। रुपन्देहीको तिलोत्तमामा घरमा सुतेकी १० वर्षीया बालिकालाई अपहरण गरेका युवालाई प्रहरीले गोली हानेर पक्राउ गरेको छ । तिलोत्तमा नरपालिका–१७, दरखसवाका २७ वर्षीय विशाल भनिने युवराज थारुलाई शनिबार राति जंगलबाट पक्राउ गरिएको हो ।
बालिका अपहरणपछि फरार थारुलाई खोजी गर्ने क्रममा प्रहरीले उनलाई तिलोत्तमाकै कान्छी बजारस्थित जंगलबाट नियन्त्रणमा लिएको जनाएको छ ।
प्रहरीका अनुसार पक्राउ गर्ने क्रममा थारुले प्रहरीमाथि नै आक्रमण गर्न खोजेपछि एक राउन्ड गोली चलाइएको थियो । गोली लागेर उनको खुट्टामा चोट लागेको छ । उनलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल लगिएको प्रहरीले जनाएको छ ।
थारुले बुधबार राति तिलोत्तमाकी १० वर्षीया बालिकालाई घरभित्र सुतिरहेको अवस्थामा अपहरण गरेको प्रहरीले जनाएको छ । राति करिब २ बजेतिर बालिकालाई कपडा ओढाइदिन उनकी हजुरआमाले खोज्दा नभेटाएपछि बालिका अपहरणमा परेको थाहा भएको थियो ।
बालिका हराएको सूचना पाएलगत्तै प्रहरीले बिहीबार बिहानदेखि गाउँ आसपास तथा स्थानीय जंगल क्षेत्रमा खोजी सुरु गरेको थियो । खोजीका क्रममा अपहरणमा संलग्न व्यक्तिको पहिचान गर्ने आधार प्रहरीले फेला पारेको थियो ।
प्रहरीले शुक्रबार साँझ ७ बजे कान्छी बजारस्थित जंगलबाट बालिकालाई अपहरण भएको करिब ३८ घण्टापछि सकुशल उद्धार गरेको थियो । बालिकालाई उद्धार गरिए पनि घटनामा संलग्न थारु भने फरार थिए ।
बालिका उद्धार गरिएको स्थानमा भेटिएको मोबाइल फोनका आधारमा प्रहरीले अपहरणमा संलग्न व्यक्तिको पहिचान गरी खोजतलास जारी राख्दा शनिबार राति करिब १ बजे थारुलाई जंगलबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । अपहरणमा परेकी बालिका सकुशल रहेको र हाल आफ्नो सुरक्षामा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
बालिकाका काका जितेन्द्र मल्लाहका अनुसार अपहरणमा परेकी बालिकाका बुवाआमा मजदुरी गरेर जिविकोपार्जन गर्ने परिवार हो । प्रहरी सुरक्षामा रहेको आश्रयस्थलमा बसेकी उनको स्वास्थ्यको अन्य समस्या केही नरहेको प्रहरीले जनाएको छ ।