता र प्रणाली सञ्चालन सम्बन्धी प्रक्रिया समेटिने छ । त्यसपछि ४ नोभेम्बरमा पीआरए दर्ताका लागि आधिकारिक लिंक उपलब्ध गराइने र त्यसबाट प्रणाली दर्ता तथा एकाउन्ट एक्टिभेसन प्रक्रिया अघि बढ्ने मेमोमा उल्लेख छ ।
यससँगै ५ नोभेम्बरदेखि नयाँ पीआरए/एआरए व्यवस्था अन्तर्गत नेपालबाट मलेसिया जाने श्रमिकको भर्ती प्रक्रिया अघि बढ्ने छ ।
बेस्टिनेटले भने नयाँ प्रणालीमा आफ्नो भूमिका प्रणाली सञ्चालन, आवश्यक प्राविधिक व्यवस्था, प्राविधिक सहयोग र तालिममा सीमित हुने स्पष्ट पारेको छ ।
भर्ती एजेन्सीको स्वीकृति वा मान्यता दिने तथा भीडीआर आवेदन सम्बन्धी निर्णय गर्ने अधिकार सम्बन्धित सरकारी निकायमै रहने उसको भनाइ छ ।
त्यसैले बेस्टिनेटको प्रणालीमा दर्ता हुनु वा एकाउन्ट सक्रिय हुनु मात्रै कुनै एजेन्सीलाई सरकारी रूपमा स्वीकृत वा नियुक्त गरिएको मानिने छैन ।
मेडिकल सेन्टर र भर्ती एजेन्सीहरूलाई संक्रमणका क्रममा पुराना श्रमिकको विवरण सुरक्षित राख्न, दोहोरो दर्ता नगर्न तथा केवल संक्रमणकै कारण पुन: मेडिकल परीक्षण वा अतिरिक्त शुल्क नलिन पनि बेस्टिनेटले भनेको छ ।
नयाँ व्यवस्था अनुसार श्रमिक स्थानान्तरण, पुन: दर्ता, पुन: मेडिकल परीक्षण वा अतिरिक्त भुक्तानी आवश्यक भए सम्बन्धित आधिकारिक निर्देशन अनुसार मात्रै गर्नुपर्ने छ ।
बेस्टिनेटले मलेसिया सरकारका लागि एफडब्लूसीएमएस सञ्चालन तथा प्राविधिक सहयोग गर्दै आएको जनाएको छ । नयाँ पीआरए/एआरए प्रणालीमा पनि यही प्रणाली मार्फत संक्रमण व्यवस्थापन र प्राविधिक सहजीकरण गर्ने उसको मेमोमा उल्लेख छ ।
नेपालका म्यानपावरलाई एफडब्लूसीएमएसमा आबद्ध गराएको विषयमा नेपालले आपत्ति जनाउँदै कूटनीतिक नोट पठाएको छ । कुनै पनि एकाधिकार तथा स्वस्थ प्रतिस्पर्धा विपरीत हुने कुनै पनि कार्य मान्य नहुने भन्दै नेपालले दुई देशबीचको श्रम सम्झौता अनुसार अगाडि बढ्नुपर्ने अडान राखेको छ । तर, मलेसियाले भने आफ्नो मन्त्रिपरिषद् अनुसार गरिएको निर्णय भन्दै कार्यान्वय अघि बढाएको छ ।