: झापामा प्रहरीले तास र लंगुरबुर्जा खेल्ने तथा खेलाउने ११ जनालाई पक्राउ गरेको छ। प्रहरीले मेचीनगरका छुट्टाछुट्टै स्थानबाट तास खेलिरहेका सात जना र लंगुरबुर्जा खेलिरहेका चार जनालाई पक्राउ गरेको हो।
इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा आइतबार मेचीनगर नगरपालिका–१० धुलाबारीस्थित ४५ वर्षीय जमिन राईले सञ्चालन गरेको सेकुवा कर्नरको पछाडि उत्तरपट्टि रहेको टिनको छानो भएको घरमा जुवातास खेल भइरहेको अवस्थामा छापा मारेको थियो ।
प्रहरीले उक्त घरमा खानतलासी गर्दा तास खेलिरहेको अवस्थामा सात जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा मेचीनगर–१० का किरण लम्साल, मेचीनगर–५ दोकानडाँडाका विशाल लावती, मेचीनगर–१० का हर्कराज राई, मेचीनगर–७ का प्रकाश लावती, मेचीनगर–३ का सागर बस्नेत, मेचीनगर–१० का मेदनी बराल र मेचीनगर–५ का शेखरनाथ भण्डारी रहेका छन्।
प्रहरीले उनीहरूको साथबाट ८ बुङ तास र नगद १ लाख ८ हजार ५२० रुपैयाँ बरामद गरेको प्रहरी कार्यालय झापाले जनाएको छ। त्यस्तै जिल्ला प्रहरी कार्यालय झापा र अस्थायी प्रहरी पोस्ट इटाभट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले मेचीनगर–८ स्थित इटाभट्टा चोकबाट प्रहरीले लंगुरबुर्जा (डाइस) खेल्ने चार जनालाई पक्राउ गरेको छ।
प्रहरीले सोमबार लंगुरबुर्जा खेलिरहेको अवस्थामा मेचीनगर–६ का चेतबहादुर लिम्बू र दीपक चौधरी, मेचीनगर–५ का सनम तामाङ तथा मेचीनगर–७ का जुगल भुजेललाई पक्राउ गरेको छ । उनीहरूको साथबाट नेपाली रुपैयाँ १८ हजार ५०, भारतीय रुपैयाँ २०० र डाइस बरामद भएको जनाइएको छ । पक्राउ परेका ११ माथि आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।