— दुबईबाट तेल अभिभतर्फ गइरहेको फ्लाई दुबईको एफजेट१०७३ उडानमा भएको ककपिट झडपबारे संयुक्त अरब इमिरेट्स (युएई) ले अनुसन्धान सुरु गरेको छ । युएईका महान्यायाधिवक्ता डा. हमाद सैफ अल–शम्सीले घटनाको कारण, परिस्थिति र उद्देश्य पत्ता लगाउन विशेष अनुसन्धान टोली गठन गरिएको बताएका छन् ।
युएईको अनुसन्धानले यो घटना कुनै आतंकवादी गतिविधि वा उद्देश्यसँग जोडिएको थियो कि थिएन भन्ने विषय पनि समेट्नेछ। साथै घटना पूर्वयोजना गरिएको थियो वा कसैको निर्देशनमा भएको थियो भन्नेबारे पनि जाँच गरिनेछ। अनुसन्धान पूरा नहुँदासम्म घटनाको उद्देश्यबारे निश्चित निष्कर्ष निकालिएको छैन ।
फ्लाई दुबईले अनुसन्धान पूरा नभएसम्म इजरायल जाने र इजरायलबाट आउने सबै उडानहरु निलम्बन गरिने जनाएको छ ।
बुधबार युएईबाट इजरायलको तेल अभिभतर्फ आइरहेको विमानमा ककपिटभित्रै मुख्य पाइलट (क्याप्टेन) लाई सह–पाइलटले छुरा हानेर घाइते बनाएको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।
उक्त विमान साउदी अरेबियाको ताबुकमा आपत्कालीन अवतरण गराइएको थियो । साउदीले पनि घटनाबारे अनुसन्धान गरिने जनाएको छ ।
यस नाटकीय घटनामा घाइते क्याप्टेन र यात्रुहरूको सुझबुझका कारण दुर्घटना टरेको इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले बताएका छन् ।
‘ककपिटभित्रै सह–पाइलटले छुरा प्रहार गरेर घाइते बनाएपछि रक्ताम्ये अवस्थामा रहेका भारतीय क्याप्टेन स्मित मच्छारले ककपिटको ढोका खोलिदिएका थिए । त्यसपछि यात्रुहरुले ककपिटमै छिरेर ती आक्रमणकारी सह–पाइलटलाई नियन्त्रणमा लिए । घटनाअघि यात्रुहरु बस्ने सिटमा बसिरहेका अन्य पाइलटहरुले साउदी अरेबियामा विमान अवतरण गराए ,’ नेतान्याहूका प्रवक्ता डोरोन स्पाईलम्यानले घटनाबारे भने, ‘कप्तान मच्छारको रगत बगिरहेको थियो । उनी ककपिटको भुँइमै लडेका थिए । त्यहीबाट उनले अन्तिम ऊर्जा लगाएर ककपिटको ढोका खोले ।’
यस घटनापछि विमानलाई साउदी अरेबियाको तबुकमा आपत्कालीन अवतरण गरिएको थियो ।
बिहीबार साउदीबाट तेल अभिभ फर्किएका यात्रुहरुलाई इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले भव्य स्वागत गरे । उनले क्याप्टेन मच्छार र यात्रुहरूको बहादुरीले ठूलो विपद् टरेको बताए ।
फ्लाई दुबई एयरलाइन्सले विमानमा सवार १७४ मध्ये १६६ जना इजरायली नागरिकसहित सबै यात्रुहरू सुरक्षित रहेको जनाएको छ । तर दुई पाइलटबीचको झडपका विषयमा भने केही बोलेको छैन । यस विषयमा अनुसन्धान चलिरहेको एयरलाइन्सले जनाएको छ ।
युएईबाट इजरायलका लागि हिंडेको विमान आकाशमै छँदा अचानक तल खस्न थालेपछि यात्रुहरु छट्पटिएका थिए । नेतान्याहूका प्रवक्ता स्पाईलम्यानका अनुसार त्यही समय मच्छरले ककपिटको ढोका खोलिदिए । फ्लाइटराडर–२४ वेबसाइटका अनुसार एक मिनेटको अन्तरालमा एकैपटक विमान अचानक १७ हजार फिट उचाई तल खस्दै थियो ।
घटनाको प्रत्यक्षदर्शी यात्रु मिरियम शिरा ओहायनले जोर्डनमाथिको आकाशमा छँदा विमान पूर्ण रूपमा नियन्त्रण बाहिर गएको वर्णन गरिन् ।
बेन गुरियन विमानस्थलमा उनकी आमाले समातेको स्पिकर फोनमार्फत पत्रकारहरूसँग कुरा गर्दै उनले भनिन्, ‘सह–पाइलटले पाइलटको हत्या गर्ने र विमानमा आत्मघाती हमला गर्ने प्रयास गरेका थिए । विमान वास्तवमै दुर्घटना हुने स्थितिमा पुगेको थियो ।’
केही यात्रुहरुले कटपीटमै पुगेर सह–पाइलटलाई नियन्त्रणमा लिएको र त्यसपछि विमान साउदी अरेबियामा आपतकालीन अवतरण भएको उनले बताइन् ।
इजरायली अधिकारीहरूले यसलाई ‘आतंकवादी हमलाको प्रयास’ भन्दै निन्दा गरेका छन् । सीबीएस न्युजसँगको अन्तर्वार्तामा प्रधानमन्त्री नेतान्याहूले सह–पाइलटको मानसिक स्वास्थ्यमा समस्या देखिएको संभावनालाई पनि पूर्ण रूपमा नकार्न नसिकिने बताएका छन् ।
प्रधानमन्त्री नेतान्याहूले यस अनुसन्धानको नेतृत्व युएईले गर्ने बताए । तर, इजरायलले पनि यसमा सहयोग गर्ने उनले बताएका छन् । साउदी अरेबियामा सोधपुछ भइरहेका ती आक्रमणकारी सह–पाइलटलाई छिट्टै थप अनुसन्धानका लागि दुबई सारिने अपेक्षा गरिएको नेतान्याहूले सीबीएस न्युजसँग बताएका छन् ।
इजरायलका अति दक्षिणपन्थी राष्ट्रिय सुरक्षा मन्त्री इतामार बेन गभिरले यसलाई ‘जिहादी’ हमला भन्दै निन्दा गरेका छन् । त्यस्तै, रक्षामन्त्री इस्रायल काट्जले पनि यसलाई ‘जिहादी आतंकवादी हमलाको प्रयास’ को रूपमा वर्णन गरेका छन् ।
भारतीय पाइटलको प्रशंसा
भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले भारतीय पाइलट स्मित मच्छरको प्रशंसा गरेका छन् । नेतान्याहूले पाइलट मच्छारको ‘असाधारण बहादुरी’ को प्रशंसा गर्दै उनले ‘मध्य–आकाशको ठूलो दुर्घटना’ रोकेको बताए ।
क्याप्टेन स्मिथ मच्छर गुजराती मुलका हुन् । भारतीय सञ्चारमाध्यमहरुका अनुसार उनले चार वर्षअघि फ्लाई दुबईमा काम थालेका थिए । फ्लाई दुबईमा आबद्ध हुनअघि उनले स्पाईसजेटमा ११ वर्षभन्दा लामो समय सेवा गरे । उनले पाइलटहरुलाई तालिम तथा निर्देशन दिने काम पनि गर्दै आएका थिए ।
फक्स न्युजको अन्तर्वार्तामा नेतान्याहूले ककपिटभित्र छिरेर आक्रमणकारीलाई नियन्त्रणमा लिन यानिभ हायुन नामका एक इजरायली यात्रुले सहयोग गरेको बताए । उनले ती व्यक्ति पेशाले प्लम्बर रहेको खुलाए । ‘उनको, भारतीय पाइलटको, र उनीहरूलाई सहयोग गर्नेहरूको यो एक अचम्मको बहादुरी हो । उनीहरूले एउटा ठूलो विपद् रोके,’ उनले भने ।
साउदी अरेबियास्थित भारतीय दूतावासले पाइलट मच्छारको त्यहाँको एक अस्पतालमा उपचार भइरहेको जनाएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ती पाइलट ‘नायक’ रहेको बताएका छन् । ‘उनको वीरताले सयौंको ज्यान बचाउन मद्दत गर्यो,’ मोदीले भने ।