— जापानको राजधानी टोकियोमा लगातार ३४ दिनसम्म वर्षा भएको छ । जापानको मौसम विज्ञान एजेन्सी (जीएमए)का अनुसार १८८६ मा रेकर्ड राख्न सुरु गरिएयता यति लामो अवधिसम्म निरन्तर वर्षा भएको यो पहिलोपटक हो ।
जीएमएका अधिकारी काजुहिरो हिरोनोका अनुसार यसअघि सन् २०१९ को जुन २७ देखि जुलाई २९ सम्म लगातार ३३ दिनसम्म वर्षा भएको थियो । उक्त रेकर्ड यस वर्ष तोडिएको छ ।
वैज्ञानिकहरूका अनुसार जिवाश्म इन्धनको उत्सर्जनबाट उत्पन्न जलवायु परिवर्तनले वायुमण्डलमा आद्रता बढाएको छ । यसले भारी वर्षाको सम्भावनालाई थप तीव्र बनाएको छ ।
त्यस्तै, यस वर्ष विश्वव्यापी रूपमा देखिएको ’एल निनो’ मौसमी ढाँचाले पनि हावाको दिशा, वायुमण्डलको चाप र बादलको ढाँचामा परिवर्तन ल्याउँदा केही क्षेत्रमा अत्यधिक वर्षा र केही क्षेत्रमा सुख्खापन निम्त्याएको छ ।
टोकियोमा सामान्यतया जुन महिनामा वर्षायाम हुने गरे पनि यस वर्ष भने गर्मीका महिनाभर नै लगातार भारी वर्षा भइरहेको छ । यसले गर्दा टोकियो र आसपासका क्षेत्रमा ठूलो बाढी तथा डुबानको समस्या सिर्जना भएको छ ।
ads/1440x233px-ekantipur-27820260835-0692026083347.jpg
जापान मौसम विज्ञान एजेन्सीका अधिकारी मासायुकी क्योटाले ‘एल निनो’ कै आंशिक प्रभावका कारण यस महिना निरन्तर वर्षा भएको बताएकी छिन् ।
उनका अनुसार प्रशान्त महासागरमा उच्च चापीय प्रणाली सामान्यभन्दा बढी समयसम्म टिकिरहेका कारण शरद ऋतुको वर्षात्को प्रणाली पनि लामो समयसम्म स्थिर बनेको छ ।
जिएमएको तथ्यांकअनुसार सेप्टेम्बर महिनाको सोमबारसम्म टोकियोको केन्द्रीय भागमा मात्रै ६२९ मिलिमिटर वर्षा भइसकेको छ, जो सामान्यभन्दा लगभग तीन गुणा बढी हो।
यो परिमाण सन् १९५८ मा रेकर्ड गरिएको ६७०.९ मिलिमिटरको सेप्टेम्बर महिनाकै ऐतिहासिक उच्च रेकर्डको नजिक पुगेको मौसम एजेन्सीले जनाएको छ ।
टोकियोको यो वर्षा एशिया क्षेत्रभर देखिएको मौसमको उथलपुथलको एक हिस्सा मात्र हो । सेप्टेम्बरको मध्यदेखि आएको शक्तिशाली आँधी र त्यसपछिको बाढीका कारण थाइल्याण्डमा मात्रै १७ लाख मानिस प्रभावित भएका छन् भने २३ जनाको ज्यान गइसकेको छ ।