। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उच्च दक्ष विदेशी कामदारहरूका लागि दिइने नयाँ एच-वान बी भिसामा लगाएको १ लाख डलरको महँगो शुल्कलाई बुधबार अर्का एक सङ्घीय न्यायाधीशले रोक लगाएका छन्।
क्यालिफोर्नियाको ओकल्यान्डस्थित अमेरिकी जिल्ला न्यायाधीश हेउड गिलियमले अमेरिकी नागरिकता तथा अध्यागमन सेवा र विदेश मन्त्रालयले ट्रम्पको यो शुल्क लागू गर्नुअघि आवश्यक नियम-निर्माण प्रक्रियाहरू पालना गर्न नसकेको फैसला सुनाएका हुन्।
तत्कालीन राष्ट्रपति बाराक ओबामाबाट नियुक्त न्यायाधीश गिलियमले अक्टोबरमा दायर गरिएको मुद्दाको अन्तिम फैसला नआएसम्म उक्त शुल्क लागू गर्नबाट सरकारी एजेन्सीहरूलाई रोक्न युनियन, रोजगारदाता र गैरनाफामूलक संस्थाहरूको गठबन्धनले गरेको मागलाई स्वीकृत गरेका हुन्।
यसअघि गत जुन महिनामा बोस्टनका एक सङ्घीय न्यायाधीशले २० वटा राज्यले दायर गरेको अर्को छुट्टै मुद्दामा फैसला सुनाउँदै उक्त शुल्कमाथि अस्थायी रोक लगाएका थिए। बोस्टनस्थित पुनरावेदन अदालतले जुलाईमा उक्त निर्णयलाई बदर गर्न अस्वीकार गरेको थियो।
गत अगस्टमा होमल्यान्ड सेक्युरिटी विभागले करिब १ लाख ३ हजार डलरको स्थायी शुल्क लागू गर्ने प्रक्रिया अघि बढाएको थियो, जसलाई अन्तिम रूप दिएपछि अदालतमा चुनौती दिइने सम्भावना छ।
तर, यसमा ट्रम्पले तोकेको शुल्कविरुद्धको मुद्दाभन्दा फरक कानुनी विषयहरू समावेश हुनेछन्। हालका मुद्दाहरू भने एकतर्फी रूपमा यस्तो शुल्क तोक्न सक्ने राष्ट्रपतिको अधिकारमाथि केन्द्रित छन्।
सुरुमा एक लाख डलरको यो शुल्क सेप्टेम्बर २१ मा सकिने तय भएको थियो, तर रिपब्लिकन राष्ट्रपति ट्रम्पले हालै यसलाई थप एक वर्षका लागि लम्ब्याएका थिए।
यस विषयमा ह्वाइट हाउसले तत्काल कुनै प्रतिक्रिया दिएको छैन।
वादीहरूको प्रतिनिधित्व गर्ने वामपन्थी झुकाव राख्ने कानुनी समूह डेमोक्रेसी फरवार्डले एक विज्ञप्ति जारी गर्दै यस फैसलाको स्वागत गरेको छ। उक्त समूहका वकिल स्टिभ ब्रेसलरले भनेका छन्, ‘आजको निर्णयले… रातारात अस्तव्यस्त बनाइएको प्रणालीलाई सुरक्षित गरेको छ।‘
देशको सबैभन्दा ठूलो व्यापारिक लबिङ समूह युएस चेम्बर अफ कमर्सले पनि यो शुल्कविरुद्ध तेस्रो मुद्दा दायर गरेको छ। ट्रम्पलाई शुल्क तोक्ने अधिकार नभएको भन्ने आफ्नो दाबीलाई खारेज गर्ने एक न्यायाधीशको निर्णयविरुद्ध चेम्बरले पुनरावेदन गरिरहेको छ।
के हो एच-वान बी कार्यक्रम ?
एच-वान बी कार्यक्रमले अमेरिकी रोजगारदाताहरूलाई विशेष क्षेत्रमा तालिम प्राप्त विदेशी कामदारहरूलाई काममा राख्न अनुमति दिन्छ। विशेषगरी प्रविधि कम्पनीहरू एच-वान बी भिसा प्राप्त गर्ने कामदारहरूमा धेरै निर्भर छन्।
यस कार्यक्रमअन्तर्गत वार्षिक ६५,००० भिसा र उच्च शैक्षिक उपाधि हासिल गरेका कामदारहरूका लागि थप २०,००० भिसा ३ देखि ६ वर्षसम्मका लागि स्वीकृत गरिन्छ।
ट्रम्पको यो आदेशले एच-वान बी भिसा प्राप्त गर्ने लागतलाई अत्यधिक बढाएको थियो, जसमा सामान्यतया विभिन्न कारकहरूमा निर्भर हुँदै करिब २,००० देखि ५,००० डलरसम्म मात्र शुल्क लाग्ने गर्थ्यो।
शुल्क लागू गर्ने क्रममा ट्रम्पले सङ्घीय अध्यागमन कानुनअन्तर्गत अमेरिकी हितलाई हानि पुर्याउने निश्चित विदेशी नागरिकहरूको प्रवेशमा रोक लगाउन सक्ने राष्ट्रपतिको अधिकार प्रयोग गरेका थिए। उनले व्यवसायहरूले एच-वान बी कार्यक्रमको दुरुपयोग गरेको र अमेरिकी कामदारहरूलाई हटाएर सस्तो विदेशी श्रम प्रयोग गरेको दाबी गरेका थिए।
यसका अतिरिक्त ट्रम्प प्रशासनले एच-वान बी आवेदकहरूको जाँच प्रक्रियालाई अझ कडा बनाउन आदेश दिएको छ भने उच्च दक्ष र बढी तलब पाउने कामदारहरूलाई प्राथमिकता दिने गरी नयाँ भिसा छनोट प्रक्रियाको प्रस्तावसमेत गरेको छ।