: ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बाढीपहिरोका कारण राष्ट्रिय विद्युत् प्रणालीमा करिब १ हजार मेगावाट उत्पादन अवरुद्ध भएको बताएका छन्।
सोमबार संसद भवन सिंहदरबारमा श्रेष्ठले बाढीपहिरोका कारण जलविद्युत प्रणालीमा ठूलो असर परेको उल्लेख गरे। प्रसारण, वितरण तथा उत्पादन संरचनामा क्षति पुग्दा राष्ट्रिय विद्युत प्रणालीमा १ हजार मेगावाट उत्पादन अवरुद्ध भएको जानकारी दिए।
हालैको बर्षाका कारण कालीगण्डकी कोरिडोर प्रसारण लाइन अवरुद्ध हुँदा १३ आयोजनाका करिब ३७० मेगावाट उत्पादन प्रभावित भएको उनको भनाइ छ। उनले विद्युत उत्पादनसंगै प्रसारण पूर्वाधार नहुँदा विद्युत प्रवाह गर्न समस्या देखिएको उल्लेख गरे।
हेटौंडा–ढल्केबर प्रसारण लाइन चार्ज भएपछि पूर्वको विद्युत पश्चिम र पश्चिमको विद्युत पूर्व लैजान सहज हुने र यसले पूर्व–पश्चिम जोड्ने समस्या समाधान गर्ने उनले बताए। मन्त्री श्रेष्ठले प्रणाली व्यवस्थापनका लागि आन्तरिक उत्पादनलाई प्राथमिकता दिँदै अपुग विद्युत भारतबाट आयात गरी व्यवस्थापन भइरहेको समेत बताए।