: च्याटजीपीटीको मातृ कम्पनी ओपनएआईले आन्तरिक नियम उल्लंघन गरेको आरोपमा आफ्ना तीन अनुसन्धानकर्तालाई बर्खास्त गरेको छ।
कम्पनीका प्रवक्ताले अनुसन्धानका क्रममा ती व्यक्तिहरूले कम्पनीले तय गरेका प्रक्रियाबाहिर संवेदनशील जानकारीको दुरुपयोग गरेको, कम्पनीका नीतिहरू उल्लंघन गरेको र आफ्नो सञ्चालनका लागि आवश्यक विश्वास कमजोर बनाएको पुष्टि भएको बताएका छन्।
ओपनएआईले ती अनुसन्धानकर्ताहरूले कुन जानकारी प्राप्त गरेका थिए वा त्यसको कसरी प्रयोग गरेका थिए भन्नेबारे भने कुनै विवरण सार्वजनिक गरेको छैन। तीनै अनुसन्धानकर्तामाथि एआई सुरक्षाको क्षेत्रमा काम गरिरहेको एक स्वतन्त्र संस्थासँग कम्पनीको गोप्य जानकारी साझा गरेको आरोप लागेको बताइएको छ।
ती तीनै जना एआई मोडलको सुरक्षा क्षेत्रमा काम गर्दै आएका थिए। यस क्षेत्रमा काम गर्ने अनुसन्धानकर्ताहरूलाई कम्पनीका मोडलहरूको कार्यसम्पादन र सम्भावित जोखिमसँग सम्बन्धित संवेदनशील आन्तरिक जानकारीमा पहुँच हुने गर्छ।
ओपनएआईले उनीहरूको बर्खास्तगी सुरक्षा सम्बन्धी चिन्ता उठाएका कारण नभएको स्पष्ट पारेको छ। कम्पनीका अनुसार कारबाही गोप्य जानकारीमा पहुँच र त्यसको व्यवस्थापन गर्ने तरिकासँग सम्बन्धित थियो।