। सडकमा ठक्कर दिएर सवारी साधन भागेमा वा बिमा नभएको सवारी साधनले दुर्घटना गराएमा अब पीडितले सरकारी कोषबाटै क्षतिपूर्ति पाउने भएका छन्।
सङ्घीय संसद्मा पेस भएको सडक सुरक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८३ ले दुर्घटनाका असहाय पीडितलाई राहत दिन यस्तो नयाँ व्यवस्था प्रस्ताव गरेको हो।
विधेयकको दफा ३१ ले सडक दुर्घटनाको हानि–नोक्सानी तथा क्षतिपूर्तिसम्बन्धी महत्त्वपूर्ण व्यवस्था गरेको छ। उक्त दफाको उपदफा (१) अनुसार, सडक दुर्घटना गराउने सवारी साधनको पहिचान हुन नसकेको (हिट एण्ड रन) कारणबाट वा बीमा नभएको सवारी साधनको सवारी धनी वा चालकको कुनै सम्पत्ति नभएको कारणबाट क्षतिपूर्ति प्राप्त गर्न नसकेका घाइतेलाई राष्ट्रिय सडक सुरक्षा परिषद्ले आफ्नो कोषबाट क्षतिपूर्ति दिन सक्नेछ।
यसले गर्दा ठक्कर दिने सवारी नभेटिँदा वा चालक गरिब हुँदा उपचार र राहत नपाएर छटपटाउनुपर्ने अवस्थाको अन्त्य हुनेछ।
त्यसैगरी, जथाभावी पार्किङ गर्ने र सडकमा निर्माण सामग्री वा अन्य सामान थुपार्ने प्रवृत्तिलाई निरुत्साहित गर्न विधेयकले कडा हर्जानाको व्यवस्था गरेको छ।
उपदफा (२) बमोजिम सडकको सवारी गुड्ने भाग वा पार्किङ निषेधित क्षेत्रमा पार्किङ गराई राखेका सवारी साधनको कारणले दुर्घटना भई कुनै हानि–नोक्सानी भएमा त्यसरी पार्किङ गर्ने सवारीको धनी तथा चालकबाटै क्षतिपूर्ति असुल उपर गरी दुर्घटनाका घाइते वा क्षति पुगेका व्यक्तिलाई प्रदान गरिनेछ।
यति मात्र नभई, सडक वा सडकपेटीलाई गोदाम बनाउनेहरूले पनि अब दुर्घटनाको आर्थिक दायित्व बोक्नुपर्नेछ।
उपदफा (३) ले सडकको सवारी गुड्ने भाग वा सडकपेटीमा अनाधिकृत रूपमा मालसामान राखेका कारण सडक दुर्घटना भई हानि नोक्सानी भएमा त्यस्तो मालसामान राख्ने व्यक्ति वा संस्थाबाट क्षतिपूर्ति असुल गरी त्यस्तो सडक दुर्घटनाका घाइते वा क्षति पुगेका व्यक्तिलाई प्रदान गरिने बाध्यात्मक व्यवस्था गरेको छ।