: गत भदौ १० भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावितहरुका लागि सरकारले अस्थायी आवास निर्माणको काम अगाडि बढाउने निर्णय गरेको छ।
विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा मंगलबार बसेको बैठकले विभिन्न साझेदार संघसंस्था तथा स्थानीय तहसँगको सहकार्यमा तत्काल अस्थायी आवास निर्माणको काम अगाडि बढाउने निर्णय गरेको हो।
बैठकले पुनर्निर्माणमा सहयोग गर्न चाहने विकास साझेदार संघसंस्थाहरूलाई आफूले कुन पालिकामा कति संख्यामा घर बनाइदिने हो, त्यसको जानकारी प्राधिकरणलाई गराउन आह्वान गरेको छ।
बैठकले सहयोगी संस्थाहरूले नेपाल सरकारले उपलब्ध गराएको जग्गामा तोकिएको मापदण्डमा रहेर घर निर्माण गर्नुपर्ने निर्णय गरेको छ। प्रभावित क्षेत्रका वास्तविक लाभग्राही परिवारको विवरण संकलन गरी कति संख्यामा घर बनाउनुपर्ने हो भन्ने कुराको यकिन गर्न स्थानीय तहलाई पत्राचार गर्ने निर्णयसमेत बैठकले गरेको छ।