: नेपालले पुनस्र्थापना र पुनर्निर्माणका लागि अनुदानमा आधारित अन्तर्राष्ट्रिय सहयोगमा जोड दिएको छ। संयुक्त राष्ट्रसंघको महासभाबाट प्रधानमन्त्री वालेन्द्र शाह स्वदेश फर्किपछि परराष्ट्र मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलन गर्दै 'लस एन्ड ड्यामेज फण्ड' सहितका वित्तीय संयन्त्रबाट स्रोत परिचालन सहज बनाउन माग गरिएको जनाएको हो।
पत्रकार सम्मेलनमा मन्त्रालयका निमित्त सचिव गणेश प्रसाद ढकालले हालै भोटेकोशीमा आएको विनाशकारी बाढीलाई जलवायु संकटको गम्भीर प्रभाव र विश्वका लागि चेतावनीको रूपमा प्रस्तुत गर्दै विपद्बाट भएको ठूलो जनधन, भौतिक पूर्वाधार र जनजीविकाको क्षतिबारे विश्व समुदायको ध्यानाकर्षण गराइएको बताए।
जलवायु परिवर्तनलाई भू–राजनीतिक द्वन्द्वको विषय नबनाई ’साझा तर फरक जिम्मेवारी’का आधारमा समाधान खोज्न र बढी उत्सर्जन गर्ने तथा स्रोत–साधन सम्पन्न मुलुकहरूले थप जिम्मेवारी बहन गर्नुपर्नेमा जोड दिइएको समेत उनको भनाइ छ।
त्यस्तै महासभामा सहभागी हुने क्रममा प्रधानमन्त्री शाहले संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेस र अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजसँग भेटवार्ता गरेको निमित्त सचिव ढकालले जानकारी दिए।