। काठमाडौँको गोंगबुस्थित नयाँ बसपार्कमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, यातायात व्यवस्था विभाग, काठमाडौं महानगरपालिका, यातायात व्यवसायी तथा मजदुरको संयुक्त आयोजनामा शुक्रबार नयाँ बसपार्कमा यात्रु सहायता कक्ष स्थापना गरिएको हो ।
उद्घाटनपछि काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक(एआईजी) सुशीलसिंह राठौरले चाडपर्वमा अन्य समयको तुलनामा यात्रु धेरै बढ्ने भएकाले सबैलाई सुरक्षित गन्तव्यमा पुर्याउनु सबैको दायित्व रहेको बताए ।
उनले क्षणिक स्वार्थका लागि यात्रुलाई ठग्ने, लुट्ने, झुक्याउने गरेमा कारबाही हुने जनाउँदै यात्रुलाई पनि सावधानी अपनाउन आग्रह गरे ।
सवारी सञ्चालनको बेलामा मापसे र लापसे नगर्न पनि उनले सबै सवारी चालकसँग आग्रह गरे ।
‘टिकटको नाममा हुने कालोबजारी अन्त्य गर्न प्रहरी चनाखो हुन्छ । यात्रुहरूले पनि टिकट लिएर यात्रा गरिदिन आग्रह छ,’ एआईजी राठौरले भने ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष पुन्यप्रसाद सिटौलाले विगतको वर्षभन्दा यस वर्ष चाडपर्वमा यातायात सञ्चालनमा केही समस्या रहेका बताए ।
देशभर परेको अविरल वर्षाले अधिकांश राष्ट्रिय राजमार्ग अवरुद्ध हुँदा सवारी सञ्चालनमा समस्या परेको उनले बताए ।
अध्यक्ष सिटौलाले समस्याको घडीमा पनि सुरक्षित तबरले सवारी सञ्चालन गरेकामा देशभरका चालकलाई धन्यवाद दिए ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख सुरेशप्रसाद काफ्लेले चाडपर्वको समयमा हुने दुर्घटना न्यूनीकरण गर्न सबै लाग्नुपर्ने बताए । उनले चाडपर्वलाई लक्षित गरी ट्राफिक प्रहरीले उपत्यकाका १५ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको जानकारी दिए ।