: नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बालेन शाह नेतृत्वको अहिलेको सरकार विदेशीहरूको इशारामा चलिरहेको आरोप लगाएका छन्।
बुधबार वीरगन्जमा आयोजित नेकपा पर्साको पार्टी एकता समायोजन, शपथ ग्रहण तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री प्रचण्डले वर्तमान सरकार विदेशीहरूको इशारामा चलिरहेको र नेपाली जनताको हातबाट नेतृत्व उम्किने खतरा बढेको पनि बताए। नेपाल अहिले सुगौली सन्धि यताकै गम्भीर राष्ट्रिय संकट र असाधारण राजनीतिक परिस्थितिबाट गुज्रिरहेको उनको भनाइ थियो।
उनले वैदेशिक शक्ति केन्द्रको प्रभाव र सरकारका स्वेच्छाचारी कदमविरुद्ध वामपन्थी तथा देशभक्त शक्तिहरू एकजुट भएर सडक,सदन र आगामी निर्वाचनमार्फत निर्णायक संघर्ष गर्नुपर्ने अवस्था आएको बताए। 'संविधान र गणतन्त्र जोगाउन हामीले हिजो पनि मध्यरातिसम्म संघर्ष गरेका थियौं, आज पनि खतराको घण्टी बजिरहेको छ,' उनले भने। संविधान, गणतन्त्र तथा प्राप्त राजनीतिक उपलब्धिको रक्षाका लागि परिवर्तनकारी शक्तिहरूबीच एकता आवश्यक रहेको उनको भनाइ थियो।
उनले भने, 'मधेसका जनता क्रान्तिकारीका उत्तराधिकारी हुन्। त्यसैले वर्तमान निरंकुशता र सामाजिक अन्यायविरुद्ध फेरि एकपटक एकजुट भएर जाग्नुपर्ने समय आएको छ।'
दुई-तिहाइको घमण्ड देखाउने वर्तमान सरकारले सत्तामा आउनेवित्तिकै सुकुम्बासीमाथि डोजर र बल प्रयोग गरेको तथा तराई-मधेसका साना व्यापारी र किसानहरूमाथि करको भार थपेर अत्याचार सुरु गरेको आरोप प्रचण्डले लगाए। विधि र प्रक्रिया मिचेर रातारात गिरफ्तारी गर्ने र लोकतान्त्रिक अधिकार खोस्ने काम भइरहेको उनको भनाइ थियो।
२०८२ भदौ २३ र २४ को जेनजी विद्रोहको घटनालाई ध्वंसको संज्ञा दिँदै प्रचण्डले अहिले सामाजिक सञ्जालको एल्गोरिदमले जनतालाई प्रभावित गरिरहेको बताए। 'सोसल मिडियाको एल्गोरिदमले जनतालाई अफिमको नशाजस्तै बनाएको छ,' प्रचण्डले भने, 'हामीले गरेका जनपक्षीय काम, पूर्वाधार विकास र सामाजिक न्यायका मुद्दा जनतामाझ सही ढंगले लैजान नसक्दा भ्रम पैदा भएको हो।'
कार्यक्रममा नेकपाका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सामाजिक न्याय र समानतामा आधारित समाजवाद निर्माणका लागि कम्युनिष्ट शक्तिहरूबीच एकता आवश्यक रहेको बताए। उनले आगामी स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीलाई पहिलो बनाउने गरी सक्रिय हुन नेता तथा कार्यकर्तालाई आग्रहपनि गरे।
नेकपा पर्साका संयोजक जयप्रकाश थारूको अध्यक्षतामा भएको उक्त कार्यक्रममा पूर्वमन्त्री एंव प्रतिनिधि सभा सदस्य मातृका यादव, नेकपाका मधेस प्रदेश इन्चार्ज महेन्द्रप्रसाद यादव, नेता रामकुमार भट्टराईलगायतले पनि सम्बोधन गरेका थिए।