। नेपाली कांग्रेसको देउवा समूहका नेता डा. प्रकाशशरण महतले पार्टीले संसद् र संसद्बाहिर प्रतिपक्षी भूमिका निर्वाह गर्न नसकेको आरोप लगाएका छन् ।
महाराजगञ्जस्थित एक होटलमा शनिबार पत्रकारहरूसँगको अन्तरक्रियामा उनले प्रतिपक्षी दलले प्रतिपक्षीय भूमिका निर्वाह नगर्दा संसदीय व्यवस्थामा लोकतन्त्र कमजोर हुने बताए ।
‘विपक्षीले विपक्षीको भूमिका निर्वाह नगर्ने हो भने संसदीय व्यवस्थामा डेमोक्रेसी कमजोर हुन्छ,’ नेता महतले भने, ‘सत्ताधारी दलले आफू खुशी गर्न थाल्छ । अहिले त्यही देखिएको छ । हचुवा निर्णय भइरहेको छ । विपक्षीले सशक्त भूमिका निर्वाह गर्न सकेन ।’
पूर्वप्रधानन्यायाधीश चालेन्द्र शमशेर राणालाई केही दिनअघि गरिएको पक्राउप्रति उनले आपत्ति जनाए । ‘हचुवामा पूर्वप्रधानन्यायाधीशलाई पक्राउ गरिदिएको छ,’ महतले भने, ‘पब्लिकले विरोध गरेपछि हामीले त सुरक्षाका लागि ल्याएको भनिदिएको छ ।
सरकारले लोकतन्त्रको मर्म र भावना तथा संविधानको व्यवस्थाविपरित काम गर्दा पनि प्रतिपक्षी कांग्रेस बोल्न नसकेको नेता महतले आरोप लगाए ।
‘हामी त सहकार्य गरिरहेका छौं । हामी मिलेर काम गर्न चाहन्छौं । राम्रो काममा नराम्रो बन कसले भनेको छ र ?,’ उनले प्रश्न गर्दै भने, ‘तर, जे कुरा विधिसंगत भइराखेको छैन, डोमोक्रेसीको मूल मर्म र भावना, संविधानको व्यवस्थालाई आँखा चिम्लिएर कुनै काम हुन थालेपछि सशक्त विरोध हुनु पर्यो नि । त्यो भइराखेको छैन ।’
नेता महतले नेतृत्वको व्यक्तिगत महत्वाकांक्षाका लागि पार्टीको मूल्य–मान्यता र विचारलाई कमजोर बनाइएको पनि आरोप लगाए । उनले कांग्रेसलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जस्तै बनाउने प्रयास भइरहेको टिप्पणीसमेत गरे ।
‘डेमोक्रेटिक सोसियोलिजम’ छाडेर ‘सोसल डेमोक्रेसी’ भन्नु रास्वपाको नीतिलाई अंगिकार गर्नु भएको नेता महतको आरोप थियो । उनले कांग्रेसमा विगतमा हुने वैचारिक बहस र सामूहिक निर्णयको परम्परा कमजोर हुँदै गएको दाबीसमेत गरे ।
महतले कांग्रेसले आफ्नो मौलिक विचार र राजनीतिक पहिचान जोगाउन नसके पार्टीको अस्तित्वमै प्रश्न उठ्ने बताए । लोकप्रियतावादको पछि लागेर तत्कालीन राजनीतिक लाभ खोज्ने प्रवृत्तिले कांग्रेसलाई वैचारिक विचलनतर्फ लैजाने उनको भनाइ थियो ।