। पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले तातोपानी नाका सञ्चालन गर्ने बारेमा चीनसँग कुराकानी भइरहेको बताएका छन् ।
मंगलबार संसदीय विशेष समितिको बैठकमा बोल्दै मन्त्री लम्सालले यस्तो बताएका हुन् ।
उनले तातोपानी नाका पुन: सञ्चालनमा ल्याउने एवं रसुवागढी नाका सञ्चालनमा ल्याउने बारेमा सरकार निरन्तर प्रयत्नशील रहेको जानकारी दिए ।
मन्त्री लम्सालले अहिले तातोपानी नाकामा नेपालतर्फ कुनै समस्या नरहेको र नेपालतर्फको बाटो पनि सञ्चालनमा ल्याइसकिएको जानकारी दिए ।
तर यसका लागि चिनियाँ पक्ष भने तयार नदेखिएको पनि उहाँले जानकारी दिए । ‘अहिले पनि हामी तयार नै छौँ । हाम्रा लागि त्यो नाका सञ्चालन गर्न कुनै कठिनाइ छैन,’ उनले भने, ‘चिनियाँ पक्षसँग पनि हामी नियमित संवादमा रहेका छौँ । रसुवागढी नाका कसरी खुलाउने भन्ने विषयमा हामी लागि रहेका छौँ ।’
ठूलो प्राकृतिक विपद् आइलागेकाले अहिले नै यी नाकाहरु सञ्चालनमा ल्याउन समस्या आए पनि सरकारले तत्काल सडक तथा पूर्वाधार निर्माण र पुन:स्थापनाका लागि भने काम गरिरहेको मन्त्री लम्सालले जानकारी दिए ।
मन्त्री लम्सालले रसुवागढी नाका चीनसँगको प्रमुख व्यापारिक नाका भएकाले यसलाई पुन: सञ्चालन गर्ने बारेमा पनि सरकारले योजना बनाइरहेको बताए ।
उनले त्यसका लागि आवश्यक पूर्वाधार निर्माणका काममा सरकार लागिपरेको जानकारी दिए ।