। कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरी र विश्व वन्यजन्तु कोष-अमेरिका तथा नेपालका प्रतिनिधिमण्डलबीच मन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको छ ।
आइतबार भएको भेटवार्तामा नेपालमा हालै गएको बाढीपहिरो, विपद्पछिको पुनर्निर्माण, जैविक विविधता संरक्षण, जलवायु उत्थानशीलता र मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनका विषयमा छलफल भएको हो ।
भेटका क्रममा विश्व वन्यजन्तु कोष–अमेरिकाकी प्रमुख कार्यकारी अधिकृत लोराले विपद्को यस कठिन परिस्थितिमा नेपाली जनता र सरकारसँग निरन्तर सहकार्य रहने प्रतिबद्धता व्यक्त गरिन् ।
उनले विपद्पछिको पुनर्निर्माणलाई विगतभन्दा दिगो, प्रकृतिमा आधारित र जलवायु उत्थानशील ढाँचामा अगाडि बढाउनुपर्नेमा जोड दिइन् । साथै, नेपालको आवश्यकता अनुसार अन्तर्राष्ट्रिय प्रविधि, ज्ञान र स्रोत परिचालनमा आफ्नो संस्थाले पूर्ण सहयोग गर्ने उनको भनाइ थियो ।
कृषिमन्त्री चौधरीले विपद्का बेला कोषले गरेको सहयोगप्रति आभार प्रकट गर्दै बाढीपहिरोका कारण कृषि भूमि र वन क्षेत्रमा पुगेको क्षति तथा पुनर्निर्माणका चुनौतीबारे प्रतिनिधिमण्डललाई जानकारी गराइन् ।
उनले पुनर्निर्माणसँगै दीर्घकालीन जलवायु तथा विपद् उत्थानशीलता विकासलाई प्राथमिकतामा राख्नुपर्ने बताइन् ।
छलफलमा मानव–वन्यजन्तु द्वन्द्व बढ्दै गएकोप्रति मन्त्रीले गम्भीर चासो व्यक्त गरेकी थिइन् । बाघको संख्या वृद्धिसँगै बढेको मानव–बाघ द्वन्द्व, जङ्गली हात्तीको समस्या र देशका करिब ५५ जिल्लामा देखिएको बाँदर आतंक नियन्त्रणका लागि आधुनिक प्रविधि र वैज्ञानिक व्यवस्थापन आवश्यक रहेको उनले औँल्याइन् ।
बाँदर व्यवस्थापनका लागि वन्ध्याकरण प्रविधि, हात्ती व्यवस्थापनका लागि विशेष परियोजना र मानवभक्षी बाघ नियन्त्रणका लागि विशेष संरक्षण क्षेत्र स्थापना गर्ने सम्भावनाबारे पनि बैठकमा छलफल भएको थियो ।
विश्व वन्यजन्तु कोष नेपालका प्रतिनिधिले नेपालमा पुनर्निर्माण, संरक्षण, पर्यटन, प्रकृतिमा आधारित समाधान र समुदायको उत्थानशीलताका लागि ठूलो लगानी आवश्यक रहेको बताएका थिए ।
यसका लागि विश्व बैंक, युरोपेली संघ लगायत विकास साझेदारहरूसँगको सहकार्य थप प्रभावकारी बनाइने उनीहरूले जानकारी दिए ।
सोही क्रममा विश्व वन्यजन्तु कोष पाकिस्तानका प्रतिनिधिले सन् २०२२ को बाढीपछि पाकिस्तानमा सञ्चालन गरिएका सिमसार पुनर्स्थापना र प्रकृतिमा आधारित समाधानका सफल अनुभव सुनाउँदै नेपालमा पनि स्थानीय आवश्यकता सुहाउँदो त्यस्तै कार्यक्रम लागु गर्न सकिने सुझाव दिएका थिए ।
हात्ती तथा मानव–हात्ती द्वन्द्व व्यवस्थापनका लागि ‘विश्वव्यापी वातावरण सुविधाको नवौं चरण’ लगायत अन्तर्राष्ट्रिय वातावरणीय तथा जलवायु वित्त परिचालन गर्न सकिने सम्भावनाबारे समेत बैठकमा छलफल भएको थियो ।
विश्व वन्यजन्तु कोष–अमेरिकाले नेपालको प्राथमिकताका आधारमा विश्वस्तरीय प्रविधि, ज्ञान र स्रोत परिचालनमा सहजीकरण गर्ने प्रतिबद्धता जनाएको छ ।
त्यस्तै प्रकृति संरक्षण, समुदायको उत्थानशीलता र दिगो आर्थिक विकास एकीकृत गर्दै आगामी दिनमा सहकार्य थप परिणाममुखी बनाउने विषयमा दुवै पक्षबीच सहमति जुटेको मन्त्रालयले जनाएको छ ।