— मनाङको हिमलुङ हिमालमा हिमपहिरोपछि सम्पर्कविहीन भएका १४ नेपाली उच्च हिमाली कामदार तथा गाइडको खोजी तथा उद्धारका लागि सोमबार १४ जनाको टोली परिचालन गरिएको छ ।
यसैबीच हिमपहिरोमा मृत्यु भएका दुई जनाको शव चामे अस्पतालबाट हेलिकप्टरमार्फत काठमाडौंस्थित त्रिभुवन विमानस्थलहुँदै शिक्षण अस्पतालमा ल्याइँदै छ ।
इमाजिन नेपाल ट्रेक एन्ड एक्सपिडिसनका सञ्चालक तथा अन्तर्राष्ट्रिय गाइड मिङ्मा जी शेर्पाको नेतृत्वमा १४ जना उच्च हिमाली कामदार तथा गाइड आइतबारदेखि हराइरहेका १४ जनाको खोजी अभियानमा खटिएका हुन् ।
खोजी टोली काठमाडौंँबाट हेलिकप्टरमार्फत आइतबार दिउँसो हिमलुङ आधारशिविरतर्फ गएको थियो ।
प्रभु हेलिकप्टरका वरिष्ठ क्याप्टेन पासाङ नोर्बु शेर्पाका अनुसार कैलाश हेलिकप्टरले दुई जनाको शव चामे अस्पतालबाट अहिले बिहान काठमाडौं ल्याउँदै छ ।
‘आज बिहान उद्धार टोलीलाई हिमलुङ आधारशिविरमा पुर्याएका छौं,’ क्याप्टेन शेर्पाले भने । उनका अनुसार हेलिकप्टरले उद्धार टोलीलाई आधारशिविरमा पुर्याएपछि खोजी तथा उद्धार अभियान अघि बढाइएको हो । आइतबार काठमाडौंँबाट गएका उनी राति मनाङको चामेमा बसेका थिए ।
उद्धार टोलीका केही सदस्य भने आइतबार साँझ आधारशिविरबाट फर्केर मनाङको फु गाउँमा बसेका थिए ।
हिमलुङमा आगामी शरद् ऋतुको आरोहण अभियानको तयारीका लागि हिमालयन होलिडेज र इमाजिन नेपाल ट्रेक एन्ड एक्सपिडिसनका २ दर्जनभन्दा बढी नेपाली उच्च हिमाली कामदार तथा गाइड करिब दुई साताअघि काठमाडौंँबाट त्यसतर्फ गएका थिए । उनीहरू आरोहण मार्ग तथा आधारशिविरको तयारीमा खटिएका थिए ।
हिमपहिरोपछि उनीहरू आइतबार बिहानदेखि सम्पर्कविहीन भएको जानकारी आएपछि खोजी तथा उद्धारका लागि टोली परिचालन गरिएको हो । हिमलुङ क्षेत्रमा हिमपहिरो गएपछि उनीहरूको अवस्थाबारे जानकारी लिन तथा सम्भावित स्थानमा खोजी गर्न उच्च हिमाली क्षेत्रमा काम गर्ने गाइडसहितको टोली पठाइएको हो ।
हाल १४ जनाको टोलीले हिमलुङ आधारशिविरबाट खोजी अभियान अघि बढाइरहेको छ । मौसम तथा हिमाली अवस्थाका कारण उद्धार तथा खोजी अभियान चुनौतीपूर्ण रहेको जनाइएको छ ।