मुख्य समाचार
हवाई आक्रमण रणनीतिको जवाफमा रुसी तेल प्रशोधन केन्द्र (रिफाइनरी) माथिको आक्रमण बढाउने चेतावनी
हवाई आक्रमण रणनीतिको जवाफमा रुसी तेल प्रशोधन केन्द्र (रिफाइनरी) माथिको आक्रमण बढाउने चेतावनी

। युक्रेनले रुसको नयाँ हवाई आक्रमण रणनीतिको जवाफमा रुसी तेल प्रशोधन केन्द्र (रिफाइनरी) माथिको आक्रमण बढाउने चेतावनी दिएको छ । त्यसका लागि युक्रेनले लामो दूरीको क्षेप्यास्त्र बनाएको जनाएको छ ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रोयटर्ससँगको विशेष अन्तर्वार्तामा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आगामी जाडोयामलाई लक्षित गर्दै नागरिक पूर्वाधारमाथि आक्रमण विस्तार गर्ने ‘नयाँ सिद्धान्त’ जारी गरेको दाबी गरेका छन् ।

जेलेन्स्कीका अनुसार युक्रेनको गुप्तचर निकायले प्राप्त गरेका दस्तावेजमा रुसले पूर्वाधार, यातायात तथा लजिस्टिक्स, सडक, विद्यालय र अस्पताललगायतका संरचनालाई निशाना बनाउन अनुमति दिएको देखिएको छ ।

‘मानिसहरूलाई राजधानी र अन्य सहर छाड्न दबाब दिनु नै यो अभियानको उद्देश्य हो,’ जेलेन्स्कीले भनेका छन् ।

रुसले आफ्नो भूभागमा भएका युक्रेनी आक्रमणको जवाफमा प्रतिशोधात्मक कारबाही जारी राख्ने बताउँदै आएको छ । रुसी विदेश मन्त्रालयले किभमा रहेका विदेशी नागरिकलाई बाहिरिन आग्रह गर्दै रुसले आफ्ना घोषित लक्ष्यमा व्यवस्थित रूपमा आक्रमण जारी राख्ने बताएको छ ।

रुसी ऊर्जामाथि प्रहार गर्ने युक्रेनको तयारी

जेलेन्स्कीले रुसले युक्रेनको ऊर्जा पूर्वाधारमा आक्रमण गरे त्यसको जवाफ रुसी ऊर्जा क्षेत्रमा दिने बताएका छन् ।

‘हाम्रो ऊर्जामाथि उनीहरूले आक्रमण गरे भने हामी उनीहरूको ऊर्जामाथि जवाफ दिन्छौं,’ उनले भनेका छन्, ‘विशेषगरी तेल प्रशोधन केन्द्रहरू, जसले उनीहरूलाई युद्धका लागि पैसा उपलब्ध गराउँछन् ।’ तर युक्रेनले रुसले जस्तो नागरिक संरचनालाई अन्धाधुन्ध निशाना नबनाउने उनको दाबी छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसअघि रुसका तेल प्रतिष्ठानमाथि युक्रेनले गर्ने आक्रमण रोक्न आग्रह गरेका थिए । यस्ता आक्रमणले विश्व बजारमा डिजेलको मूल्य बढाइरहेको ट्रम्पको भनाइ थियो ।

तर जेलेन्स्कीले रुस शान्ति वार्ताका लागि गम्भीर रहेको कुनै संकेत आफूले नपाएको बताएका छन् ।

डोनबासमा ‘काउन्टरअफेन्सिभ’

जेलेन्स्कीले पूर्वी युक्रेनको डोनबास क्षेत्रमा युक्रेनी सेनाले ‘भिभाल्डी’ नाम दिइएको प्रत्याक्रमण अभियान जारी राखेको र करिब १४० वर्ग किलोमिटर भूभाग पुन: नियन्त्रणमा लिएको दाबी गरेका छन् ।

रुसले भने कुनै पनि शान्ति सम्झौताका लागि डोनबास क्षेत्र पूर्ण रूपमा आफ्नो नियन्त्रणमा आउनुपर्ने अडान राख्दै आएको छ ।

यसैबीच, अमेरिकी प्रशासनले चार वर्षदेखि जारी युद्ध अन्त्य गर्न रुस र युक्रेनबीच वार्ता पुन: सुरु गर्ने प्रयास गरिरहेको छ ।

अमेरिकाले आगामी केही सातामा संयुक्त अरब इमिरेट्समा त्रिपक्षीय वार्ता पुन: सुरु गर्ने प्रस्ताव गरे पनि त्यसको मिति र स्थान अझै निश्चित नभएको जेलेन्स्कीले बताएका छन् ।

जाडोयाममा ऊर्जा पूर्वाधारमाथि ठूलो आक्रमणको आशंका

युक्रेनी अधिकारीहरूले रुसले आगामी जाडोयाममा विद्युत् र पानी आपूर्तिको पूर्वाधारमा ठूलो आक्रमण गर्ने तयारीस्वरूप सयौं ब्यालिस्टिक क्षेप्यास्त्र भण्डारण गरेको दाबी गरेका छन् ।

गत जाडोमा रुसी आक्रमणका कारण युक्रेनका ठूलो भूभागमा विद्युत् र ताप आपूर्ति पटक–पटक अवरुद्ध भएको थियो ।

रुसले पछिल्लो समय जेट इन्जिनयुक्त ‘शाहेद’ ड्रोन पनि ठूलो संख्यामा प्रयोग गर्न थालेको जेलेन्स्कीले बताएका छन् । ती ड्रोनलाई रोक्न युक्रेनी वायु रक्षा प्रणालीलाई कठिनाइ भइरहेको छ ।

उनका अनुसार युक्रेनले त्यस्ता ड्रोन खसाल्न एफ–१६ र मिग लडाकु विमानको प्रयोग गरिरहेको छ । ती विमानबाट करिब ६० प्रतिशत जेट इन्जिनयुक्त रुसी ड्रोन खसालिएको उनको दाबी छ । तर विमानमा प्रयोग हुने २० मिलिमिटर गोलाबारुदको मौज्दात घट्दै गएको उनले बताएका छन् ।

युक्रेनले विद्युतीय जामिङ क्षमता बढाउनुका साथै सस्तो र साना वायु रक्षा क्षेप्यास्त्र तथा नयाँ इन्टरसेप्टर ड्रोन विकास गरिरहेको छ । जेलेन्स्कीका अनुसार नयाँ इन्टरसेप्टर ड्रोनका दुई मोडलको परीक्षणमा करिब ३० प्रतिशत सफलता हासिल भएको छ ।

रुसी भूमिमा प्रहार गर्न लामो दूरीको क्षेप्यास्त्र बनाउँदै युक्रेन

युक्रेनले आफ्नै उत्पादनको एफपी–७ ब्यालिस्टिक क्षेप्यास्त्र पहिलोपटक युद्धमा प्रयोग गरेको जेलेन्स्कीले बताएका छन् । यसको मारक क्षमता करिब २५० किलोमिटर रहेको छ ।

युक्रेनले यसभन्दा लामो दूरीमा प्रहार गर्न सक्ने एफपी–९ क्षेप्यास्त्र पनि विकास गरिरहेको छ । यसको प्रयोगबाट मस्कोसम्म प्रहार गर्न सकिने दाबी गरिएको छ ।

‘मैले उत्पादकलाई एफपी–९ कहाँ छ भनेर सोधेको छु,’ जेलेन्स्कीले भने, ‘हामीलाई एफपी–९ चाहिएको छ । यो शरद ऋतुमै तयार हुनेछ भन्नेमा म विश्वस्त छु ।’

रुससँग सम्बन्ध सामान्य नबनाउन अमेरिकालाई आग्रह

रुसका राष्ट्रपति पुटिनलाई डिसेम्बरमा मियामीमा हुने जी–२० शिखर सम्मेलनमा सहभागी हुन अमेरिकी प्रशासनले निम्तो दिएको प्रसंगमा जेलेन्स्कीले युद्ध अन्त्य नभएसम्म रुससँग सम्बन्ध सामान्यीकरण नगर्न अमेरिकालाई आग्रह गरेका छन् ।

उनले जी–२० सम्मेलनका क्रममा पुटिनसँग शान्ति वार्ताका लागि भेट्न आफू तयार रहेको बताए । तर डोनबासमाथि नियन्त्रण कायम गरेपछि रुसले युद्ध स्वत: अन्त्य गर्छ भन्ने भ्रममा नपर्न उनले अमेरिकालाई चेतावनी दिए ।

‘शान्ति कुनै पनि प्रकारको अर्थतन्त्रभन्दा महत्वपूर्ण छ,’ जेलेन्स्कीले भनेका छन् ।

युक्रेनले आगामी वर्षको सुरुवातमा युद्ध जारी राख्न आवश्यक ड्रोन खरिदका लागि युरोपबाट थप आर्थिक सहयोग सुनिश्चित गरेको पनि जेलेन्स्कीले बताएका छन् ।

उनका अनुसार यस वर्ष युक्रेनको रक्षा बजेटमा रहेको २७ अर्ब डलरको वित्तीय अभाव पूर्ति गर्न आफ्नै बजेट पुन:व्यवस्था, द्विपक्षीय सहायता र युरोपेली संघको ९० अर्ब युरो ऋणअन्तर्गत आगामी वर्षको रकम प्रयोग गर्ने योजना बनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
अमेरिकाको टेक्सस राज्यमा भइरहेको बहुप्रतिक्षित सिनेट चुनावमा रिपब्लिकन पार्टीका उम्मेदवार केन पाक्सटन पराजित हुने आशङ्का बढेसँगै राष्ट्रपति डोनाल्ड ट्रम्पले पहिल्यैदेखि दोषारोपण सुरु गरेका छन्। सन् १९८८ यता टेक्ससबाट कुनै पनि डेमोक्र्याट उम्मेदवार सिनेटमा विजयी नभएको इतिहासमा यदि यसपटक रिपब्लिकन उम्मेदवार हारेमा त्यसको जिम्मेवार आफ्नै पार्टीका नेताहरू हुने ट्रम्पले दाबी गरेका छन्। ट्रम्पको निशानामा जोन कोर्नि र कार्ल ...
। रुसको कामचट्का प्रायद्वीप नजिक शुक्रबार गएको भूकम्पपछि जापानको मौसम विज्ञान एजेन्सीले गल्तीले ९.९ म्याग्निच्युडको भूकम्प आउने चेतावनी जारी गरेको छ । एजेन्सीले करिब आठ मिनेटपछि उक्त चेतावनी फिर्ता लिएको छ । युरोपेली–भूमध्यसागरीय भूकम्प मापन केन्द्र (ईएमएससी) का अनुसार कामचट्का क्षेत्रमा ७.० म्याग्निच्युडको भूकम्प गएको थियो । जापानको मौसम विज्ञान एजेन्सीले भने उक्त भूकम्पलाई ६.९ म्याग्निच्युड ...
। अमेरिकाको उत्तरपश्चिमी राज्य ओरेगनस्थित एक प्राथमिक विद्यालयमा गोली चल्दा तीन बालबालिकासहित कम्तीमा चार जनाको मृत्यु भएको छ । सीबीएस र सीएनएनका अनुसार बिहीबार बेन्ड सहरस्थित सिल्भर रेल प्राथमिक विद्यालयमा गोली चलेको हो । उक्त सहर पोर्टल्यान्डबाट करिब १६० किलोमिटर दक्षिणपूर्वमा पर्छ । घटनामा गोली चलाउने व्यक्ति पनि मारिएको अधिकारीहरूले बताएका छन् । तर मृत्यु हुने चार ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतमाथि १०० प्रतिशत भन्सार महसुल (ट्यारिफ) लगाउने विषयमा आगामी १० दिनभित्र निर्णय लिन सक्ने भएका छन्। ब्लूमबर्ग न्यू इकोनोमी फोरममा बोल्दै अमेरिकी राजदूत सर्जियो गोरले उक्त जानकारी दिएका हुन्। गोरका अनुसार भारतले प्रतिबन्धबाट छुट पाउँछ या पाउँदैन भन्ने अन्तिम निर्णय ट्रम्प आफैँले गर्नेछन्। अमेरिकी संसद्‌ले गत सेप्टेम्बर १६ मा रुसबाट तेल ...
: पाकिस्तानको पेशावरमा एउटा निजी विद्यालयको छाना भत्किँदा ३४ जनाको मृत्यु भएको छ। मृत्यु हनेमा एक शिक्षक र ३३ जना विद्यार्थी रहेको लेडी रेडिङ अस्पतालले पुष्टि गरेको छ। प्रहरीले उक्त विद्यालयका सञ्चालकलाई पक्राउ गरिएको जनाएको छ। उक्त निजी विद्यालय शैक्षिक गुठीका रूपमा सञ्चालित हुँदै आएको बताइएको छ। दिर कोलोनीस्थित अल–खैर विद्यालयमा स्थानीय समयानुसार बिहीबार बिहान ८ः४८ ...