: २० औं एसियन गेम्स २०२६ को पुरुष क्रिकेट तर्फ समूह ‘ए’ को खेलमा नेपालले अफगानिस्तानलाई हराएको छ। नेपालले अफगानिस्तानविरुद्ध ५ विकेटको जित दर्ता गरेको हो।
जापानको कोरोगी स्पोट्र्स पार्कमा टस जितेर ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १०२ रन बनाएको थियो। अफगानिस्तानले दिएको १०३ रनको विजयी लक्ष्य पछ्याएको नेपालले १७.२ ओभरमा ५ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको हो।
नेपालको लागि सन्दीप जोराले सर्वाधिक ३४ रन बनाए। उनले ३५ बलमा ३ चौका र १ छक्का प्रहार गरे। कुशल मल्लले ९ रन बनाउँदा कप्तान दिपेन्द्र सिंह ऐरीले १५ रन बनाए। उनले पाँचौं विकेटको लागि रोहित कुमार पौडेलसँग ४६ रनको साझेदारी बनाउँदै नेपाललाई सहज जित तर्फ अगाडी बढाएका हुन्। रोहित ३३ रनमा अविजित रहे। गुल्सन झा १ रनमा अविजित रहे।
अफगानिस्तानको लागि फरिदोन दाओदजाई, अब्दुल्लाह अहमजदाई र अरब गुलले १–१ विकेट लिए।
त्यसअघि, ब्यािटङ गरेको अफगानिस्तानको लागि फेजल खान अहमदजाईले सर्वाधिक ३० रन बनाए। उनले ३३ बलमा २ चौका र१ छक्का प्रहार गरे। नाजिबुल्लाह जद्रानले समान ३० रन बनाए। उनले ४० बलमा २ चौका प्रहार गरेका हुन्। नाङ्गेलिया खान १७ रनमा अविजित रहे। अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्। नेपालको लागि कुशल भुर्तेलले सर्वाधिक ४ विकेट लिए। ललित राजवंशीले ३ विकेट लिए।
नेपालको जारी प्रतियोगितामा यो पहिलो खेल हो भने अफगानिस्तानको यो दोस्रो खेल हो। पहिलो खेलमा अफगानिस्तानले आयोजक जापानलाई पराजित गरेको थियो। नेपालले समूह चरणको दोस्रो खेल जापानसँग खेल्नेछ। क्वाटरफाइनलमा नेपालले भारत र श्रीलंका मध्ये एकसँग खेल्नेछ।