— अर्थमन्त्री स्वर्णिम वाग्लेले हालैको विपद्बाट भएको क्षतिपछि राहत र पुनर्निर्माणका लागि एसियन इन्फ्रास्ट्रक्चर इन्भेस्टमेन्ट बैंक (एआईआईबी)सँग सहयोग मागेका छन् ।
आइतबार दोहामा एआईआईबीका अध्यक्ष जोउ जियायीसँगको भेटमा वाग्लेले यस्तो आग्रह गरेका हुन् । भेटमा जोउले विपद्का कारण नेपालमा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै नेपाल र नेपाली जनतालाई सहयोग गर्न एआईआईबी तयार रहेको बताएका थिए ।
नेपाललाई निरन्तर सहयोग गर्दै आएकोमा वाग्लेले एआईआईबीलाई धन्यवाद दिँदै राहत तथा पुनर्निर्माणमा सहयोग गर्न आग्रह गरेको नेपाली दूतावास, दोहाले जनाएको छ ।
वाग्लेको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल एआईआईबीको बोर्ड अफ गभर्नर्सको वार्षिक बैठकमा सहभागी हुँदैछ । दोहामा सोमबार र मंगलबार हुने बैठकको मुख्य विषय ‘टुमोरो’ज इन्फ्रास्ट्रक्चर : इम्प्याक्ट एन्ड इनोभेसन’ रहेको छ ।
वार्षिक बैठकमा सहभागी हुन वाग्ले आइतबार दोहा पुगेका हुन् । उनले आइतबार साँझ एआईआईबी अध्यक्षले विभिन्न देशका प्रतिनिधिमण्डल प्रमुखका लागि आयोजना गरेको स्वागत समारोहमा पनि सहभागिता जनाए ।
नेपाली प्रतिनिधिमण्डलमा अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सम्बन्ध महाशाखाका प्रमुख सहसचिव अमृत लाम्साल, मन्त्रालयका उपसचिव उपेन पाण्डे र दोहास्थित नेपाली दूतावासका कार्यवाहक राजदूत कुमार राई छन् ।