संयुक्त राष्ट्र महासभामा सहभागी हुन न्युयोर्क पुगेका इरानी प्रतिनिधिमण्डलका थप दुई कूटनीतिज्ञहरूलाई अमेरिकाले देशबाट निष्कासित गरेको छ। अमेरिकी विदेश मन्त्रालयको कडा आदेश र ताकेतापछि पनि तोकिएको समयभित्र देश नछाडेपछि उनीहरूलाई निष्कासित गरिएको अमेरिकी अधिकारीहरूले पुष्टि गरेका छन्।
अमेरिकी विदेश मन्त्री मार्को रुबियोको निर्देशन उद्धृत गर्दै एक वरिष्ठ अमेरिकी अधिकारीले भने, ‘विदेश मन्त्री रुबियो आफ्नो कामप्रति निकै कडा हुनुहुन्छ। संयुक्त राष्ट्र महासभा समाप्त भएको धेरै समय बितिसक्दा पनि इरानी प्रतिनिधिमण्डलका दुई सदस्य अझै न्युयोर्कमै रहेको भेटियो। उनीहरूले यहाँ बस्ने अवधि नाघिसकेकाले अहिले देशबाट निकालिएको छ।’
अमेरिकी अधिकारीहरूका अनुसार विदेश मन्त्रालयले गत सोमबार नै संयुक्त राष्ट्रका लागि इरानी मिसनलाई आफ्नो सम्पूर्ण प्रतिनिधिमण्डल तत्काल फिर्ता लैजान कडा आदेश दिएको थियो। तर,इरानले भने सोमबार नै विदेश मन्त्री अब्बास अरागचीसहितको टोली पूर्व-निर्धारित तालिकाअनुसार फर्किसकेको र अमेरिकाले झुटा खबर फैलाएको दाबी गरेको थियो।
इरानको खण्डनका बाबजुद शुक्रबार अमेरिकी अधिकारीहरूले इरानका दुई कूटनीतिज्ञ अझै पनि न्युयोर्कमै बसिरहेको पत्ता लगाएपछि उनीहरूलाई पुनः तत्काल अमेरिका छाड्न अन्तिम ताकेता गरेका थिए। त्यसपछि एक इरानी कूटनीतिज्ञ शुक्रबार राति र दोस्रो कूटनीतिज्ञ शनिवार बिहान अमेरिकाबाट बाहिरिएका छन्।
होर्मुज जलमार्ग खोल्ने, क्षेत्रीय युद्धविराम र परमाणु कार्यक्रमसम्बन्धी अप्रत्यक्ष वार्ताहरू बिना कुनै निष्कर्ष टुङ्गिएपछि वासिङ्टन र तेहरानबिचको सम्बन्ध अझ गम्भीर मोडमा पुगेको छ। कूटनीतिक प्रयासहरू असफल भइरहँदा र नयाँ सैन्य भिडन्तको जोखिम बढिरहेका बेला अमेरिकाको यो कदमलाई तेहरानमाथि थप दबाब सिर्जना गर्ने रणनीतिका रूपमा हेरिएको छ।