मुख्य समाचार
एमालेले सार्वजनिक रूपमा पार्टी नीति, निर्णय र नेतृत्वको विरोध तथा गुटबन्दी गर्नेलाई कारबाही गर्ने निर्णय
एमालेले सार्वजनिक रूपमा पार्टी नीति, निर्णय र नेतृत्वको विरोध तथा गुटबन्दी गर्नेलाई कारबाही गर्ने निर्णय

: एमालेले सार्वजनिक रूपमा पार्टी नीति, निर्णय र नेतृत्वको विरोध तथा गुटबन्दी गर्नेलाई कारबाही गर्ने निर्णय गरेको छ। पार्टीभित्र बढ्दै गएको स्वेच्छाचारिता, अराजकता र अनुशासनहीनताको अन्त्यका लागि हालै सम्पन्न केन्द्रीय कमिटीको बैठकलाई ‘कटअफ बैठक’ मानिएको एमालेले जनाएको छ।

अध्यक्ष केपी शर्मा ओलीद्वारा जारी अन्तरपार्टी निर्देशन (अपानि) मा पार्टीमा अनुशासन पुनस्र्थापना र संगठनलाई एकताबद्ध तथा सुदृढ बनाउने उल्लेख छ। विगतमा भएका गतिविधिलाई भने यहीँबाट टुंग्याउँदै अबदेखि हुने गतिविधिमा कडाइ गर्ने नीति लिइएको ओलीको निर्देशनमा उल्लेख छ।

‘पार्टीको नीति, निर्णय र नेतृत्वविरुद्ध सार्वजनिक रूपमा आलोचना, विरोध, निन्दा वा अपमान गर्ने, गुटबन्दी गर्ने तथा अराजक र अनुशासनहीन गतिविधि गर्ने व्यक्तिमाथि स्पष्टीकरण सोधेर कारबाही गरिनेछ,’ अपानिमा भनिएको छ। यस्ता गतिविधिमा कारबाही गर्ने अधिकार केन्द्रीय कमिटीले संगठन विभागलाई दिएको अपानिमा उल्लेख छ। पार्टीभित्र अनुशासनहीनता नियन्त्रण गर्न केन्द्रीय अनुशासन आयोगलाई सक्रिय बनाउने र आयोगलाई काम गर्न कुनै व्यवधान आए केन्द्रीय कमिटीले आवश्यक निर्णय गरी बाधा–अड्काउ फुकाउने पनि उल्लेख छ।

विगतका गतिविधिलाई लिएर तत्काल कारबाहीको बाटो अवलम्बन नगरिने तर आगामी दिनमा भने सशक्त रूपमा कदम चालिने अपानिमा उल्लेख छ। अपानिमा भनिएको छ, ‘आजसम्म जो–जसले जे–जे बोल्नुभयो वा जेसुकै गर्नुभयो, आजसम्मको छोडिदिने। हालै सम्पन्न केन्द्रीय कमिटीको चालू बैठकलाई कटअफ बैठक मान्ने।’ तर, त्यसपछि पार्टी नीति, निर्णय र नेतृत्वविरुद्ध सार्वजनिक रूपमा विरोध वा आलोचना गर्ने तथा गुटबन्दी र अनुशासनहीन गतिविधि गर्नेलाई कारबाहीको दायरामा ल्याउने नीति एमालेको छ।

ओलीको निष्कर्ष– हारका पछाडि धेरै कारण

०८२ फागुन २१ को निर्वाचनमा भएको लज्जास्पद पराजयमा आफ्नो मात्रै जिम्मेवारी नरहेको अध्यक्ष ओलीको दाबी छ। उनले निर्वाचनमा पार्टीले व्यहोरेको पराजयको जिम्मेवारी कुनै एक व्यक्ति वा नेतृत्वमाथि मात्रै थोपर्न नहुने अपानिमा निर्देशन दिएका छन्।

निर्वाचन पराजयको समीक्षा गर्दै ओलीले आत्मसमीक्षा नेतृत्व विस्थापन गर्ने अभ्यास नभई नेतृत्वलाई अझ जिम्मेवार बनाउने प्रक्रिया भएको अपानिमा उल्लेख गरेका छन्। महाभारतको प्रसंग उल्लेख गर्दै ओलीले कुनै ठूलो पराजय वा युद्धको कारण एउटा व्यक्तिमात्र हुन नसक्ने तर्क गरेका छन्। अपानिमा ओलीले भनेका छन्, ‘महाभारतमा जस्तै एमालेको पराजय पनि अहंकार, मौनता, गलत सल्लाह, असन्तुलित महत्वाकांक्षा, अपमान र समयमा संवाद हुन नसक्नुजस्ता धेरै कारणको परिणाम हो।’

ओलीले पराजयको दोष एक्लाएक्लै कसैमाथि थोपर्ने प्रवृत्तिबाट जोगिन पनि आग्रह गरेका छन्। ‘कसैले सबै दोष अध्यक्षको भन्छ भने ऊ सजिलो सिकार खोजिरहेको छ। कसैले सबै दोष कार्यकर्ताको भन्छ भने ऊ जिम्मेवारीबाट भागिरहेको छ। कसैले सबै दोष बाहिरी शक्तिको भन्छ भने ऊ आफ्नै कमजोरी ढाकिरहेको छ,’ ओलीले अपानिमा भनेका छन्।

उनले पार्टीमा उठेको पुनर्गठनको बहसलाई पनि खारेज गरिदिएका छन्। निर्वाचनमा पराजय भएपछि निर्वाचन समीक्षा र पार्टी पुनर्गठनको कार्यदल नै बनेर प्रतिवेदन तयार गरियो। प्रतिवेदनमा कार्यदलमा विवाद भयो र दुई वटा प्रतिवेदन आए। ती दुवै प्रतिवेदनलाई काभ्रेको बल्थलीमा आवासीय बैठक नै बसेर साझा बनाउने प्रयास भयो, तर सम्भव नभएपछि गएको केन्द्रीय समितिको बैठकबाट पुनर्गठनको बहसलाई अध्यक्ष ओलीले अघि बढ्न दिएनन् र हाल यो पुनर्गठनको विषय स्थगन नै भएको छ। ओलीले फागुन २१ को निर्वाचनमा पराजय हुनुका चार कारण रहेको अपानिमा उल्लेख गरेका छन्।

भूराजनीतिक स्वार्थ, डिजिटल चरित्रहत्या, आरोपको एकतर्फी प्रवाह, पुराना दलविरोधी भाष्य निर्माण तथा मूल नेतृत्वमाथि केन्द्रित प्रहारलाई उनले बाह्य आक्रमणका रूपमा व्याख्या गरेका छन्।

बेरोजगारी, महँगी, भ्रष्टाचारप्रतिको जनआक्रोश तथा सेवा प्रवाहमा देखिएको प्रशासनिक कमजोरीले पनि निर्वाचनमा प्रभाव पारेको ओलीको निष्कर्ष छ। जनतासँगको दूरी, युवासँग संवादको कमी, फितलो सञ्चार, संगठनात्मक सुस्ती, आन्तरिक असन्तोष व्यवस्थापनको अभाव र शासनशैलीका त्रुटि पार्टीको कमजोरीका रूपमा औंल्याइएको छ।

भदौपछिको भावनात्मक लहर, नयाँ शक्तिप्रतिको आकर्षण र पुराना दलहरूलाई सजाय दिने जनभावनाले पनि निर्वाचन परिणाम प्रभावित गरेको ओलीको विश्लेषण छ। ओलीले निर्वाचनमा प्राप्त हारलाई अध्यक्षको व्यक्तिगत असफलताका रूपमा मात्र बुझ्न नहुने बताएका छन्। अन्तरपार्टी निर्देशनमा ओलीको भनाइ उद्धृत गर्दै भनिएको छ, ‘हार अध्यक्षको व्यक्तिगत असफलता होइन। यो सिंगो पार्टी संरचना, समयको मनोविज्ञान, बाह्य वातावरण, डिजिटल आक्रमण, चुनावी अवस्था र हाम्रा संगठनात्मक कमजोरीहरूको संयुक्त परिणाम हो।’

अध्यक्षका रूपमा आफ्नो भागको जिम्मेवारी स्वीकार गर्दै ओलीले वर्तमान अवस्थामा एकअन्तर्गत दोष दिने वा जिम्मेवारीबाट भाग्ने समय नभएको बताएका छन्। ‘म अध्यक्षका रूपमा आफ्नो भागको जिम्मेवारी स्वीकार गर्छु,’ ओलीले भनेका छन्, ‘तर यो समय भाग्ने र दोषारोपणमा अल्झिने समय होइन, एकताबद्ध भएर नेकपा (एमाले)को प्रतिरक्षा प्रणाली पुनर्निर्माण गर्ने समय हो।’ ओलीले पार्टीको पराजयको सही निदान नगरी गरिने उपचारले समस्या समाधान नगर्ने स्पष्ट पारेका छन्। उनले अपानिमा भनेका छन्, ‘गलत निदानबाट दिइने औषधि पनि गलत हुन्छ। निर्वाचन पराजयलाई शिक्षामा, शिक्षालाई रूपान्तरणमा र रूपान्तरणलाई पार्टीको पुनर्जागरणमा बदल्नुपर्छ।’

पार्टीभित्र नेतृत्व परिवर्तनको बहस भइरहेका बेला ओलीले आत्मसमीक्षालाई नेतृत्व विस्थापनको हतियारका रूपमा नलिन आग्रह गरेका छन्। बरु आत्मसमीक्षाबाट कमजोरी पहिचान गरी नेतृत्वलाई थप जिम्मेवार बनाउने र पार्टीलाई पुनर्गठन तथा पुनर्जागरणको दिशामा अघि बढाउने उनको भनाइ छ।

अपानिमा वरिष्ठ नेताको व्यवस्था एमालेले जारी गरेको अपानिमा वरिष्ठ नेताको व्यवस्था गरिएको छ। हालै सम्पन्न केन्द्रीय कमिटीको बैठकले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई विधानमा नै नभएको वरिष्ठ नेता बनाएको थियो। केन्द्रीय कमिटीले विधानको धारा १०५ बमोजिम बाधा–अड्काउ फुकाउने अधिकार तथा धारा १३(क) बमोजिम दुई महाधिवेशनबीचको अवधिमा राष्ट्रिय महाधिवेशनप्रति उत्तरदायी भएर पार्टीको सर्वोच्च संस्थाको हैसियतले निर्णय गर्न पाउने अधिकार प्रयोग गरी भण्डारीलाई वरिष्ठ नेताको जिम्मेवारी दिएको अपानिमा उल्लेख छ।

अपानिमा विधानको धारा १३(ख) मा संशोधन गर्दै राष्ट्रिय महाधिवेशनले अध्यक्ष, वरिष्ठ नेता, पाँच उपाध्यक्ष, महासचिव, तीन उपमहासचिव र नौ सचिवसहित ३०२ सदस्यीय केन्द्रीय कमिटीको निर्वाचन गर्नेछ भनी उल्लेख छ।

वरिष्ठ नेताको काम, कर्तव्य र अधिकार पनि अपानिमा नै तय गरिएको छ। वरिष्ठ नेताले अध्यक्षपछिको दोस्रो वरीयतामा रही केन्द्रीय कमिटी, पोलिटब्युरो, स्थायी कमिटी र सचिवालयका बैठकमा भाग लिन पाउने छन्। अध्यक्षलाई सहयोग गर्ने र पार्टीलाई सही एवं समयोचित निर्णय गर्न योगदान गर्ने अधिकार पनि दिइएको छ। वरिष्ठ नेताको हैसियतले पार्टीको सिद्धान्त, कार्यक्रम, नीति र प्रतिष्ठाको पक्षपोषण गर्ने तथा केन्द्रीय कमिटी, पोलिटब्युरो, स्थायी कमिटी र सचिवालयले तोकेका कार्यहरू गर्ने अपानिमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: मकवानपुरमा कारले ठक्कर दिएर २ मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन्। भीमफेदी गाउँपालिका–६, धानगोदामस्थित भीमफेदी–कुलेखानी–काठमाडौं सडकखण्डमा कारको ठक्करपछि भएको दुर्घटनामा मोटरसाइकल चालक भारत घर भई काठमाडौं बस्दै आएका ३२ वर्षीय मुन्ना आलाम, सोही मोटरसाइकलमा पछाडि सवार ३१ वर्षीय चुन्नु आलम र अर्को मोटरसाइकल चालक २५ वर्षीय ...
। नारायणी नदीमा आएको बाढीका कारण चितवनतर्फ नदीकिनारमा बनाइएको एक हजार १५० मिटर तटबन्धमा क्षति पुगेको छ । भरतपुर महानगरपालिका क्षेत्रमा नारायणी नदी पुलबाट पश्चिमतर्फ गोलाघाटसम्मको ३५ किलोमिटरमध्ये २० किलोमिटरमा तटबन्ध गरिएको छ । यसमध्ये एक किलोमिटर १५० मिटर तटबन्धमा बाढीले असर पुर्याएको हो । सिँचाइ तथा जलस्रोत आयोजना भरतपुरका सूचना अधिकारी इन्जिनियर सागर पौडेलका अनुसार ...
। उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आगामी प्रदेश सभा निर्वाचनपछि बागमती प्रदेशमा आफ्नो पार्टीको सरकार बन्ने दाबी गरेका छन् । बागमती प्रदेशमा सरकार गठन गर्ने आधार तयार भइसकेको दाबी गर्दै उनले उज्यालो नेपाल पार्टी प्रदेशमा मात्रै सिमित नरही संघीय सरकारको नेतृत्व गर्ने उद्देश्यसहित अघि बढेको बताए । मंगलबार हेटौंडामा आयोजित कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा सहभागी ...
। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले भोटेकोशी–त्रिशूली बाढीबाट क्षतिग्रस्त संरचना पुनर्निर्माणका लागि दशैं अघि नै ठेक्का आह्वान गर्ने र विस्थापितलाई पुनर्स्थापनाको प्रयास गर्ने बताएका छन् । साथै उनले प्राकृतिक विपद्ले क्षति पुर्याउन नसक्ने गरी पूर्वाधार विकास गर्न विद्यमान कानुन संशोधन प्रक्रिया अघि बढाइएको जानकारी समेत दिए । ‘अहिलेको परिपाटी ठ्याक्कै उल्टो छ, अब मेजर पाराडम सिफ्ट ...
। प्रस्तावित १३ राजदूतको संसदीय सुनुवाइ २६ देखि २८ असोजमा हुने भएको छ । समिति सचिवालयले २६, २७ र २८ असोजमा सुनुवाइ गर्ने मिति आज बसेको संसदीय सुनुवाइ समितिमा प्रस्ताव राखेका थियो । जसलाई समितिले स्वीकार गरेको हो । प्रस्तावित १३ वटा राजदूतहरू विरुद्ध ७ वटा उजुरी परेको छ । २ वटा सबै विरुद्ध परेको छ भने ...