। बागमती प्रदेश सरकारले पछिल्लाे बाढीपहिरोबाट प्रभावित तथा जोखिमयुक्त बस्तीलाई सुरक्षित स्थानमा स्थानान्तरण गरी नयाँ एकीकृत बस्ती विकास गर्ने योजना अघि सारेको छ ।
प्रधानमन्त्रीको अध्यक्षतामा साेमबार बसेको केन्द्रीय विपद् परिषद्को बैठकमा बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले प्रभावित बस्तीको पुनःस्थापना र पुनर्निर्माणसम्बन्धी योजना प्रस्तुत गरेका छन् ।
भोटेकोशी र त्रिशूली नदी आसपासका क्षेत्रमा आएको बाढी तथा पहिरोका कारण ठूलो क्षति भएपछि जोखिमयुक्त पुराना बस्तीलाई सोही स्थानमा पुनर्स्थापना नगर्ने नीति प्रदेश सरकारले लिएको मुख्यमन्त्री किरण थापाले अनलाइनखबरलाई जानकारी दिए ।
बाढीले बगरमा परिणत गरेका क्षेत्रमा पुनर्निर्माण नगरी त्यस्ता स्थानलाई वृक्षारोपण तथा हरियाली क्षेत्रका रूपमा विकास गर्ने योजना बनाइएको उनले बताए ।
प्रभावित परिवारलाई पुनःस्थापनाका लागि स्थानीय तहसँगको समन्वयमा सुरक्षित वैकल्पिक जग्गा पहिचान गरिएको प्रदेश सरकारले जनाएको छ ।
तीनै तहको सरकार मिलेर स्थानीय पालिकाले उपलब्ध गराएको ११५८ रोपनी जग्गा र ४०० रोपनी स्थानीयको जग्गा मिलाएर ल्यान्ड पुलिङ मार्फत स्मार्ट सिटीको लागि चाहिने आवश्यक पूर्वाधारसहित ‘ल्यान्ड पुलिङ’ प्रणालीमार्फत एकीकृत बस्ती विकास गरिने योजना रहेकाे थापाले उल्लेख गरेका छन् ।
उनका अनुसार नयाँ बस्तीमा व्यवस्थित आवाससँगै आवश्यक आधुनिक पूर्वाधार निर्माण गरिनेछ ।
विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरी बस्तीभित्र स्वास्थ्य चौकी, सामुदायिक विद्यालयलगायत आधारभूत सेवा तथा सुविधाको व्यवस्था गरिने मुख्यमन्त्रीले जानकारी दिएका छन् ।
यस्तै, बाढीका कारण पूर्ण रूपमा क्षति भई बगरमा परिणत भएका निजी जग्गाको सट्टा प्रभावित नागरिकलाई सुरक्षित स्थानमा लालपुर्जासहितको जग्गा उपलब्ध गराउने गरी जग्गा सट्टापट्टाको व्यवस्था मिलाइने पनि मुख्यमन्त्री थापाले बताए ।
प्रदेश सरकारले बाढी-पहिरो प्रभावित क्षेत्रमा खोज तथा उद्धार, उपचार, अस्थायी आवास र खाद्यान्न व्यवस्थापनलगायत प्राथमिक चरणमा राहतका काम सम्पन्न भएको जनाएको छ ।
स्थानीय, प्रदेश र संघीय सरकारबीच समन्वय तथा सहकार्य गर्दै दिगो पुनर्निर्माण र पुनर्स्थापनाको कामलाई तीव्रता दिने मुख्यमन्त्री थापाले बताए ।
सरकारले विपद्बाट क्षतिग्रस्त क्षेत्रको पुनर्निर्माणसँगै भविष्यमा दोहोरिन सक्ने विपद्को जोखिम न्यूनीकरणलाई समेत प्राथमिकतामा राखेर सुरक्षित र व्यवस्थित नयाँ बस्ती विकास गर्ने संघीय सरकारमा जानकारी गराएको मुख्यमन्त्री थापाले बताए ।