: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले आम जनतामा राजनीति र नेताप्रतिको वितृष्णा अझै उस्तै रहेको बताएका छन्। आइतबारदेखि सुरु भएको नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई सम्बोधन गर्दै लिङ्देनले देशको अवस्था झन् जटिल बन्दै गएको बताए। उनले मुलुक अँध्यारो सुरुङतर्फ धकेलिँदै गएको टिप्पणी समेत गरे।
‘देश अहिले पनि लिगबाट बाहिर गएको अवस्थामा छ। त्यसैले सबै राजनीतिक दलले गम्भीरतापूर्वक सोच्न आवश्यक छ,’उनले भने।
लिङ्देनले विगतमा सरकार वा राजनीतिक नेतृत्वको विरोध गर्दा गोली चल्ने गरेको उल्लेख गर्दै अहिले गलत कामको आलोचना गर्दा सामाजिक सञ्जालमार्फत प्रतिक्रिया आउने गरेको बताए। ‘हिजो कसैको विरोध गर्दा गोली आउँथ्यो,आज गलत कुरा कसैले औँल्यायो भने सामाजिक सञ्जाल आउँछ,’उनले भने।
समस्या व्यक्तिमा मात्रै नभई संविधान र विद्यमान राजनीतिक व्यवस्थामै रहेको उनको धारणा छ। ‘समस्या मान्छेमा मात्रै होइन,समस्या तपाईंहरूले उत्कृष्ट भनेर ल्याएको संविधानमा छ, व्यवस्थामा छ,’उनले भने,‘संविधान बाइबल होइन,गीता होइन। व्यवस्थामा नमिलेका चिजहरूलाई मिलाएर जानुपर्छ।’
उनले लामो समयदेखि चल्दै आएको निषेधको राजनीतिले मुलुकलाई अपेक्षित निकास दिन नसकेको बताए। 'निषेधको राजनीति लामो समयसम्म आम जनतामा राजनीति र नेताप्रतिको वितृष्णा उस्तै।निषेधको राजनीतिले देशलाई कहाँ पुर्यायो भन्ने कुरा कसैले भनिरहनुपर्दैन,’उनले भने।
लिङ्देनले सबै राजनीतिक शक्तिलाई एक ठाउँमा ल्याएर राष्ट्रिय सहमति निर्माण गर्नुपर्नेमा जोड दिए। ‘कसैले नहार्ने,सिंगो देशले जित्ने एउटा राष्ट्रिय सहमति गर्नुपर्छ। सबैलाई एक ठाउँमा राखेर देशलाई निकास दिनुपर्छ,’उनले आग्रह गरे।