: नेपाली कांग्रेसको १५औं महाधिवेशनमा सहभागी प्रतिनिधि तथा नेताहरूले वडादेखि केन्द्रसम्म ३५ वर्षमुनिका युवा, विज्ञ, श्रमिक र विविध जातीय क्लस्टरको बाक्लो सहभागिताले पार्टीमा नयाँ जोस र ऊर्जा थपिएको बताएका छन् ।
गगन थापा र विश्वप्रकाश शर्माजस्ता नयाँ पुस्ताको नेतृत्वले भविष्यका लागि आशा जगाएको र विदेशमा रहेका नेपालीसमेत समेटिएकाले महाधिवेशनलाई रूपान्तरण र एकताको ‘नवीन कांग्रेस’ निर्माण गर्ने अवसरका रूपमा लिएको उनीहरूको भनाइ छ । उनीहरूले निवर्तमान सभापति शेरबहादुर देउवाको अनुपस्थितिप्रति भने खिन्नता प्रकट गरेका छन् ।
रेनुका काउचा (प्रतिनिधिसभा सदस्य)
नयाँ भनिएको कांग्रेस हिजोको भन्दा फरक, नयाँ जोस र जाँगर बोकेको छ । वडादेखि केन्द्रीय तहसम्मै ३५ वर्षमुनिका युवाहरूको बाक्लो सहभागिता छ । युवाका साथै पेसागत विज्ञ, श्रमिक र विभिन्न जातीय क्लस्टरको प्रतिनिधित्वले पार्टीलाई अझ मजबुत बनाउनेछ । निवर्तमान सभापति शेरबहादुर देउवा महाधिवेशन उद्घाटनमा नआउँदा अलिकति निराशा त लाग्यो, उहाँको उपस्थिति भएको भए थप ऊर्जा मिल्ने थियो ।
रामहरि खतिवडा (नेता, नेपाली कांग्रेस)
नयाँ पुस्तालाई सम्मान गर्दै ३५ वर्षमुनिका युवाहरूलाई गाउँदेखि केन्द्रसम्म ल्याउने पद्धति विकास गरेका छौैं । बुद्धिजीवी र प्रवासमा बस्ने नेपालीहरूका लागि छुट्टै कोटा तय गरिएको छ ।
जनजाति, दलित, मधेसी, अल्पसंख्यक र पिछडिएका सबै वर्गको सहभागिताले यो असाध्यै समावेशी बनेको छ । हामी कुनै नेतालाई देवता वा राक्षस बनाउने पक्षमा छैनौं । पाँच पुस्ते इतिहास बोकेको पार्टीमा सबै नेताहरू पुनः एकै ठाउँमा उभिएर कांग्रेसलाई सबैको प्रिय बनाउन लाग्नु हुनेछ ।
दीपनकुमार श्रेष्ठ (केन्द्रीय सदस्यका उम्मेदवार)
यो १५औं महाधिवेशन रूपान्तरण र एकताको महाअभियान हो । कांग्रेसमा रहेका पाँच पुस्तालाई सँगै लिएर हिँड्ने लक्ष्य यसले बोकेको छ । यसपालि केन्द्रीय पदाधिकारी र सदस्यका रूपमा युवाहरू उल्लेख्य रूपमा सामेल भएकाले यो युवामैत्री महाधिवेशन बनेको छ । आगामी निर्वाचनमा पनि धेरैजसो युवाहरूकै बाहुल्य हुनेछ ।
अनन्तकुमार गौली (नेता, नेपाली कांग्रेस)
करिब सात हजार प्रतिनिधिको उपस्थिति देख्दा उत्साहजनक माहोल छ । विगतमा पाका नेता र उस्तै कार्यकर्ता मात्रै देखिन्थे भने अहिले गगन थापा र विश्वप्रकाश शर्माजस्ता नयाँ जोस–जाँगर भएका नेताहरूको नेतृत्वले देशको भविष्यका लागि राम्रो खाका कोरेको छ ।
लामो त्याग र तपस्या गर्नुभएका निवर्तमान सभापति शेरबहादुर देउवा पनि महाधिवेशनमा आइदिएको भए ’सुनमा सुगन्ध’ हुने थियो ।
सत्यराज भण्डारी (केन्द्रीय सदस्यका उम्मेदवार, बझाङ)
हामी एक वर्षदेखि नै ‘सच्चिने कि सकिने’ भन्दै रूपान्तरणको अभियानमा थियौं । तर, कांग्रेसले सत्ताका लागि एमालेसँग जुन गठबन्धन गर्यो, त्यसले जनतामा निराशा छाएको छ । अब पुराना कमी, कमजोरी सच्याएर नवीन कांग्रेस बनाउनुपर्छ । इतिहासको मात्रै धाक लगाएर पुग्दैन, अब सीधा जनतासँग जोडिने काम गर्नुपर्छ ।
चण्डीराज याङ्या (केन्द्रीय सदस्यका उम्मेदवार)
१४ र १५औं महाधिवेशनबीचको मुख्य भिन्नता नै युवाहरूको उत्साहजनक सहभागिता, जोस र ऊर्जा हो । यसपटक युवाका साथै विदेशमा रहेका नेपालीहरूका लागि छुट्टै क्लस्टर बनाएर केन्द्रीय सदस्यमा प्रतिस्पर्धा गर्ने व्यवस्था गरिएको छ, जुन यो महाधिवेशनले ल्याएको सबैभन्दा ठूलो र सकारात्मक परिवर्तन हो ।
प्रस्तुति : सागर घले/निमा योञ्जन