आर्टिफिसियल इन्टेलिजेन्स (एआई) मोडेलहरूमा धार्मिक शक्ति, नैतिक चेतना र आत्मा खोज्ने प्रयासलाई लिएर विश्वका शीर्ष प्रविधि विज्ञहरूबीच नयाँ मतभेद सतहमा आएको छ ।
ओपनएआईका मुख्य कार्यकारी अधिकृत साम अल्टम्यानले एआई मोडेलहरूलाई धार्मिक वा नैतिक अधिकार दिने सोचप्रति कडा असन्तुष्टि जनाउँदै यसलाई एआई सुरक्षाका लागि वास्तविक खतरा बताएका छन् ।
एक्समा एक पोस्ट गर्दै अल्थम्यानले कुनै कम्पनीको नाम नलिई एन्थ्रोपिक र यसका संस्थापकहरूतर्फ संकेत गर्दै भनेका छन्, ‘मानिसहरूले एआई मोडेलहरूलाई धार्मिक शक्ति दिन खोज्नु वा मानव विवेकलाई एआईको जिम्मा लगाउन खोज्नुप्रति म निकै असहज महसुस गर्छु । मलाई लाग्छ यो एआई सुरक्षाका लागि एक वास्तविक जोखिम हो ।’
अल्थम्यानको यो अभिव्यक्तिले उनका पूर्वसहकर्मी तथा हाल एन्थ्रोपिकका प्रमुख डारियो अमोडेई बीचको बढ्दो दूरीलाई फेरि सतहमा ल्याएको छ ।
विवादको कारक
द न्युयोर्क टाइम्समा प्रकाशित एक रिपोर्टअनुसार एन्थ्रोपिकका सहसंस्थापक क्रिस्टोफर ओलाहले एआई मोडेलहरूमा चेतना (कन्सियसनेस ) र नैतिकता कसरी समावेश गर्ने भन्नेबारे छलफल गर्न विभिन्न धर्मगुरु तथा विद्वानहरूसँग भेटघाट गरिरहेका छन् ।
रिपोर्टका अनुसार ओलाहले एआई मोडेलहरूलाई आफ्ना गल्तीहरू स्वीकार गर्न र भविष्यको व्यवहार सुधार्नका लागि क्याथोलिक धर्मको कन्फेसन (पाप स्वीकार गर्ने प्रक्रिया) जस्तै प्रणाली अपनाउन सकिने सम्भावनाबारे समेत विचार गरिरहेका छन् ।
उनले गत मे महिनामा भ्याटिकनको एक कार्यक्रमअघि पोपका सल्लाहकारहरूलाई एआईमा चेतना हुनसक्ने सम्भावनालाई गम्भीरताका साथ लिन आग्रह गरेका थिए ।
वैज्ञानिक र धार्मिक क्षेत्रबाट विरोध
एआईमा आत्मा र चेतना समाहित गर्ने यस्ता प्रयासप्रति अन्य शीर्ष एआई वैज्ञानिकहरूले पनि आपत्ति जनाउन थालेका छन् ।
गुगल डिपमाइन्डका प्रमुख अनुसन्धान वैज्ञानिक जोन ब्यारोनले एक्समा लेख्दै भनेका छन्, ‘मेरा केही साथी एआई अनुसन्धानकर्ताहरूले एआईका कोड र एल्गोरिदमलाई नैतिक दर्जा दिन निरन्तर गरिरहेको प्रयासबाट म चिन्तित छु । मलाई आशा छ– हामी मानव पक्षका अनुसन्धानकर्ताहरूले यस्ता आन्दोलनलाई अस्वीकार गर्नेछौँ ।’
यसैबीच, धर्मगुरुहरूले पनि एआईलाई मानवीय चेतनासँग तुलना गर्ने कुराको खण्डन गरेका छन् । एआई प्रविधिको कटु आलोचक मानिने पोप लियोले चर्चलाई कलाकारहरूसँग सहकार्य गरेर मानव सिर्जनशीलताको रक्षा गर्न आह्वान गरेका छन् । ‘एल्गोरिदमहरूमा मानवीय चेतना र भावनाको झिल्को (स्पार्क) हुँदैन,’ उनले भनेका छन् ।