: झापामा प्रतिबन्धित भारतीय चिट्ठा र नगदसहित एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा मेचीनगर नगरपालिका–६, काँकडभिट्टाका ४५ वर्षीय गेलु शेर्पा रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले गोप्य सूचनाका आधारमा शनिबार बिहान करिब ११ बजे शेर्पालाई नियन्त्रणमा लिएको थियो। नियन्त्रणमा लिएपछि प्रहरीले उनको घरमा खानतलासी गरेको थियो। खानतलासीका क्रममा ‘रोयल’ लेखिएको भारतीय चिट्ठा १३ बुङ बरामद भएको छ। प्रत्येक बुङमा १०० वटाका दरले कुल १ हजार ३०० थान चिट्ठा बरामद भएको प्रहरीले जनाएको छ।
त्यस्तै, प्रहरीले शेर्पाको घरबाट ३६ हजार ५०० नेपाली रुपैयाँसमेत बरामद गरेको छ। बरामद रकममा १ हजार दरका १८ थान नोट (१८ हजार), ५०० दरका २४ थान (१२ हजार), १०० दरका ६१ थान (६ हजार १००) र ५० दरका ८ थान (४०० रुपैयाँ) रहेका छन्। पक्राउ परेका शेर्पालाई इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
सीमावर्ती बजारमा भारतीय चिट्ठाको कारोबार
झापाका भारतसँग जोडिएका सीमावर्ती क्षेत्र काँकडभिट्टा र भद्रपुरमा भारतीय चिट्ठाको कारोबार लामो समयदेखि चुनौतीका रूपमा देखिँदै आएको छ। स्थानीयका अनुसार भारतको पश्चिम बङ्गाल, सिक्किम र नागाल्यान्डलगायतका क्षेत्रमा बिक्री हुने विभिन्न प्रकारका चिट्ठा सीमावर्ती नेपाली बजारसम्म पुग्ने गरेका छन्। यसको कारोबारमा नेपाली तथा भारतीय युवाहरू संलग्न छन्।
स्थानीय स्तरमा खुलेआम रूपमा चिट्ठा बिक्री–वितरण हुने गरेको गुनासो आउने गरेको छ। चिट्ठाको कारोबारबाट दैनिक ठूलो रकम भारततर्फ जाने गरेको स्थानीयको दाबी छ। चिट्ठाको लतमा परेर कतिपय व्यक्ति आर्थिक रूपमा सङ्कटमा परेका छन् भने घरपरिवारमा समेत समस्या उत्पन्न भएको छ। चिट्ठा नियन्त्रण तथा रोकथामका लागि स्थानीयले प्रहरी र प्रशासनसँग पटक-पटक आग्रह गर्दै आए पनि प्रभावकारी नियन्त्रण हुन नसकेको गुनासो छ।
सीमावर्ती क्षेत्रमा हुने यस्ता कारोबारले सर्वसाधारणको रकम बाहिरिने मात्र नभई गैरकानुनी आर्थिक गतिविधिलाई समेत प्रोत्साहन गर्ने भएकाले यसको निगरानी र नियन्त्रण आवश्यक रहेको स्थानीय बताउँछन्। यसअघि पनि झापाको सीमावर्ती क्षेत्रमा प्रतिबन्धित भारतीय चिट्ठाको कारोबारमा संलग्न व्यक्तिहरूलाई प्रहरीले कारबाही गर्दै आएको छ। पछिल्लो पक्राउको घटनाले सीमावर्ती क्षेत्रमा चिट्ठाको अवैध कारोबार अझै पूर्ण रूपमा नियन्त्रणमा आउन नसकेको देखाउँछ।